November 07, 2009

संभावित ब्लगरहरुसंग


केहि दिन पहिला झापाका ओजोन सन्दीप भाइको मेल पाएँ। भाइ ब्लग-जगतमा प्रवेश गर्न उत्सुक र आतुर रहेछन् र सल्लाह/सुझावको लागि मलाई मेल गरेका रहेछन्। यसरी उत्सुक मान्छेहरुको मेल पाउनुले मलाई एकदमै खुशी बनाऊँछ। आफूसंगको जानकारी र अनुभव बाँड्न पाऊँदाको आनन्द र आत्मसन्तुष्टि बेग्लै हुन्छ। ब्लग-जगतमा पनि एकापसमा सिक्ने-सिकाउने कृया निरन्तर चलिरहेको हुन्छ, यथार्थमा ब्लग-जगतलाई जीवन्त बनाउने एउटा प्रमुख पक्ष हो यो।

सन्दीप भाइसंगको सम्पर्कले अर्को खुशीपनि थप्यो मेरो मनमा। आफूभन्दा २० वर्ष कान्छो नेपाली पुस्ताको सोचाई र आकांक्षाका बारेमा अलि-अलि जान्ने मौका मिल्यो। हुनत एउटा ब्यक्तिलाई हेरेर समग्र समूहको समग्र मूल्यांकन गर्न सकिँदैन तर सीमितनै भएपनि जान्न पाउनु राम्रै अवसर हो।

हामी बीच सात-आठ ईमेलहरु आदानप्रदान भए। सन्दीप भाइको जिज्ञासामा ब्लगमा के विषयमा कसरी लेख्दा राम्रो हुन्छ, डोमेन नेम किन लिने, कसरी लिने देखि 'ब्लग लेखेर कत्तिको शत्रु कमाउनुभएको छ?' भन्नेसम्मका जिज्ञासा थिए। 'शत्रु' वाला प्रसंग बाहेक अरु विषयमा सन्दीप भाइसंग भएका कुराकानीलाई संक्षेपमा लेख्न चाहन्छु आज। यो टाँसो मूलत: सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरहरुलाई लक्षित गरेर लेखिएको हो। नियमित ब्लग गरिरहेका साथीहरुलाई निरस लाग्न सक्छ, फेरि अरु ब्लगर साथीहरुले पनि यहि विषयमा लेखिसक्नुभएको छ। त्यसका लागि क्षमा चाहन्छु। नेपाली ब्लग-जगतमा सदस्यहरु बढाउनका लागि बेला-बखत यस्ता टाँसोहरु लेखिनु जरुरी छ भन्ने मेरो मान्यता हो।

सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरलाई मेरो सल्लाह हो यो।

१)ब्लग किन गर्ने? ब्लगमा के पस्किने?
ब्लग शुरु गर्नुभन्दा पहिले आफू किन ब्लग गर्न लाग्दैछु भन्ने कुरामा यथेष्ट चिन्तन हुनु जरुरी छ। लहडमा वा अरुले ब्लग गरेको देखेर शुरु भएका ब्लगहरु त्यति लामो समय टिक्दैनन्। यात्रा कि थाल्दै-नथाल्नु, थालिसकेपछि निरन्तरता दिनुनै राम्रो हो। त्यसकारण ब्लगको एउटा उद्देश्य, एउटा मिसन हुनैपर्छ। आफ्नैलागि मात्र लेख्ने हो भने बेग्लै कुरो।

ब्लग शुरु गरिसकेपछि निरन्तरता दिन गाह्रो छ। केहि टाँसोसम्म बास्तवमा त्यति आत्मविश्वाश पनि आऊँदैन। त्यसैले आफूले कुन विषयलाई ब्लगको प्रमुख स्रोत बनाउने हो भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। ब्लग धेरै विषयमा लेखिने संकलनजस्तो पनि हुनसक्छ अथवा कुनै एउटा निश्चित विषयवस्तुमा मात्रै केन्द्रित पनि हुनसक्छ। जसरी जाँदा निरन्तर हुन सकिन्छ, त्यहि बाटो रोज्नुपर्छ। आफूले लक्ष गर्न चाहेका पाठकहरुको रुचि कस्तो हुनसक्छ भन्ने विषयमा पनि चिन्तन आवश्यक छ।

