August 06, 2009

गाईजात्रे हाँसो!

Image Source:nowgasm

आज गाईजात्रा, तपाईँहरु सबैलाई गाईजात्रे शुभकामना!

गाईजात्रामा हाँस्ने र ब्यंग्य गर्ने चलन छ। हाम्रो देश सधैं गाईजात्रामै छ अचेल; स्थिति रुनु न हाँस्नुको छ। यो स्थितिमा लान 'योगदान' दिने, हामीलाई अहिलेसम्म शाशन गर्नेहरुका नाममा सराप्न मन लाग्छ हाँस्नुभन्दा पनि।

खैर, आज हाँसौं। कुनै पनि बहानामा दिल खोलेर हाँस्नु साह्रै राम्रो मानिन्छ। हाँस्नु शारीरिक, मानसिक र आत्मिक तिनै तहको लागि फाईदाजनक छ भन्छन् जान्नेहरु।

केहि विशेष लेख्न नसकेकोले स्मृतिको पेटारोबाट केहि जोकहरु राख्दैछु आज; कतै सुनेका, कतै पढेका। दुई वर्ष पहिलाको गाईजात्रमा लेखेको कुरा यहाँ पढ्न सक्नुहुन्छ

पाँच शब्दको झूट

'हमजाएगा' को साथी (सय रपियाँको नोट देखाऊँदै): तैंले तुरुन्तै ठ्याक्कै पाँच शब्दमा झूट बोलिस् भने यो नोट तेरो।
'हमजाएगा' (नोट तान्दै): "यो दश रुपियाँको नोट हो।"

गरीबको बयान

एउटा असाध्यै धनीकी छोरीलाई गरीबको बारेमा केहि कुरा लेख्न भनियो। उसको लेख यस्तो थियो, "एउटा गरीब थियो, उसको भान्से पनि गरीब थियो, उसका नोकरहरु पनि गरीब थिए, उसको ड्राईभर पनि गरीब थियो, उसको माली पनि गरीब थियो, ---------- "

परीकथाहरु

छोरी: बाबा, बाबा; सबै परीकथाहरु "एकादेशमा---" बाट शुरु हुन्छन् हो?
बाबु: होईन छोरी, धेरै परीकथाहरु "मैले चुनाव जितें भने---" बाट पनि शुरु हुन्छन्।

अल्छी देश

एउटा देशलाई हाम्रो नेपाललाई जस्तै 'अल्छी रोग' लागेछ। कुरो के भने देशभरिका सबैका सबै मान्छे असाध्यै अल्छी भएछन्। यो रोग जनावरहरुमा पनि सल्केछ। कतिसम्म सल्केछ भने कुखुराका भालेहरु समेत बिहान "कुखुरी---काँ---!" गर्न अल्छी मान्न थालेछन्। सबै भालेहरु, कतिखेर अरु कुनै भालेले "कुखुरी---काँ---!" गर्ला र टाउको हल्लाएर 'हो! हो!!' को सहि थापौंला भनेर कुर्न थालेछन्। अब परेन फसाद!

यो देखेर त्यो देशको राजालाई साह्रै झोंक चलेछ। आच्या! देशाँ 'गाँडतन्तर' आईसक्या बेलाँ पनि मेरो मुखाँचैं अझै यो राजा किन आम्छ गाँठे:) त्यो देशको राष्ट्रपतिलाई साह्रै झोंक चलेछ। राष्ट्रपतिले देशभरि 'अल्छी प्रतियोगिता' आयोजना गर्ने उर्दी दिएछन्। गाऊँ-गाऊँ र नगर-नगरका विजेताहरु जिल्लास्तरीयमा भिड्ने भए। त्यसमा अरुलाई उछिन्नेहरु अञ्चलस्तरीयमा भिडे। र अन्त्यमा देशभरिका अल्छीहरु मध्येका महाअल्छीहरु, 'टप क्रिम'नै भन्दिऊँन; तिनीहरुको बीचमा राष्ट्रिय भिडन्त हुनेभएछ।

महाअल्छीहरुको राष्ट्रिय प्रतियोगिता शुरु भयो। एउटा थोत्रो घरको बुईँगलमा सबैलाई राखियो र ढोका बन्द गरियो। अल्छीज्यूहरु त तुरुन्तै सबै सुकला गर्नुभयो! अनि राष्ट्रपतिले त्यो घरमा आगो लगाउने आदेश दिए। घर हुर्हुरी बल्न थालेपछि महाअल्छीहरु सब जुर्मुराएर उठे। अब जति अल्छी भएपनि ज्यानमाथि खतरा आऊँदा त सबै जाँगरिला हुने भैहाले। कोहि झ्यालबाटै हाम्फालेर भागे, कोहि ढोकै फोडेर निक्ले।

