October 22, 2009

भुँडीले गति छोड्यो!!!

अहिले त्यस्तो चिन्तन अलिक कम भईसकेको हुनुपर्छ तर १५-२० वर्ष अगाडिसम्म भने नेपालमा 'ठूलो भुँडी' सम्पन्नताको आम प्रतीक जस्तै थियो। कुनै मान्छेको भुँडी जति ठूलो भयो, ऊ त्यत्तिकै 'खान्दानी' र 'खाएलाएको' मानिन्थ्यो। ठूलो भुँडीले ठूलाबडाको ब्यक्तित्वमा निखार ल्याएको मानिन्थ्यो। धेरै लाल-बुझक्कडहरु दौरा-सुरुवाल-कोट ठूलो भुँडी भएकालाई मात्रै सुहाउने गफ पनि दिन्थे। यो गफ मैले आफ्नै उमेरका साथीहरुबाट अचेल पनि सुनेको छु यदाकदा।

अरु कुनै विशेष 'रोग' नभएको अवश्थाको ठूलो भुँडी आफैं एउटा रोग हो, अस्वस्थ जीवनशैलीको प्रतिफल हो, धेरै रोगहरुको मुहान हो।  यो रोगका जिम्मेवार दुई भाइमा, एउटा खानपीनको गलत तरिका हो। शरीरभन्दा जिब्रोको कुरा धेरै सुन्नु मानवीय स्वभावनै हो, जो जति हुने-खाने भयो, उति जिब्रोतिर लहसिँदै जान्छ। हाम्रो समाज यस्तै छ, कोहि राम्ररी खान नपाएर रोगी छन्, कोहि धेरै र मनपरी खाएर रोगी छन्।

अर्को भाइचाहिँ, शारीरिक श्रमविनाको दिनचर्या। हाम्रो समाजमा श्रम र त्यसमा पनि शारीरिक श्रमलाई एकदमै तल्लो कोटिको मानिन्छ। अलिकति मात्रै भौतिक सम्पन्नता आउनसाथ मान्छेहरु शारीरिक श्रम गर्न चाहँदैनन्। शारीरिक श्रम गर्नु भनेर कारखानमा मजदूरी गर्नु वा खेतीपातीमा काम गर्नुमात्रैलाई भनेको होईन, सबै मान्छेले त्यस्तो काम गर्नु सम्भव र आवश्यक पनि छैन। शरीरका लागि आवश्यक पर्ने न्यूनतम 'शारीरिक' गतिबिधि थोरै खेलकूदले पनि पूरा गर्नसक्छ। खासमा नियमित खेलकूद स्वस्थ र सभ्य समाजको जीवनशैलीको, संस्कृतिको एउटा महत्वपूर्ण भाग हो। 

हाम्रो समाजको एउटा ठूलो समस्या पनि यहीँनेर छ। हाम्रो जीवनशैली र संस्कृतिमा खेलकूदलाई कुनै महत्व दिईएको छैन।

भुँडीबाट कुरा शुरु गरेर कता-कता लग्यो यसले भन्नुहोला। तर कुरो भुँडीकै हुनेवाला छ। भुँडीको कुरो- यो भुँडी पुराण मेरा मनमा पाक्नाको कारण पनि बताईदिईहालौं-आफ्नै भुँडीले गति छोड्नाले हो।

कुरो के भने केहि महिना यता भुँडी महाविष्फोट (Big Bang) पछिको ब्रम्हाण्डजस्तो अचम्मसंग बढ्न थालेको छ। हुनत पहिला पनि आफनो भुँडी सटक्क ताछिएको त कहाँ हो र तैपनि काम चलेको थियो। नेपालमा हुँदा त बिल्कूलै समस्या थिएन, अलि-अलि 'कमाएको', 'खाए-लाएको' र 'ईज्जतदार' देखाऊँथ्यो त्यसले:) तर  मोटा मान्छे देख्न सुमो कुश्तीबाजहरुको अखाडानै पुग्नुपर्ने जापान जस्तो 'फिटनेस फ्रीक' ठाऊँमा भने त्यै पनि ठूलो देखिने! कहिलेकाहिँ 'आवश्यक' पर्दा बलैले भित्रसम्म खिँचेर ताछिएकोजस्तो बनाउने कोशिश गरिन्थ्यो (गफै त हो!) तर जतिखेर पनि त्यसो गरिरहन सक्ने कुरो भएन।