समसामयिक घटनामाथिको टिप्पणी, आफ्नो रुचिका कुरा-साहित्य, संगीत, यात्रा आदिको चर्चा, प्राविधिक विषय, साहित्य, बालसाहित्य, फोटोग्राफी, अडियो ब्लग, भिडियो ब्लग, पारिवारिक अनुभव, पाक-कला, ---विषय अनगिन्ती छन्। नेपाली ब्लग जगत एक हिसाबले 'साहित्य रोग'ले ग्रसित छ र यसमा अझै चाहिँदो विवधता आउन सकेको छैन।

२) ब्लगको भाषा
नेपाली, अंग्रेजी वा जुन भाषामा लेखेपनि पाठक सजिलै भेटिन्छन, मुख्य कुरा ब्लगको विषयवस्तुको स्तरीयताको हो। एउटै ब्लगमा कहिले नेपाली, कहिले अंग्रेजी नगर्ने सल्लाह दिन्छु म। यसले पाठकहरुलाई झिँजो लगाएको अनुभव छ मेरो (मेरो नितान्त ब्यक्तिगत अनुभव हो यो, अरु ब्लगर साथीहरुको अनुभव फरक हुनसक्छ)। दुबैमा लेख्ने मन छ भने बरु दुईटा ब्लग बनाए हुन्छ।

३) ब्लगर, वर्डप्रेस वा अरु
सबैमा आ-आफ्ना सबल र निर्बल पक्ष छन्। जुनबाट शुरु गरेपनि हुन्छ।

४)निरन्तरता
ब्लगको नाममा समाचार पस्किने ब्लगहरु बाहेक अरु ब्लगहरु, त्यसमा पनि ब्यक्तिगत रुपले चलाईएका ब्लगहरु, दैनिक अपडेट गर्न गाह्रो हुन्छ। दिनदिनै पस्किन सक्नेगरी खुराक जम्मा पार्न सकिन्छ भने धेरै राम्रो। ब्लगका दुई टाँसोहरुको बीचको अन्तराल सकेसम्म सधैं उत्तिकै राख्नु राम्रो हुन्छ। कहिले दिनदिनै नयाँ टाँसो राख्ने, कहिले भने १५-२० दिन हराउने गर्नुभन्दा हप्ताको एउटा टाँसो राख्ने तर नियमित रुपमा राख्ने गर्नु आवश्यक छ। त्यतिले पनि भ्याईन्न भने दुई हप्ता वा तीन हप्ताको अन्तराल पनि बनाउन सकिन्छ।

आफूसंग उपलब्ध समय र ब्लगको विषय हेरेर अन्तराल तय गरेपछि ब्लगको मूलमन्त्र "निरन्तरता, निरन्तरता र निरन्तरता"नै हो। ब्लगको स्तरीयताका लागि धेरै काम गर्नुपर्छ तर निरन्तरतामात्रैले पनि धेरै सपार्छ ब्लगलाई।

५)ब्लगको प्रचार-प्रसार
- 'प्रचार-प्रसार' ले राजनीतिक गन्ध दिनसक्छ तर मेरो ध्येय त्यो होईन। एउटा नियमित ब्लगरले आफ्नो ब्लगको सकेसम्म धेरै प्रचार गरेको राम्रो। पूराना पाठकलाई अड्याईराख्न पस्किने सामग्री स्तरीय हुनु त अनिवार्य छँदैछ, नयाँ पाठकहरु थप्न प्रचार-प्रसार जरुरी छ। झन् नयाँ ब्लगरले त युद्ध स्तरमा प्रचार-प्रसार गरेको राम्रो। आफ्नो मेलिङ्ग लिष्टमा भएका सबैलाई कम्तिमा एकचोटि "मैले ब्लग शुरु गरेको छु, फुर्सद हुँदा पढेर प्रतिकृया दिनुहोला" भनेर ब्लगको ठेगाना सहित मेल गर्ने, फेसबुक वा आफू संलग्न कुनैपनि  सामजिक संजालमा उपलब्ध सबै तरिका प्रयोग गर्ने, चिनजानका मान्छेसंग टेलिफोनमा कुराकानी हुँदा वा भेटमै पनि आफ्नो ब्लगको कुरा गर्ने-----कुनैपनि तरिका अपनाए हुन्छ। नितान्त नीजि मनोवाद बाहेक कुनै पनि विषयमा लेख्नु भनेको आफूबाहेक अरुले पनि पढुन् भनेरनै हो। हो, मान्छेलाई झर्को लाग्ने सीमासम्म  भने पुग्नु हुँदैन, त्यसमा सचेत हुनै पर्छ। 