दुईटा अल्छी पातकीहरु भने निक्लेनछन्। पहिलोले अर्कोलाई कोट्याएर भन्दो रहेछ; "होईन ए भाई, आगो लाग्यो भनेर कराऊँछन् नि बाहिर त!"। दोश्रोले जवाफ दिँदो रहेछ, "कति बोल्ने जाँगर चल्या होला, चूप लागेर सुत्!"। राष्ट्रिय अल्छी प्रतियोगिताको विजेता "कति बोल्ने जाँगर चल्या होला, चूप लागेर सुत्!" भन्ने चाहिँ र उप-विजेता "होईन ए भाई, आगो लाग्यो भनेर कराऊँछन् नि बाहिर त!" भन्ने घोषित भएछन्। पुरस्कार स्वरुप दुबैलाई जंगलको छेऊको एउटा सूनसान, मान्छे विरलै हिँड्ने बाटोमा लगेर छोडिएछ।

एक दिन ती दुईटा झगडा गर्दै रहेछन्।
पहिलो: तँ पनि के साथी?! त्यो बयरको बोटमा त्यस्तरी लटरम्म बयर फलेका छन्, दुई-चारवटा टिपेर मेरो मुखमा राख्दिन्छस् कहिल्यै? यस्ता पनि साथी हुन्छन्?"
दोश्रो: तँ झन् के साथी नि? हिजो एउटा कुकुरले मेरो मुखैमा पिसाब फेर्दिँदा त्यति जाबो कुकुर त धपाईदिनस्!

संयोगवश एक जना बटुवा हिँड्दै रहेछन् त्यतिखेर। दया लागेर बयर टिपेर दुबैका मुखमा हाल्दिएछन् र आफ्नो बाटो लागेछन्।

उनी अलि परे के पुगेका थिए, दुईटै अल्छी कराएछन्; "ए हजुर! बयर मुखमा हाल्दिनुभयो, अब दया गरेर मुखबाट बियाँ निकालेर फ्याँक्दिनुस् न!"

अब अन्त्यमा ओशोको कुनै प्रवचनमा पढेको यो जोक। हाँस्नु राम्रो हो; मूल्ला नसरुद्दीनझैं आफैंमाथि, आफ्नो नियतिमाथि हाँस्न सक्नु झन् राम्रो।

उहिले र अहिले

मूल्ला नसरुद्दीन र उनकी बेगमको बिहे भएको पचास वर्ष पुगेछ। यो खुशीको अवसरलाई उनीहरुले दोश्रो हनीमूनको रुपमा मनाउने निधो गरेछन् र उनीहरु हनीमूनको बेलामा जस्तै स्विट्जरल्याण्ड जाने भएछन्। हनीमूनकै बेलाको होटलमा बस्ने भए उनीहरु र भाग्यवश उहि कोठा पनि मिलेछ। भित्र पस्दा देखे, कोठा ठ्याक्कै उस्तै छ, पर्दा, तन्ना सबै उस्तै छ। छक्क परेछन् उनीहरु!

"हेर शबनम", एकछिन पछि मूल्ला बोलेछन्, "अल्लाहको कृपाले सप्पै पचास वर्ष पहिलाको हनीमूनको दिनको जस्तै मिलेको छ। त्यसैले हामी पनि आज त्यो दिनका सबै कुरा दोहोर्याऊँ है। त्यो दिन तिमी घुम्टोले मुख छोपेर बेडको ऊ त्यो कुनामा टाउको झुकाएर बसेकी थियौ। म पिसाब फेर्न गएको थिएँ, अनि आएर बिस्तारै तिम्रो घुम्टो उठाएको थिएँ---"

मूल्ला ट्वाईलेट भित्र पसे।

एकछिनमा मूल्लाको अट्टहास सुनियो। बाहिर निस्कुञ्जेलसम्म पनि अट्टहास जारी थियो।

"मूल्ला, त्यो बेलामा म नयाँ दुलही थिएँ; लाज लागेर सोध्न सकेकी थिईँन। आज भने सोध्छु।" शबनमले भनिन्, "तिमी सुहागरातको त्यो दिन पनि यसैगरी हाँसेका थियौ, आज पनि हाँस्यौ। किन?"

"अब तिमीलाई के बताऊँ शबनम!" मूल्ला अझै हाँस्दै थिए, "त्यो दिन मैले पिसाब फेर्दा सिलिङ्ग भिजेको थियो र हाँसेको थिएँ, आज जुत्ता भिज्यो र हाँस्दैछु।"
------------------------------
सबैको जय होस्!

22 comments:

आकार said...

hahahahaha

राजेश बुढाथोकी | अनलाइन खसखस said...

