September 08, 2009

कथा- "आगो लागेको बेलामा"

[यो कथा मैले केहि समय पहिला लेखेका तीन कथाहरुमध्येको अन्तिम हो। कथाको विषयवस्तु मेरो मनमा तीन-चार वर्ष पहिलेबाटै डुलिरहेको थियो। कथा लेख्ने समय जुर्दै-जुरेन। अहिले समय जुर्दा पनि विषयवस्तुलाई पेश गर्ने शैलीको निर्णय गर्न ज्यादै गाह्रो भयो। अहिलेलाई यो रुपमा यहाँहरु समक्ष प्रस्तुत छ। मैले यसलाई लेखनकै क्रममा रहेको मानेको छु र केहि दिनका बीचमा यसमा केहि साना वा ठूलानै पनि परीबर्तन हुन सक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु।
नेपालको राजनीतिको बारेमा नलेखेको धेरै भयो। ब्लग अचेल साहित्यको बाटोमा एकोहोरिएको छ। यो कथा भने साहित्यिक रचना हुँदा-हुँदै पनि नेपालको राजनीतिको बारेको मेरो बुझाई र प्रतिकृया पनि हो।
यहाँहरुका सुझावको अपेक्षा छ।]

आगो लागेको बेलामा

“हरिरह सर हुनुहुन्न?” हातमा हेल्मेट झुण्डाएको २५-३० को एउटा मान्छे कोठामा पसेर सोध्यो।
“हुनुहुन्न!” कोठामा भएका 'हरिहर सर’बाहेकका कर्मचारीहरुमध्ये एउटाले टाउको नउठाई जवाफ दियो।
“आज आउनुहुन्छ होला नि है! कतिखेर---?”
“खोई, हामीलाई थाहा भएन।" अर्को एउटा कर्मचारी बोल्यो, अत्यन्त अनिच्छापूर्वक, बोल्दा पैसा तिर्नुपर्ला जस्तो गरेर।
हेल्मेटवाला बाहिर निक्लियो। त्यहाँको वातावरणको मौनतामा अलिअलि तनाव देखिन्थ्यो। शायद एक घण्टा अगाडिबाट यस्तै वार्तालाप धेरै पटक दोहोरिईसकेको थियो।

बाहिर ढोकाको छेऊमै एउटा त्यस्तै उमेरको अर्को मान्छे पनि थियो, हेर्दा हेल्मेटवालाभन्दा अलिक दुब्लो-पातलो र उदास देखिन्थ्यो। हेल्मेटवाला पनि त्यतै अल्मलियो।
“तपाईँ हिजो पनि आउनुभ'थ्यो होईन?” हेल्मेटवालाले सोध्यो।
“हो। चार दिन भयो धाएको, हाकिम आउने होईन।“
“यस्तै हुन् सा--लाहरु! चोरहरु! म पनि अस्तिदेखि कुरिरख्या' छु। यस्तो बेलामा पनि बिदामा बस्ने हो? कि अरुलाई अधिकार दिनुपर्छ---!“
“आज त आऊँछ कि दिऊँसोसम्म। नत्र त चेक साट्नै भ्याईँदैन। पर्सि घटस्थापना आईसक्यो।“
“त्यै त!----आजचाहिँ दिनभरि कुर्नैपर्ला। ----- । बरु एउटा काम भ्याएर एक छिनपछि आउनुपर्ला।“ हेल्मेटवाला निक्लियो। अर्को मान्छे त्यतै बसिरह्यो।

"अझै आएको छैन है----!" एकघण्टा जति पछि फर्केर आएपछि हेल्मेटवालाले सोध्यो।
"छैन।“ दिक्क मान्दै अर्को ब्यक्ति बोल्यो, ऊ कतै नगई यतै अल्मलिईरहेको हुनुपर्छ।
"एउटा 'साइन’को कारणले यति धेरै मान्छेले दु:ख पाउनुपर्नी---! साला चोर हाकिम---!”
--------------------
“ल हिँड्नुस् चिया खान जाऊँ।“ हेल्मेट वालाले भन्यो।
“हो, जाऊँ। बिहान हतारमा आईयो, राम्रोसंग खाना पनि खा’ छैन।" दुईजना कार्यालय पछाडिको क्यान्टीनमा पसे।