यो 'महाविष्फोट'ले एकजना पुराना सहकर्मी साथीको याद दिलायो। उनको भुँडी निकै ठूलो थियो, कसैले उनको भुँडीको कुरो उप्कायो कि उनी "मेरो भुँडी के भुँडी? राधाकृष्ण मैनालीको भुँडी पो भुँडी!" भन्थे। तिनको भनाई अनुसार राधाकृष्ण मैनालीलाई आफ्नै खुट्टा हेर्न ऐना चाहिन थाल्या पनि ३०-३५ वर्ष भईसक्यो रे! राधाकृष्ण मैनालीले नुहाऊँदा टाउको अथवा जीऊमा खन्याएको पानी खुट्टातिर नगई सोझै भुईँमा खस्छ रे! (यो कुराका अरु फरक पात्र र केहि 'नन-भेज' संस्करण पनि नभएका होईनन्।) मैनालीजीलाई देखेका जो कोहिले पनि पत्याउने खालकै कुरो हो यो।

चाँडै 'राधाकृष्ण मैनाली क्लब'मा पुगिने पिरलोले पोल्न थाल्यो मलाई। मैनालीजीको त उचाई पनि धेरै छ, हातखुट्टा पनि उस्तै 'खाईलाग्दा' छन्। ठूलो भुँडि भयो भने मेरा मसिना हातखुट्टा त मुछेको पिठोको डल्लोमा सिन्का गाडेजस्ता देखिने भए! अजबको जन्तु देखिने भएँ म त!

त्यो क्लब जानु पर्ने स्थिति आउन नदिने निधो गरें। पहिला खानपीनको कुरोबाट हेर्न थालें। त्यस्तो गरिष्ठ 'खान' गर्ने मान्छे म होईन। 'पीन' पनि 'हप्तामा १-२ क्यान'मा सीमित छ; त्यो 'सोसियल ड्रिन्किङ' भन्छन् नि, हो त्यहि हो क्या:) त्यसैले 'खानपीन'मा जोड-घटाऊ गर्नुपर्ने कुरा खासै देखिएन। कुरो आयो उहि शारीरिक श्रमकै। यस्सो सम्झिल्याऊँदा, जीऊमा ताल्चा लगाएर बस्या कम्तिमा पनि एक दशक काटिसकेछ। मेरो भुँडीको महाविष्फोटको कारण यहि हुनुपर्छ। साँझ-बिहान अलिकति दौडधूप, खेलकूदनै एउटै उपाय देखियो।

साँझ समय निकाल्न सक्ने भन्या पनि त्यस्तै हो, त्यसैले बिहान अलिक चाँडै उठेर कुद्ने निर्णय भयो। निर्णय त भयो तर कार्यान्वयन भएन, नेपाली पारा क्या:) 'अल्छीको बात जैसीले जान्दैन' भन्याजस्तै' "नजिक त्यस्तो ठूलो चउर, पार्क पनि छैन, के कुद्नु खै?" भन्ने बहानाको बिर्को लगाईयो निर्णयमा र सकेसम्म ढिला उठ्ने 'शुभ' कामलाई निरन्तरता दिईयो। बहाना चाहिएको थियो, भेट्टाईयो, नत्र मध्य शहरमै पनि सडकपेटीमा स्वास्थ्य-सचेत मान्छेहरु कुदिरहेका नदेखिने होईनन्!

एक महिना पहिला अहिलेको गुँडमा सरेपछि मेरो त्यो बहानाको बिर्को जबर्जस्ती खुल्यो।

नजिकै TENPAKU-GAWA (थेनपाकु खोला) छ। त्यो खोलाको दुबैतिर बाढी नियन्त्रण गर्न बनाईएको तटबन्धमा कतै दुई-कतै तीन तहमा फराकिला समतल संरचना छन्। नदीको शहरभित्र  पर्ने लम्बाई पूरैमा निर्माण गरिएको छ यस्ता संरचना (सबैभन्दा माथिल्लो तह गाडीनै हिँड्न मिल्ने गरी पीच गरिएको छ, तर गाडी हिँडेको देखिँदैन।)। त्यहाँ जतिखेर पनि मान्छेहरु कुदिरहेका, हिँडिरहेका र जीऊ मर्काईरहेका देखिन्छन्। साँझ-बिहान त भिडै हुन्छ त्यहाँ। बिहान खोलाको किनारमा ध्यान गरेर बसिरहेकाहरु पनि देखिन्छन्।

अब पनि भुत्ते बहानालाई बोकेर बसिरहन मन लागेन र सबेरै खोलाको किनारमा पुग्न थालें।

तर जीऊका ताल्चाले चुँडिन मानेका भए पो!