- ब्लग लिष्टहरु ब्लगको प्रचार-प्रसारको अर्का महत्वपूर्ण माध्यम हुन्। Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। ईण्टरनेटमा अरु सैयौं ब्लग लिष्टहरु, डाईरेक्ट्रीहरु छन् जहाँ आफ्नो ब्लग सूचिकृत गर्न सकिन्छ।

नेपाली ब्लगरहरुको एकापसी सम्पर्कलाई संगठित रुप दिनका लागि Nepali Bloggers भन्ने गुगल-ग्रुप पनि सकृय छ।

- ब्लगलाई परिचित र लोकप्रिय बनाउने अर्को महत्वपूर्ण माध्यम ब्लग आफैं हो, त्यसभित्रको अन्तर्कृया हो। अरुको ब्लग 'फलो' गर्ने, अरुको ब्लग पढेर प्रतिकृया दिने र लिंकहरु आदानप्रदान गर्ने काम साह्रै महत्वपूर्ण हुन्छ ब्लगलाई अगाडि बढाउन। अरुले आफ्नो ब्लग पढिदिउन् भन्ने चाहनेले आफूले पनि अरुको ब्लग पढ्नुपर्छ।

६)टेम्प्लेट
एउटा राम्रो टेम्प्लेटले निश्चयपनि ब्लगको सौन्दर्य बढाऊँछ तर टेम्प्लेटको झिलिमिलीका भरमै पाठकहरु बटुल्न र बाँधेर राख्न सकिन्न। ब्लगले पस्किने विषयवस्तुको स्तरीयतानै ब्लगको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो, टेम्प्लेटको साज-सज्जा त्यसपछिको कुरा हो।

बनिबनाऊ टेम्पलेटहरु पनि जतिपनि भेटिन्छन्, रुचि छ भने कुनै आधारभूत टेम्प्लेटबाट शुरु गरेर आफैं सिक्दै-त्यसलाई परिमार्जन गर्दै गएपनि हुन्छ।

७) डोमेन नेम
आफ्नै डोमेन नेममा ब्लग चलाऊँदा निश्चय पनि आनन्द आऊँछ। सबैभन्दा सजिलो बाटो भनेको Yahoo! Small Business वा Google बाट डोमेन नेम किनेर Blogger को Custom Domain Publishing सुविधा प्रयोग  गर्नु हो (Wordpress मा पनि यस्तै सुविधा छ होला पक्का पनि।)
-------------------------------------------------------

"हजारौं माईलको यात्रा एक पाईलोबाट शुरु हुन्छ।" भनेजस्तै शुरुवात आफैं महत्वपूर्ण कुरा हो, र निरन्तरता दिएका खण्डमा सिक्दै र सप्रिईँदै जानेमा कुनै शंका छैन।

आफ्नो ब्लग अनुभवका बारेमा अरु टाँसोहरुमा पनि केहि कुरा गरेको छु;
संगठन कि ई-मेल समूह
'कतै नजाने बाटो'को मेरो यात्रा
नेपाली ब्लगको वर्तमान र भविष्य
दोश्रो खोला तरेपछि
केहि कुरा, ब्लगकै
Some points from my-----
जन्मदिन

यस विषयमा दिलिपजीले "के तपाईँ पनि ब्लग चलाउन चाहनुहुन्छ?" भन्ने शिर्षकमा एउटा बिस्तृत टाँसो लेख्नुभएको छ र अरु सहयात्री ब्लगर साथीहरुले पनि धेरै कुरा लेख्नुभएको छ बेला-बेलामा। यहाँ प्राप्त हुने प्रतिकृयाहरुमा पनि अरु नयाँ जानकारी आउनेनै छ।
----------------------------------------------
सन्दीप भाइको ब्लग वर्षात बीचको सूर्योदय को सफलताको शुभकामना!