“मेरो नाम शेखर है, तपाईँको--?” चिया-तरकारी माग गरेर बसेपछि हेल्मेटवालाले औपचारिक परिचयको लागि हात बढायो।
“हजुर म---राजेन्द्र।“ अर्को ब्यक्ति हात मिलाउन अलि हच्किएजस्तो लाग्थ्यो।
“कहाँबाट आउनुभएको नि?!”
“सुर्खेत। ---- होष्टेलमा भात पकाऊँछु।“
“घरै सुर्खेत हो कि राजेन्द्रजीको?
“होईन सर, घर त रुकुम हो। सरको घर कता हो नि?”
"मेरो घर त काठमाण्डुनै हो। अहिले पोखरामा पढाऊँछु।“
"काठमाण्डुको मान्छे पोखरा जानुभएछ त सर, किन? अन्तका मान्छे यता आउन खोज्छन्।“
"अँ, यस्सो नेपाल घुमौं भनेर उता गएको, पाँच वर्ष भयो उताको उतै भईएको छ।" शेखरको बोलीमा फूर्ती देखिन्थ्यो।
"पोखरा बसेर के नेपाल घुमिन्छ सर?! साँच्चिकै नेपाल घुम्ने भए आउनुस् न हाम्रो रुकुम-रोल्पा, नभए सुर्खेतसम्म भएपनि।"
“हो त्यो त----!” शेखरको अनुहारको अघिको फूर्ती देखिएन अहिले। उसको अनुहारले ऊ राजेन्द्रको कुराले अलि-अलि झर्केको देखाऊँथ्यो।
--------
“अनि राजेन्द्रजीको कलेज बिदा भईसक्या' हो र?”
“छैन सर। मिलाएर आएको। हिजो-अस्तिनै फर्किने विचार थियो। हाकिम नआइदिनाले-- । सरको नि?”
“बिदा भा’छैन मेरो पनि। दशैंको मुखमा माओवादी चन्दा माग्न आऊँछन्, त्यसैले म सधैं एक-दुई हप्ता पहिलेनै हिँड्छु। यसपाली त नआउलान् भनेको तर हाम्रा दुई-चार जना सरहरुलाई चिठ्ठी काटिसकेछन्। अनि यसपाली पनि चाँडै हिँडेको। मेरो नाममा पनि आईपुग्या होला अब त। तिहारपछि गईन्छ अब।"
“सरहरुलाई दशैंमा मात्रै दु:ख दिँदा रहेछन्। हाम्लाई त सधैं यस्तै हो। कतिचोटि त तलबबाटै काटेर लगेका छन्। वार्ता भएकोले यसपालीबाट त ठिक होला कि भनेको, खै के हो, के हो!"
"त्यहि त, शान्ति वार्ता भएपछि त ठिक हुनुपर्ने हो।"
-----------------------------
"फेरि यसपाली यो 'लोन’ निकाल्नु पनि थियो। बहिनीको बिहेको रिण नतिरी नहुनी भ’छ।" छोटो मौनतापछि शेखरले आफ्नो कुरा शुरु ग-यो फेरि।
"ए---!”
"राम्रो घर खोज्दा रिणमा परियो हेर्नुस्। बहिनीको बिहेले गर्दा--। मिल्ने साथीसंग लिएकोले कचकच त गरेको छैन तर तिर्नैपर्ने भएपछि। ---- समरजंग कर्नेलको छोरो हो।“