Mind blOwing

एकल यात्री said...

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

Anonymous said...

pheri ek thoti phedi ko yad aayo.basnta sir

Sujan Sharma said...

Excellent! :-)
Really enjoyed reading this post! Happy Gaijatra!!

Umesh Gajurel said...

ha ha ha ah ah aha ah aha ha ha ah ah ha aha nahahaha hahahaha hahahahahahahaahahahahahaha
Happy Gaijatra

keshav kharel said...

hahahaaaaaaaaaaa,
thanks basanta ji,
happy gaijatra.

Prajwol said...

LOL..you made my day..LOL

gayetri said...

हाहाहाहाहा~~~~~~~~~~~~~~~~~~ मुल्लाको जोकले त साँच्चिकै पेट मिचिमिचि हाँस्न मन लाग्यो।

B.J. Dummali said...

लौ मार्‍यो, हाहाहाहाहा

दूर्जेय चेतना said...

हिजो लन्चआवरमा सबै पढेको थिए, साह्रै रमाईलो लाग्यो। गाईजात्रा चाही बेस्करीनै मनाईयो है बसन्तजी। त्यो अल्छी देश ले त मर्नु सम्म हसायोँ हा हा हा। धन्यबाद है धन्यबाद

wordflows said...

ha ha funny jokes

Dilip Acharya said...

देशको राजनीतिमा सधैं गाईजात्रा भएपनि ब्लग-जात्रा भने यसपाला रमाईलै भयो ।

अन्तिम जोक यादगार छ !!!

सूर्य/सिकारु said...

हा हा हा हा । रमाइलो गाइजात्रा मनाइयो ब्लगरहरुले पनि बसन्त जी को घरबाट । रमाइला कथाहरु ।

Generation Activity....Fact Behind it said...

sarai ramro lagyo basanta dai yo hajur ko taso

बेदनाथ पुलामी ( उमेश ) said...

बसन्त जी !
गाइजात्रे हासोमा - पिक्चर पनी निकै गजब को राख्नु भएको रहेछ !
....जेहोस धेरै थोकको पीडाले थिचिएका नेपाली जनताको मनमा एकै दिन भए पनी ... हासो ल्याओस गाइजात्रे जात्रा ले ... र राजनैतिक जात्राहरु को अन्त्य भए हुनेथ्यो |
म त ५ शब्द को झूट देखिने हास्न थालेको थिए ... अझ लास्ट को त झन लास्टै भो (हासउठ्दो भो )!

कृष्णपक्ष उज्यालोको खोजिमा said...

त्यो मुल्लाको बुद्दी पनि मुला जस्तै रैच, शीलिंग भिज्दा त हास्यो हास्यो, जुत्ता भिज्दा त अब बुढो भैचु भनेर चुप लाग्नु पर्च नि ~~
...

सबै टासो गज़ब छन .
जय गाइजात्रा !

chudamani said...

लौ गजब लाग्यो | तापईंको मौलिकता फेरि भिन्दै स्वादको छ | अन्त्यमा कृष्णपक्षको कमेन्टले पनि पो हँसायो त फेरि |

Jotare Dhaiba said...

गाईजात्राको कोसेली गाईजात्राको तिथि सकिएपछि पनि असरदार रह्यो । अल्छेहरुको लीला भने अपरम्पार रहेछ ।
हमजाएगाको तिकडम पनि गजब रहेछ । एक से एक लागे कथाहरू ।

ढिलै भए पनि गाईजात्राको शुभ कामना !

हावा De Wind said...

अली ढिला आए हस्ने बेला छदैछ छ कि सकियो बसन्त ब्रो ? हेहेहे ... एउटा कुरा, त्यो अल्छि देश भन्ने सिर्शक चाँही राम्रो तर चुदकिला धेरै लामो भो.. बाँकी तपाईंको पनि जय होस्

Milan said...

त्यो अल्छीको पिस चाहिँ मलाई लागु भए जस्तो छ ... पढ्न त अल्छी भएँ भएँ कमेन्ट गर्न पनि सारै पो अल्छी भए छु |

रमाईला जोकहरुको लागि धन्यबाद | अन्तिम ननभेज पिसले चाहिँ अझ बढी फ्रेस बनायो |

Basanta said...

पढिदिनुभएकोमा सबैलाई गाईजात्रे धन्यबाद, हाँसेपनि नहाँसेपनि:)

फेदीको याद दिलाउने Anonymous साथीले आफ्नो नाम पनि लेखिदिएको भए खुशी हुने थिएँ, अनुमानमा केहि नाम छन्, ठ्याक्कै तोक्न गाह्रो भयो। नभए, एक राउण्ड इ-मेल भएपनि पाऊँ।

Post a Comment