र अन्त्यमा, नेपाली ब्लग जगतमा नयाँ पुस्ताको उपस्थिति अझ सशक्त हुँदै जानेछ भन्ने आशा र शुभकामनाका साथ यो टाँसोको बिट मार्न चाहन्छु

तपाईँको सप्ताहान्त सुखद् रहोस्।

20 comments:

Prabesh said...

पक्कै पनि ब्लगिङ क्षेत्रमा नयाँ आउनेलाई धेरै सिक्न मन लागेको पनि हुन्छ । अरूको ब्लग हेर्यो झिलिमिलि हुन्छ आफ्नो भने default template मा चलाउनुपर्दा त्यति खुसी हुइँदैन । फेरि डोमेनको नाम सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसमा प्रयोग भएको स्पेलिङले धेरै असर पार्छ । सन्दिपजीको ब्लगको स्पेलिङ अलि लामो र झु्क्किने खालको रहेछ । मैले पनि पहिला guffgaaf.blogspot.com राख्दा गफगाफको स्पेलिङमा धेरै जना झुक्किनुभएको थियो । अरू कुरा त वसन्त दाइले भनेजस्तो गर्दा एउटा स्तरीय ब्लगको विकास नहुने कुरै छैन !!!

Ozone Sandip said...

सवै आगन्तुकहरुमा म ओजोन सन्दिप निरौला यो जानकारी गराउँछुकि मेरो ब्लग पहिला भएको तर यसले केहिँ प्रविधिक कठिनाई भोग्नु परेकाले यसको नामको ओज र अर्थ साविककै रहने गरि http://sajhakura.blogspot.com राखेको छु । यहाँहरुको कठिनता प्रति म क्षमाप्रार्थी छु । साथै वसन्त दाइ म आत्म आलोचित भएको छु ।

सन्दिप ओजोन निरौला,
http://sajhakura.blogspot.com

Dhruba Panthi said...

जानकारीमूलक टाँसो पस्किनुभएकोमा वसन्त सरलाई धेरै-धेरै धन्यवाद। ब्लगीङमा नयाँ भएकोले मैले पनि यसबाट धेरै कुरा सिक्ने अवसर पाएँ।

talkingforum said...

I should consider myself little older in blogging world as I am blogging for more than three years. But, have not been so successful to give continuity to my blogs. Basanta Sir has rightly pointed out that continuity is a great thing required for blog to make it hugely popular in addition to contents. Thank U Basanta ji for presenting helpful tips to newcomers.

nrdhakal said...

Really great, very useful...Thank you very much!

Aakar said...

एकदमै उपयोगी पोस्ट रहेछ । अब कसैले सोधे भने तपाई को ब्लग देखाइदिनु पर्ने भो ! यति सरल रुप मा लेखेर बुझाउनु भएको मा धन्यवाद !

Dilip Acharya said...

मैले हेर्दा, नयाँलाई मात्रै हैन, पुराना ब्लगरलाई पनि धेरै कुरा मननीय छन यो पोष्टमा । हुन त सबै कुरा माथी 'क्लियर' छन, तर पनि अनुमतिका साथ मेरो करिव ३ बर्षे अनुभवका केही कुरा थपघट गर्न मन लाग्यो :

* ब्लगमा कहिलेकाही कुनै विशेष परिस्थीति वा क्रममा अरुका लेख, रचना वा समाचार आदिको उद्दरण गरीने भए पनि, व्यक्तिगत रुपमा चलाईने ब्लगमा सधैं कुनै पत्रिकाको समाचार, प्रतिष्ठीत लेखकको रचना वा अन्य यस्तै 'कपि-पेष्ट' मात्रै गर्ने हिसाबले ब्लग सुरु नगर्नु राम्रो हुन्छ ।