दुई-चार दिन अलि-अलि हिँड्ने, अलि-अलि कुद्ने गरेपछि एक दिन झोंक चलेर आधा घण्टा कुद्देको, झण्डै थला परेको! बाफ रे बाफ!

वास्तवमा वर्षौं 'नखाई' बसेर यस्तरी एकैचोटि 'धेरै खाएर' आफैंलाई 'छेरौटी लगाऊनु' ठीक थिएन। त्यसैले हल्का हिँड्ने र बिस्तारै समय र गति बढाऊँदै लैजाने क्रममा छु।

'महाविष्फोट'लाई नियन्त्रण गरेर गतिछाडा भुँडीलाई तह लगाउन सकेपनि-नसकेपनि यो कुरा भने पछि पनि गर्दै गरौंला। 

बरु हजुरको भुँडी कत्तिको गतिछाडा छ कुन्नि:)


Image Source: Click Here

18 comments:

Rashmi Sheila said...

I'm glad you've started thinking about it already. Your presentation, I liked it. Keep it up. And yes, have a happy healthy life. :)Good luck.

Dilip Acharya said...

आधा-आधी पोष्ट पढ्दा सम्म त पुरै आफ्नो समस्या लेखिएको जस्तो लागेर कतै पोष्टको अन्ततिर आफ्नो पनि नाम आउने हो कि भनेर डराई डराई हेर्दै थिएँ, धन्न रहेनछ !( धन्यवाद है!!)।

खै, जत्तीसुकै 'हेल्थ कन्सस' हुन खोजे पनि २-४ दिनमा अल्छी लाग्ने रहेछ । एकचोटी त रामदेवको "भास्त्रिका" पनि गर्न खोजेको हो तर निरन्तरता दिन सकिएन ।

माथी सबै कुरा किन खोलिदिएको ?? । १५-२० वर्ष अगाडि हैन, अहिले पनि त ठूलो भुँडीले 'कमाएको', 'खाए-लाएको' र 'ईज्जतदार' नै देखाऊँछ नि (अब आफ्नो नघटेपछि यही कुरालाई सही मान्नु पर्‍यो नि !)

दीपक जडित said...

तर आफ्नो भागको मानो खाने भुँडी त राख्नु पर्छ है वसन्तजी त्याँहा भन्दा पर्तिर पनि खाने भुँडीलाई चैं ठेगान लाउँनै पर्छ ।

आफ्नो चैं पुराणमा बर्णन हुन लायक छैन धन्न ! ता पनि भुँडीले अटेर गरेपछि गर्यो गर्यो भन्छन् कोहि कोहि त्यसैले कताकता डरपनि लाग्छ । सावधान गराउने यो पोष्टको निम्ती धन्यवाद !

कृष्णपक्ष उज्यालोको खोजिमा said...

हो हामी धेरै जना कहिले काही आवश्यक पर्दा बलैले भुडी भित्र खिच्ने कार्य गर्न खप्पिस छौं, तर सधै त्यो सम्भव कहाँ छ र :)

स्वस्थ खानपिन र व्यायाम हाम्रो संस्कृतिको महत्वपूर्ण पाटो हुनु पर्छ, अहिलेका मान्छेहरु धेरै विषयहरुमा व्यस्त भएर शारीरिक स्वास्थ्यको प्रसंग चाहि गौण बन्दै गएको अवस्थामा लेखले निकै आवश्यक र चेतनामुलक संदेश दिएको छ।

भुडी घटाउ युद्धका लागि कसरतमा "सिट अप" र योगामा "नौकासन" अत्यन्त धारिला अश्त्र हुन् :D

Umesh Gajurel said...