"ए---!”
"त्यस्तासंग हाम्रो संगत हुने होईन हतपति। यो कर्नेलको कान्छो छोरो, खुब बिग्रेको थियो पहिला। अरु कुनै स्कूलले लिन नमानेपछि हाम्रो स्कूलमा भर्ना गरेका थिए, बाऊ संचालक समितिमा थियो। एसएलसी पनि पास भएन। दाजुहरु सबै सेना-पुलिसमा छन्, यो किरणजंग चाहिँ जग्गाको कारोबार गर्छ।" आफ्नो कुरा ओकल्न निकै उत्साहित देखिन्थ्यो शेखर।
"ए---!"
"तपाईँको पनि त्यस्तै बिहे-सिहेले गर्दा हो कि अहिले पैसा निकाल्नु परेको?” एकछिनपछि शेखरले सोध्यो।
"कहाँ त्यस्तरी रिन लिई-लिई बिहे गर्न सक्नु सर हाम्ले? घर बना’को पैसा तिर्न---“
"ए हो र? घर उतै गाऊँमा बनाउनुभा’कि--?”
"होईन सर, सुर्खेतमै हो। गाऊँमा त बसिनसक्नु छ। ---- अब शान्ति भईदिए हुन्थ्यो छिट्टै!“
-------
"अनि राजेन्द्रजीको दाजुभाई---?”
"एउटा भाइ छ सर, ईण्डियामा छ अहिले।“
"ईण्डियामा? किन नि?”
"खै किन भन्ने सर--- “ कुरा गर्न राजेन्द्र त्यति उत्साहित देखिँदैनथ्यो। “भाइलाई लालसेनामा जानैपर्छ भनेर माओवादीले भनेका रहेछन्। आमासंग पनि भनेका रहेछन्। भाइ नौ मा पढ्दै थियो। एक दिन राती त लिनै भनेर आएछन्। भाइ रातारात भागेर सुर्खेत आयो। भाइलाई भगाएको भनेर आमालाई पिटपाट, लछारपछार गरेछन्। हामीलाई सुराकी भनेर पूर्जी समेत काटेछन्। पछि आमा पनि सुर्खेत आउनुभयो। भाइ नेपालमै बस्न पनि डराएर ईण्डिया पस्यो। अहिले दिल्लीमा एक ठाऊँमा चौकीदारी गर्छ रे।" राजेन्द्रको बोलीमा, अनुहारमा गहन पिडा देखिन्थ्यो। “राम्रो पढ्थ्यो, फष्ट डिभिजनै नसकेपनि सेकेण्ड डिभिजन त पक्का ल्याऊँथ्यो होला एसएलसीमा।“
"ए----!"
"एउटा एनजीओले विश्थापितलाई भनेर केहि घरहरु बनाईदिएको छ सुर्खेतमा। आधी खर्च आफैंले हाल्नुपर्ने थियो, रिन गरेर हालियो। त्यै रिन तिर्न भनेर अहिले अफिसबाट सञ्चय-कोष सापटी लिन खोज्या।"
"यस्तो अप्ठेरो छ तपाईँलाई! त्यसमाथि हाकिम नआईदिएर है---!”
"हो सर, फर्किन बस पनि नपाईएला जस्तो भईसक्यो अब त। काम भ्याउन पाए आज बेल्कै हिँड्थे। चेक बनिसक्या' छ, हाकिमको सही नभएर मात्रै अड्क्या’ छ।"