* माथी पोष्टमा उल्लेख भएको जस्तै, ब्लगमा साहित्य पनि अटन सके पनि ब्लग साहित्य मात्रै हैन । त्यसैले साहित्य लेख्न नजान्दैमा बल्ग सुरु गर्न हच्किनु पर्ने भने पक्कै हैन । जीवनका विविध भोगाईहरु र समष्टिमा आफूले जानेको वा बुझेको कुरा वा कुनै पनि बिचारलाई ब्लगमा टाँस्न सकिन्छ, यसको दायरा हरेक मानिसको सोच संगै झन झन फराकिलो हुँदै जानेछ ।

* झिलिमिलीको बारेमा भने सामाजिक संजाल र सहयात्राका केही ग्याजेट बाहेक अन्य धेरै कुराहरु थप्दै जाँदा 'पेज लोड' ढिला हुने, विभिन्न स्क्रिप्टका समस्या देखिने र कहिलेकाही ब्लग नै कुरुप पनि हुने हुँदा, मेरो बिचारमा ब्लगलाई 'ग्याजेट डिस्प्ले पेज' हैन 'ट्यालेण्ट डिस्प्ले पेज' को रुपमा विकसित गर्न हामी सबै लाग्नु पर्छ जस्तो लाग्छ ।

ब्लगमा राखिएका विभिन्न अनुप्रयोग वा फरक फरक सूचना वा उपयोगिताका ग्याजेट मात्रै प्रयोग गर्न भनेर सायदै कोही भिजिटर कसैको ब्लगमा प्रवेश गर्लान, त्यसैले मेरो व्यक्तिगत बिचारमा ब्लग चलाउने हामी सबैले मूल रुपमा तलका तिन शब्दलाई ध्यान दिनु पर्छ जस्तो लाग्छ:
निरन्तरता, सरलता र विविधता

एकदमै सार्थक पोष्टका लागि धन्यवाद ।

raj said...

hindi se milti julti kon si bhasha hai....bahut koshish karne pe kuch kuch samjh aayaa.....

N K M said...

A nice thing about having such nepali bloggers group/list is the fact that everyone (new or old) have equal say. Providing nice exposure to the new ones. Having an organization for Nepali Blogger is to say that certain members are more bloggers than some others. ;)

Once the visitor comes to your blog, it is up to you to keep the visitor coming or the other way.

The Blogs listed on Hamro-circle can now be subscribed via Email. It just provides a first line of updated posts in Email, everyday, and keeps one updated.

राजेश बुढाथोकी 'नताम्स' said...

बसन्त दाई, एकदमै बहुमुल्य पोष्ट । नयाँ ब्लगरहरुलाई मात्र हैन पुरानो ब्लगरहरुलाई पनि जगाउने रहेछ पोष्टले । मेरो एकवर्ष हुन लागेको अनुभवमा यो पोष्टमा टाँसिएका कुराहरुको मनन गरेको थिइन । ब्लगलाई जसोतसो निरन्तरता दिएकै छु । अझ बिभिन्न कुराहरुमा चुकेको अनुभव मैले गरेको छु । समयअनुसार आफुलाई परिष्कृत गरेर लैजाने छु ।

मलाई ब्लगमा सबैभन्दा चित्त नबुझ्ने कुरा हो ‘टेम्पलेट’ । मैले पटक–पटक टेम्पलेट फेरेको छु । जुन टेम्पलेट हाल्दा पनि चित्त बुझ्दैन । एउटा न एउटा समस्या आएर मनले खाँदैन । मेरो अनुभवमा टेम्पलेट चेन्स गरेर बसिरहनु भन्दा त्यो समय केही महत्वपूर्ण पोष्ट लेख्नका लागि छुट्याउनु राम्रो ।

सम्दीप जीलाई ‘ब्लगर समुदाय’मा स्वागत छ । पूर्वेली नै हुनुहुदो रहेछ । समयको अन्तरालमा एकदिन अवश्य भेट हुनेछ होला । ब्लग निरन्तरताको शुभकामना छ ।

Sujan Sharma said...