लैा समस्या त सबैलाइ रहीछ नि त, मेरो त कुरै नगरूम, हेन्सम हुन जिम गएको भुडीपो लाग्न थाल्यो, .......

Prajwol said...

ओ हो, सार्है घत लाग्दो टांसो रहेछ :)

मेरो एक साथी भुंडिलाई prosperity curve भन्ने गर्थे । एक चोटि, ६-७ बर्ष अगाडि मेरो भुंडी को टुसो भर्खर पलाउन थालेको बेला maintain गर्नु पर्छ ज्यान भनेर अली कसरत गर्न थालेको थिंए । एउटा अर्को साथीले सुझाव दिइ हाल्यो " हेर यो भुंडी अब घट्दैन, बरु अब छाती बडाउन तर्फ लागेर balance गर"। आहिले त त्यो कुरो हो कि जस्तो लाग्यो थाल्यो ।
Summer आयो की Beach Body बनाउन पर्छ भनेर लागिन्छ, त्य्स पछी त ताल फेरी त्यही हो । काम मा निंद्रा लागे coke खाइन्छ, रमाइलो गर्नु परे beer, अनी राती डम्म भात खाएर सुतिन्छ । कसरत सुन्य छ, अब मेरो भुंडी पनि कसरी नबडोस त :D

N K M said...

ha ha!

Nice Bhudi Puran. It should be the common issue for many people.

You have found a Nice pic too...
:)

Ashesh said...

कहिलेकाहिँ शब्द कम हुँदोरहेछ तारिफ गर्नलाई!!यतिको मनछुने लेख त विरलै पढ्न पाईएला आउदा दिनहरूमा । मापदण्डमा त म पनि पर्ने नै हुँ तर अलि नचिनिने भएकोले डर चैँ लागेन मेरो पनि लेखमा नाम आउला भनेर । सवैलाई रूवायो यो भुँडिले।

chudamani said...

मेरो भुँडी आजसम्म चाहीं सारै असल छ | आफ्नो भुँडी प्रति आफैलाई आरिस लाग्छ | हो भन्या ! हा हा हा ...
लौ गजबको लेख लेख्नु भएछ बसन्तजी | मन पर्यो | नेपाल जाँदा भने भुँडी ठुलै लिएर जाने सुरमा छु | के गर्ने बिहे गर्नु छ केटीले पछिको असर बिचार गर्दैनन तत्काललाई भुँडीवाल नै मन पराउन्छन भन्ने सुन्छु | विदेशबाट आए जस्तो छैन भन्छन रे !
तर यो हल्ला मात्र पनि हुन सक्छ है !

Prabesh said...

हा हा......एकदमै मजा आयो दाइ यो पढ्न । मेरो पनि पारिवारि समस्या नै छ यो भुँडिको । अनि आफ्नो जीऊको बनावट हेर्दा पनि निकै दु:ख देलाजस्तो छ । खोई के गर्ने हो हो....कसरत गर्न जाउँ भने तपाईँकै पारा हुन्छ !!!

DEEPENDRA said...

Must say I enjoyed a lot reading this post. after going thru' the comments, I couldn't stop laughing. more or less, I too have the same problem. and I agree with Dilip ji's opinion :-)

Anonymous said...

YO BHUDI KO BAREMA MALAI RAMRO ANUBHAB CHHA BASANTA JEE...
YESLAI GHATAUNE EUTA SUNDAR UPAYA CHHA..
TAPAI DINNER 5 DEKHI 6 KO BICH MA KHANOS.. TESPACHHI KEHI NAKHANOS.. KEHI HAPTA SAMMA RATI TIRA BHOK LAGNA THALCHHA TARA PACHHI THIK HUNCHHA.. BIHANA UTHNE BITTIKAI BREAKFAST KHANOS KAM SAKIYI HALYO... TESAILE TAKE THE DINNER BEFORE 6..... TRY TO WALK SLOWLY FOR ONE HOUR IN THE EVENING.. THAT WILL WORK..
THIS IS PROFESSIONAL IDEA YAR.. FOLLOW IT..
HE HE
IDEA DINE MANCHHE KO HO CHAHI PACHHI BHANAULA HAI.. AHILE LAI CHAHI ANONYMOUS.. NAI KAM CHALAU..

