September 14, 2009

"महान नेता"- एक लघुकथा

[लेख्न मन त समसामयिक घटनाहरुका बारेमा थियो तर यसपटक पनि 'इतिहासको ब्याज' मै अड्काउनुपर्ने भयो ब्लगलाई।
आज एउटा लघुकथा। २०५६-५७ सालतिर कान्तिपुरको 'साप्ताहिक'मा छापिएको थियो यो। पत्रिकाको टुक्रो पनि साथमा छैन, खेस्रा पनि छैन; स्मृतिको भर लिँदैछु। अलिकति समसामयिक बनाउने कोशिश पनि गरेको छु। कथाको चुरो भने उहि हो।
नेताहरु देखेर त्यतिखेरै पनि दिक्क लाग्थ्यो, अहिले त झन् ठूल्ठूला छलाङ्ग मारिसकेका छन् उनीहरुले; 'नयाँ जोगी' पनि धेरै निस्किसकेका छन्। ]
महान नेता
एक दिन 'क' शहरमा विशाल आमसभा थियो। देशका 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो र भन्नुभयो, "काग सेतो हुन्छ भन्ने अकाट्य तथ्य घामजत्तिकै छर्लङ्ग छ। यसलाई हाम्रा विपक्षीहरुले अस्विकार गर्न खोज्दै छन् तर म जोड् दिएर के दोहो-याउन चाहन्छु भने काग सेतो थियो, सेतो हुन्छ र सेतोनै रहनेछ र यो नै हाम्रो पार्टीको सिद्धान्त हो।"

भोलिपल्ट 'ख' शहरमा पनि उस्तै आमसभा भयो र 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले फेरि लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो। उहाँले छाती ठोक्दै भन्नुभयो, "बकुल्ला कालो हुन्छ, यो स्वयँसिद्ध तथ्य हो। यसलाई कसैले छोप्ने षडयन्त्र गर्छ भने हामी सशक्त प्रतिकार गर्नेछौं। बकुल्ला कालो थियो, कालो हुन्छ र कालोनै रहनेछ। यो नै हाम्रो महान पार्टीको सिद्धान्त हो।"

नेताज्यूले बोलेका कुरालाई लिएर गाऊँ-शहर, देश-विदेशमा धेरै हल्लाखल्ला भयो। हल्लाखल्लालाई साम्य पार्न दुई दिनपछि 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले एउटा पत्रकार सम्मेलन गर्नुभयो र भन्नुभयो; "ती कुराहरु मैले बोलेकै होईनन्। मलाई र हाम्रो पार्टीलाई बद्नाम गराउन विपक्षी र मिडियाले झूटो कुरा फैलाएर षडयन्त्र गरेका हुन्। हाम्रो पार्टीको सिद्धान्त अनुसार न काग सेतो हुन्छ, न त बकुल्लानै कालो हुन्छ; वास्तवमा ती दुबै राता हुन्छन्। यहिनै हाम्रो पार्टीको वास्तविक सिद्धान्त हो।"


11 comments:

gufgaf.com said...

हा हा हा !!! एकदम राम्रो दाइ !!

krishna kasti said...

साहित्यको जीवन्तता भनेकै त्यही हो । यो कथाको मूल अंश जहिले र जस्तो लेखेछापेको भए पनि सार उही हो भन्नु भयो । उस्बेलाको चिन्तन्ले अहिलेको दुरुस्त प्रतिनिधित्व गरेको हुँदा कथा शब्द शैली भाषा परीवेश र भाव का आधारमा सफल छ् ।

DEEPENDRA said...

:-) Indeed interesting! really liked it. It reflects the thoughts/activities of our politicians.

कृष्णपक्ष उज्यालोको खोजिमा said...

त्यागी, तपस्वी, महान, क्रान्तिकारी नेताले धेरै लामो बाटो हिडी सकेका छन र निकै ठुलो छलांग मारिसकेका छन तर झुठ र भ्रमको खेति गर्ने पारा उस्तै छ । हदै सम्मको सुधार गरे यत्ति भन्दा हुन्- हरियो रंगको काग र बकुल्लालाइ विपक्षी दलका नेताले कहिले सेतो, कहिले कालो र कहिले रातो भन्दै हिडेर समाजमा भ्रम फैलाउने काम गरेकोमा हाम्रो घोर आपत्ति छ ।

दिनेश राज said...

बसन्त जी , हाम्रा नेता पिपल पाते चरित्रलाई उदाङ्गो बनाउन सफल हुनु भएको छ । सिध्दान्त भनेको लेखिने मात्र हो , ब्यबहार अझै लेखिएको छ , आबश्यकता अनुसार फाइदा अनुसार जता , जसरी पनि जानु मिल्छ । राम्रो लघुकथा ।

Mukta said...

hamra netaharuko charitra ramro sanga chitran bhako chha..nice work

Dilip Acharya said...

सफेद झूठ बोल्ने मात्रै हैन हाम्रा नेताहरुलाई कुनै पनि विषयको बारेमा केही पनि जानकारी छैन भन्ने कुरा यो कथाले प्रष्ट्याएको छ ।

काग सेतो र बकुल्ला कालो मात्रै हैन, खोजी पसेमा काग पानीमा बस्छ र बकुल्लाको चारओटा खुट्टा हुन्छन भन्ने नेता नै हामीकहाँ महान भएको भेट्न कत्ति पनि गाह्रो छैन ।

Sujan Sharma said...

An interesting & real story!!

Rishav Atreya said...

Bastabik EKdamai Bastabik ! Ramro lagyo....

Basanta said...

सबैलाई हार्दिक धन्यबाद!

Jotare Dhaiba said...

प्रतीकात्मक रूपमा नेताको रङफेरुवा चरित्रको सजीव पर्दाफास लाग्यो यो कथा । रमाइलो पनि उत्तिकै छ ।

Post a Comment

Related Posts with Thumbnails