यो सन्दर्भ सामाग्री पुरानालाई त छँदै छ हामी जस्तो भर्खर ब्लगमा बामे सर्नेहरुको लागी त झनै उपयोगी हुन्छ ।
जहाँ सम्म ब्लग लेख्ने कुरा हो,यो एक अर्काको विचार आदानप्रदान गर्ने एकदम गतिलो माध्यम बनेको छ ।मनमा जे छ सबै कुरा लेख्न सकिन्छ ।चाहे लेख होस वा मन परेर खिचीएका तस्बिर।जति नयाँ बिषय , नयाँ शैलीमा भयो त्यति पढौ पढौ लाग्ने।

उपयोगी टाँसोको लागि धन्यबाद!!

आश्मा said...

:)
धन्यवाद बसन्तदाइ!!

Rajey Sha said...

पहली बार नेपाली भाषा में ब्‍लग देखा, बधाई हो।

Prajwol said...

उपयोगी लेखको लागि धन्यवाद बसन्त जि ।

मैले यो टांसोबाट सिकेको सबै महत्वपूर्ण कुरा भने निरन्तरता हो । हुन त महिनमा average मा लेख उति नै हुन गए पनि कहिले एक हप्तामा तीन अनी बांकी तीन हप्तामा १ लेख हुन जान्छ, त कहिले हरेक हप्ता एक । अब भने schedule option को प्रयोग गरेर अलि uniform रुपमा पब्लिश गर्ने जमर्को गर्छु ।

अंग्रेजीमा लेख्न सजिलो लाग्छ, नेपालीमा लेख्न मजा आउंछ; त्यसैले म भने दुइटैलाई संगै अघी बढाउन कोशीस गर्छु :D

DEEPENDRA said...

I found this post really informative. Besides, Dilip ji has added a couple of interesting perspective on blogging. In my personal opinion, using one language would be better.

Basanta said...

प्रवेश भाइ, थप सल्लाहको लागि धन्यबाद!

ओजोन भाइ, आत्तिनुपर्ने कुरो केहि छैन। समूहमा पसेपछि प्रवेश भाइबाट जस्तै गरी सल्लाह र सुझावहरु पाईन्छ र तिनका भरमा आफूलाई माझ्दै लान सकिन्छ।

पन्थीजी, धन्यबाद! तपाईँका अनुभवहरु पनि बेला-बखत पढ्दै जान पाईने आशा छ।

धन्यबाद talkingforumजी!

धन्यबाद nrdhakalजी!

धन्यबाद आकार भाइ! भाइको अनुभव र जानकारी पनि बेला-बेला पढ्न पाईएला भन्ने आशा छ।

थप जानकारीका लागि धन्यबाद दिलिप दाइ! ब्लगको प्राविधिक पक्षका बारेमा दाइको जानकारी अझ बिस्तृत छ र दाइको ब्लगबाट हामीले पनि सिक्न पाएका छौं।
यो ग्याजेटका बारेमा दाइको धारणा एकदम ठिक लाग्यो। ग्याजेट धेरै राख्ने कुरा नेपाली ब्लग-जगतको रोगको रुपमा विकास भईसकेको छ; विशेष गरी ब्लगरमा संचालित ब्लगहरुमा। हुनत नेपाली बाहेक मेरो अनुभव हिन्दी, अंग्रेजी र थोरै जापानी ब्लगमा सीमित छ; तर मेरो बुझाई के छ भने प्राय: ब्लगहरुमा ग्याजेटहरु एकदमै कम हुन्छन्। हुन पनि हो, कोहि बिबिसी सुन्न वा world clock हेर्न हाम्रो ब्लगमा आऊँदैनन्, ती हाम्रै लेख पढ्न वा हामीले खिचेका फोटो हेर्न आउनेहुन्। म पनि ग्याजेटहरु अझ घटाउने सूरमा छु।

rajजी, यो नेपाली ब्लग हो। हार्दिक धन्यबाद छ।

नवीनजी, थप जानकारीसहितको प्रतिकृयाका लागि धन्यबाद!