“ऊ हाकिम आयोजस्तो छ!” अफिसभित्र भिडभाड बढेको देखियो। चिया-खाजाको पैसा तिरेर उनीहरु पनि हतार-हतार त्यतै लागे।

पैसा लिएपछि राजेन्द्र बसपार्कतिर लाग्यो होला, शेखरले देखेन।
----------------------------
मोटरसाइकललाई कम्पाऊण्डको ढोकाको छेऊमा रोकेर शेखरले घण्टी बजायो। एउटा कुकुर भुक्दै आयो। कुकुरको पछि-पछि एउटा मान्छे आएर ढोका खोल्यो। शेखर भित्र पस्यो।
“किरण राजालाई खोज्नु भा' होईन? किरण राजा घरै होईसिन्छ।” । यो घरमा काम गर्ने सबैले शेखरलाई चिनिसकेका थिए।

किरणजंग टिभी हेरेर बसिरहेको थियो। टेबुलमा ह्विस्कीको बोतल र गिलास देखिन्थ्यो, कोठामा डुङ्डुङ्ती चुरोटको गन्ध पनि थियो।

“ए-- शेखर! कहिले आ’को यार पोखराबाट?”
"तीन-चार दिन भयो यार। पहिला यो पैसा लिईहाल त। आधी मात्रै छ अहिले। बाँकी एक-दुई महिना जति लाग्ला।“
"ठिक छ, ठिक छ। यति हतार नग-या भएपनि हुन्थ्यो। अलिकति पिऊने होईन त!” शेखरको लागि पनि ह्विस्की खनायो किरणजंगले।
"म नलिऊँ होला यार आज। अचेल बाऊले बेल्काको आरतीको जिम्मा दिएका छन्। मुख गन्हायो भने थाहा पाऊँछन् यार।" शेखर पन्छिन खोज्यो।
"अलि-अलिले केहि हुन्न। आइस कति रख्दिऊँ?”

शेखर पनि पिऊन थाल्यो।

"अनि तिम्रो हालखबर के छ त? कस्तो चल्दै छ त बिजिनेस?" शेखरले सोध्यो।
"खत्तम छ यार! प्लटिङ्ग बिक्नै गाह्रो भईराख्या’छ। पैसा टन्नै हालियो जग्गामा। अब शान्ति हुने हल्लाले गर्दा भाऊ पनि ल्वात्तै घट्यो! के को शान्ति, मा---हरु!” किरणजंगले एक आमाचकारी गाली ओकल्यो। “मदिशेहेर्ले आन्दोलन गर्लान् जस्तो छ रे, पहाडियाहरुलाई लखेट्न पनि थालिसके रे। त्यता हा-हू बढ्यो भने भाऊ बढ्छ फेरि। त्यो चाँडै भईदिए हुन्थ्यो।"
------------------------------------------------------------
"अब म लागें यार। आज धेरै नबसौं।" दुई प्याक तन्काएपछि शेखर उठ्यो।

नजिकैको एउटा किराना पसलमा शेखरले दश वटा भिक्स चक्लेट किन्यो। घर पुगुञ्जेलसम्म ऊ मकै चपाएजस्तै भिक्स चकलेट चपाऊँदै थियो।
जुन १४, २००९ (साँझ ६:५०)
नागोया, जापान

15 comments:

chudamani said...

वसन्तजी, आगो लागेको बेला आगोमा जल्नेहरूको ब्याथा आफ्नो होला आगोलागेको बेला फाईदा लिनेहरू पनि प्रशस्त हुन्छन | देशमा मात्र होइन घरमा या सानो पसलमा पनि | नेपाली सरकारी अफिसको जीवन्त साक्षीको रूपमा यो कथालाई लिन सकिन्छ | पोखरा बसेर नेपाल घुम्ने शेखरको ढाढसलाई राजन्द्रले दबाई गरिदिएछ | गजब लाग्यो | द्वन्द कालको बस्तु स्थितिलाई कथाले बिशेष समात्न खोजेको रहेछ | मलाई भने कथा मनपर्यो |

badri said...

बसन्तजी कथा एक्दम राम्रो छ । सत्य र मार्मिक छ । सरकारी अफिसमा हाकिम उपस्थित नभएर धेरै जना ले दु:ख पाइराखेका
छन अझै । अझ हाकिमहरु बिदामा नबसे पनि १० बजे आउनु पर्ने कार्यालयमा ढल्की ढल्की १२-१ बजे तिर आउछ्न । द्वन्दकालको बस्तु स्थिती लाई पनि कथाले समेटिएको छ, एक दम राम्रो कथा छ ।

Chaitanya said...

कथा संक्षिप्त तर सांकेतिक छ| तैपनि कथाले धेरै कुरा समेटेको छ| जनतालाई दुःख दिने काममा सरकारी र युद्धरत पक्ष दुबै उत्तिकै जिम्मेवार छन, नाम जनताको लिएर आफ्नो मनलागी गर्ने नराम्रो रोगले नेपाल ग्रस्त छ| सबैभन्दा बढ़ता दुःख राजेन्द्रको भाईको अबस्था प्रति लाग्यो |किरणजंगहरु त देशमा प्रलय भएपनि आनंदले बांचीरहेकै छन |

raj said...

hindi me likhte to padh pati....

दीपक जडित said...