Jotare Dhaiba said...

आफ्नो त सफाचट भुँडी भए पनि यो लेखोट पढ्दा भने आफूले 'छाडा भुँडी' को उम्मेदवार हुने मौका गुमाइयो भनेर थकथकी पो लाग्यो । ;)
निकै मोहकारी ढंगले हाम्रो सामाजिक मान्यताको दरिद्र पाटोलाई भुँडी पुराण मार्फत खोतल्नुभएको छ ।
हामी लुरेभुरेलाई भने भुँडीवालको यमानको हुँकार देख्दा त्यसै आह्रिस लाग्दो रहेछ, नभएको कुराको लोभ त हुन्छ नै ।
जे होस्, सफाचटमा ताछिन सक्नुहोस्, शुभ कामना !

Chaitanya said...

मैनाली-प्रकृतिका भुँडीको बखान साह्रै रमाइलो लाग्यो | Anonymous जीले दिएको भुँडी घटाउने उपाय उत्तम हो भन्ने मेरो पनि ठहर छ | ठूलो कुरो आफ्नो will - power को हो | धैर्यता अपनाएर प्रयास गर्नुभयो भने सफल बन्नुहुनेछ | तिर्खालाई भोक सम्झेर खानेकुरा नखानु बेस होला | अग्रिम शुभकामना !

Aakar said...

हाहाहा ! गज्जब को भुँडि चाँहि हुनु नै पर्छ है तर रोग चाँहि हुनुभएन । हुन पनि कहिँ कहिँ चाँहि, भुँडि देखेर नै मान्छेहरु तर्सिने गरेकाछन् ।

स्वस्थ्य रहन सबैभन्दा ठूलो कुरा पेट स्वस्थ्य हुनुपर्छ । हुन त यो कुराहरु धेरै योगीगुरुहरु ले भनिसकेकाछन्, अनि मलाई पनि यही कुरा चाँहि सही लाग्छ । भुँडि ठिक छ भने, कुनै रोग हत्पत्त लाग्दैन रे !

badri said...

very interesting Bhundi Puran..

नेपालियन said...

चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के नरमिते कुरा गरौं। खास त ह्यै उत्तर दिन लाग्या हो। तर प्रश्न भन्दा उत्तरै लामो हुने हो कि भनेर फेरी यै दौंतरीमा आइपुगें। लहै बसन्त जीलाइ भूंडी उत्तर हेर्न दौंतरी मै आउनुहोला।

Basanta said...

सबैलाई धन्यबाद!

रश्मीजी, ब्लगमा स्वागत छ। हौसला र शुभेच्छाको लागि आभारी छु।

दिलिप दाइ, हा हा हा! धेरैलाई त्यस्तै लागेछ, ‘यस्ले अब कता मेरो नाम लेख्ने भो!’ भन्ने। तर ‘मोडेल’को रुपमा आफैं पनि सामेल भएपछि दु:ख गर्नै परेन, आफैंलाई हे-यो, लेख्यो:) दाइको भुँडी ताछ्ने अभियान पनि सफल होस् भन्ने कामना!

जडितजी, आफ्नो भागको मानो त सानै भुँडीमा अट्छ। उता फेसबुकमा केदार सरले ‘खानु र खाँद्नुको फरक जान्यो भने समस्या समाधान भईहाल्छ’ भनेर लेख्नुभएको छ। खाँद्न थालेपछि पेटपनि फैलिंदो रहेछ।
तपाईँको भुँडीको डाह लाग्यो मलाई त:) तर होश गर्नुस् है भुँडीले एकपटक अटेर गरेपछि ग-यो, ग-यो चाहिँ एकदम साँचो हो।

कृष्णपक्षजी, “सिट अप” र “नौकासन”को सल्लाहको लागि हार्दिक धन्यबाद! तपाईँको भुँडी भने अझै ताछिएकै होला भन्ने आशा गर्दछु।

उमेशजी, ‘जाऊँ कि क्या हो म पनि जिमखाना---‘ को झोंक त मलाई पनि चल्छ अचेल तर अधबैंशे हड्डीको भर र भनेर चूप लागेर बस्या छु। तपाईँको ‘भुँडी बिल्डिङ्ग’ रोकियोस र ‘बडी बिल्डिङ्ग’ सफल होस् भन्ने कामना।