धन्यबाद राजेश भाइ! अब भाइका अनुभव पनि पढ्न पाउने आशा छ।

धन्यबाद सुजनजी!

धन्यबाद आश्मा!

धन्यबाद Rajey Shaजी!

धन्यबाद प्रज्वलजी!

धन्यबाद दिपेन्द्रजी!

Anonymous said...

बिज्ञान र प्रविधि मा नेपाली भाषामा लेखिएका कुनै ब्लग छन् कि?

Basanta said...

धन्यबाद Anonymousज्यू!
कम्प्युटरसंग सम्बन्धित कुराकानीमा समर्पित "कम्प्युटर नेपालीमा" http://computernepalima.blogspot.com/) छ। त्यसबाहेक पूर्ण रुपमा विज्ञान र प्रविधिमा समर्पित नेपाली ब्लग देखेको छैन मैले। अथवा भएर पनि त्यति प्रचारित नभएको हुनसक्छ। अंग्रेजी र नेपाली दुबै भाषामा र प्रविधिका बारेमा लेखिने ब्लग एउटा Science to Society (http://giri25.blogspot.com/) हो। यो ब्लग चलाउने साथीकै अंग्रेजी भाषाको अर्को ब्लग छ NepaChem (http://nepachem.blogspot.com/), तर त्यो अलिक specialized छ, सम्बन्धित क्षेत्रका विज्ञ बाहेक अरुले नबुझ्ने हुनसक्छ कतिपय लेखहरु। अर्का नेपाली ब्लगरकै अंग्रेजी ब्लगहरु Time! (http://ajabgajab.blogspot.com/) र Web Logger Dai:---(http://webloggerdai.blogspot.com/)मा पनि प्रविधिका कुरा धेरै लेखिएका हुन्छन्। नियमित नभएपनि बेलबखत प्रविधिका बारेमा, विशेष गरी कम्प्युटर-ईण्टरनेट आदिका बारेमा नेपालीमा लेखिएका लेखहरु http://dacharya.blogspot.com/ मा पनि पढ्न सकिन्छ।

Bhim Prasad Ghimire said...

इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत भाइ शेखरको गजलको ब्लग हुँदै आज म यो पेजसम्म आइपुगे । सम्भावित ब्लगरसँग भन्ने लेख भनौ वा जानकारी , जे होस राम्रो लाग्यो । मैले ब्लग लेख्न थालेको धेरै भएको छैन । तर, यो रुची स्कुले बेलामा दैनिकी लेखेजस्तै लाग्छ । नेपाली ब्लगर साथीहरुको पेज हेर्दा म आफु अलि ढिलो रहेछु भन्ने लाग्छ । तर, ब्लग मैले प्रचार पाउछ भनेर लेख्दिन । जे होस यो पेजका समाग्री मेरा लागि मननीय पाएँ । धन्यवाद

Basanta said...

धन्यबाद घिमिरेजी! यो ब्लगमा स्वागत छ।

मेरो तात्पर्य, धेरै वा थोरैको कुरो बेग्लै हो, तर केहि लेखेपछि त्यो कुरा आफूबाहेक अरुले पनि पढुन् भन्ने चाहना हुन्छ हरेक लेखकमा, भन्ने हो। सबैले प्रचार-प्रसार गर्छन् भन्ने छैन तर पाठक चाहनेले सकेसम्म गरेको राम्रो भन्ने मेरो सल्लाह हो। तपाईको पनि ब्लग छ भन्ने जान्दा साह्रै खुशी लाग्यो तर तपाईँको ब्लगमा पुग्न सकिन। तपाईँको प्रोफाईलमा ब्लगनै देखाएन। के होला तपाईँको ब्लगको ठेगाना?

लेख मन पराईदिनुभएकोमा आभारी छु र भविष्यमा पनि तपाईँका प्रतिकृयाहरु पाईरहने आशा राखेको छु।

Post a Comment

Related Posts with Thumbnails