'भन्नलाई भनेपनि एक हिसाबले आफ्नो चित्त नबुझेसम्म साहित्य लेख्ने ब्लगरहरुले ब्लगमा रचना पस्किंदैनन् भन्ने मेरो ठम्याई ।'

शिर्षक रुचाएर कथा पढ्न सुरु गरें । कथा रुचाएपछि शिर्षक अलि रुचि नभएको मससुस गरें मैले चैं - परिवर्तन हुने ठाम् छ भनेको ले ठोकेँ है यत्ति कुरा ।

Basanta said...

धन्यबाद चूडामणिजी, बद्रीजी, चैतन्यजी, rajजी, जडितजी!

जडितजी, मेरो मूल अनिर्णय पनि 'शिर्षक' मै हो। कथाको प्रस्तुतिलाई अझ तिक्खर पार्न एक-दुई सुहाऊँदा प्रसंगहरु थप्ने मन त छँदैछ तर शिर्षक के राख्ने भनेर धेरै सोचिरहेको छु। यो दुई-तीन वर्ष मनमै पाकिरहँदा "आफ्नै-आफ्नै धून" अथवा "दशैंको मुखमा" को नाममा पाकिरहेको थियो। केहि समय यता भने धेरै नामसंग खेलें मैले; "मध्यमवर्ग", "आलु", "राजेन्द्र, शेखर, किरणजंग", "शेखरको एक दिन" आदि-आदि। कथाको शिर्षकले विशेष गरी शेखर (र काठमाण्डौंको मध्यम वर्ग)को पलायनवादी-अवसरवादी चरित्रलाई दर्शाओस् भन्ने मेरो आशय थियो। अहिलेको शिर्षक अलि ब्यापक छ। कथा टाँस्नेनै भएपछि एउटा शिर्षक त चाहियो भनेर यसमा अडिएको हुँ केहि समय।

AsoC said...

एउटा यथार्थ छ, मुटु छुने कथा ...
पढ्दा पढ्दै पात्रमा रुपान्तरित भएँ ।

kshama said...

बहुतेही बढिया लिखत रहीन तुम बबुवा ...हमरे ब्लॉग वा पे स्वागत करी हैं ...एक ठो चक्कर लगाय बे करें... ...ham to impress huee gawaar...
गलतियाँ माफ़ करें!

Prajwol said...

दस्तखत भने धन्न तुरुन्तै पाएछन जस्तो छ !!

Basanta said...

धन्यबाद AsoC!

धन्यबाद kshamaजी! ब्लगमा स्वागत छ।

धन्यबाद प्रज्वलजी! त्यहि दस्तखत लिन चार दिनदेखि धाईरहेको थियो राजेन्द्र। कथा अन्तिम दिनको मात्रै हो।

Mukta said...

राम्रो लाग्यो, यथार्थपरक छ कथा।

विनय ‘नज़र’ said...

I understand it little but seems good...

कृष्णपक्ष उज्यालोको खोजिमा said...

मान्छे भन्ने जन्तु किन यति सारो स्वार्थी र लोभी पापी भएको होला?

Jotare Dhaiba said...

बच्ने ठाउँ कतै बाँकी छैन, आगो दनदनी छ जहाँतही छ । देशमा आफ्नै घरभित्रको गोलासँग लड्न ऊर्जा खर्चा गर्नुपरेपछी नेपालीहरूले कहाँबाट लगाउन् विश्वव्यापी छलाङ ?
संवादमा धेरै अल्झिएको कथाले मझौला मजा दियो, बिषयको गम्भीरता भने उम्दा छ ।

Basanta said...

धन्यबाद मुक्ताजी, 'नजर'जी, कृष्णपक्षजी, धाइबाजी!

धाइबाजी, टिप्पणीको लागि आभारी छु। पात्रहरुबारेको जानकारी उनीहरुकै मुखबाट निकाल्ने र आफू (लेखक) सकेसम्म 'साक्षी' को रुपमा मात्रै बस्ने कोशिश गरेका कारण सम्वादहरु धेरै हुनपुगे। भविष्यमा कथा लेख्दा तपाईँको सुझावलाई ध्यानमा राख्नेछु र सम्वादको बोझलाई बढी हुन दिनेछैन।।

Post a Comment