प्रज्वलजी, यो छाती बढाएर भुँडीलाई ‘ब्यालेन्स’ गर्ने कुराले साफ हँसायो मलाई त। छाती बढाउन गाह्रो छ र एउटा सीमासम्म बढ्छ तर भुँडी त सजिलै जति पनि बढ्न सक्दो रहेछ।
हामी सबैको रोग एउटै हो, गर्मीमा मात्रै जीऊको ख्याल आउने। अनि यो रातीको भात घटाउने र ‘घाँसपात’ बढी खाने बानी लगाउने कोशिशमा छु म पनि।

नवीनजी, तपाईँलाई यो भुँडी विष्फोटले कत्तिको सताएको छ कुन्नि, कुरै गर्नुभएन:) त्यो तस्बीर मैले बिबिसीको एउटा आर्टिकलमा भेटेको हो।

अशेष भाइ, ब्लगमा स्वागत छ। प्रशंशा धेरै भयो भने म मात्तिऊँला है फेरि:)
मापदण्डमा अहिल्यै परिसकेको हो भने हतारिए हुन्छ भुँडी घटाउन, किनभने उमेर बढ्दै जाँदा यो ‘प्रकोप’ झन् बढ्दै जान्छ।

चुडामणिजी, खुशी र डाहा लाग्यो तपाईँको भुँडी अझै ‘ज्ञानी’नै भएको जान्न पाऊँदा।
नमोटाई नेपाल फर्किँदा जोरीपारीले ‘बिदेश बसेको’ भनेर नपत्याउने कुरो त साँचो हो तर नेपालमा पनि अब ठूलो भुँडीवालालाई मन नपराउने केटीहरु बढेका छन् भन्ने सुनेको छु मैले त, ध्यान दिनुहोला है:)

प्रवेश भाइ, अल्छी गर्न नहुने रहेछ। बिहान एकछिन दौडेपछि एकदम आनन्दको अनुभूति हुने रहेछ र ‘यस्तो अनुभवबाट आफैंलाई वञ्चित गरिरहेको रहेछु अहिलेसम्म’ भन्ने लाग्दो रहेछ। बिस्तारै बानी लाग्दै जान्छ। यथार्थमा स्वस्थ जीवनशैलीको शुरुवात भाइहरुकै उमेरबाट गर्नु धेरै राम्रो हो।

दीपेन्द्रजी, तपाईँको भुँडीलाई तह लगाउन के गर्दै हुनुहुन्छ पनि लेख्नुहोला है।

Anonymousजी, सल्लाहको लागि धन्यबाद! बेलुका छ बजेभन्दा पहिल्यै खाना खानु भुँडी घटाउने राम्रो बाटो हो तर यो अहिले कामकाजी जिन्दगीमा सम्भवै देखिँदैन। पछि ‘रिटायर्ड’ जिन्दगीमा के हुन्छ कुन्नि!
तपाईँले नाम नभने पनि मैले चिने-चिने जस्तो लाग्यो:)

धाईबाजी, त्यस्ता कुराको उम्मेदवार नभएकै राम्रो यार! तपाईँको भुँडी सधैं ताछिएकै रहोस् भन्ने शुभकामना।

चैतन्यजी, कुरो ईच्छा-शक्तिकै हो रहेछ। बिहान उठेर हिँड्ने बानी पर्दैछ अब। तपाईँलाई भने अझै यो समस्याले सताईसकेको छैन भन्ने लाग्छ मलाई। कि शुरु भईसक्यो अचेल?

आकार भाइ, गजबको भुँडी आफैं एउटा रोग हो भन्ने ठहर छ मेरो त। पेट र भुँडी फरक हुन् भन्ने सोच्नुनै राम्रो होला।

बद्रीजी, तपाईँको अनुभव पनि सुनौं न।

नेपालीयन ब्रो, ब्रोको कमेण्ट पढेपछि एकचोटि दौंतरीमा पुगेको थिएं म तर ‘भुँडी’ नदेखेपछि फर्केर आएँ। ब्रोले उत्तर कहिले लेख्ने हो?

Post a Comment

Related Posts with Thumbnails