August 01, 2009

गुँड

जुनको आधा-आधीतिरको कुनै घमाइलो दिन थियो, बिदाको दिन हुनाले म अलि ढिला उठेको थिएँ। बाहिर बरण्डामा एकजोडी परेवा थिए। यता परेवा धेरै देखिएपनि आफ्नै बरण्डामा अहिलेसम्म देखेको थिईँन।

एक-दुई दिनपछि अड्डा जाँदै गर्दा बाटोको एउटा घर बाहिर एकजना जापानी बृद्ध आफ्नो एक हातमा एउटा परेवा राखेर अर्को हातमा रहेको चारा खुवाईरहेका थिए। मलाई पनि त्यस्तै गर्ने रहर जाग्यो तर मलाई थाहा थियो मेरो बरण्डामा आउने परेवाहरु त्यसरी सजिलै मेरो हातमा आउनेछैनन् किनभने त्यस्तो हुनका लागि परेवासंग गहिरो आत्मीयता बनिसकेको हुनुपर्छ। भोलिपल्ट बरण्डामा अलिकति चामल छरिदिएँ मैले। त्यसपछि हरेक दिन बिहान अलिअलि चामल छरिरहेछु परेवाका लागि। चामल छरेपछि ह्वार्र्--- आउने परेवाको बथान देखेपछि मन साँच्चिनै शान्त हुन्छ।

एक दिन देखें एउटा परेवा कतैबाट ल्याएको सिन्का मुखले च्यापेर बरण्डामा बसिरहेको थियो। "गुँड बनाउँदै छ जस्तो छ!" भन्ने आयो मनमा, कता बनाऊँदैछ भनेर खोजिन । जुन २२ को बिहान परेवा बरण्डाको एक छेऊमा रहेको एअर-कण्डिशनर यूनिटमा छेलिएर बसिरहेको देखें। पहिला पनि देखेको थिएं र चारो खोजिरहेको होला भनेर त्यति वास्ता गरेको थिईँन। हेरेको, परेवाले गुँड बनाईसकेछ। बेलुका फर्केर आएपछि फेरि हेरेको, एउटा फुल थपिएछ दिऊँसो। त्यसको भोलिपल्ट हेर्दा दुईटा फुल थिए। परेवा फुल कुरेर बसिरहेको थियो र म नजिक गएपछि भुर्र--- उडेर नजिकको बिजुलीको तारमा गएर बस्यो। यो अवश्थाको परेवालाई ब्यबधान खडा गर्नु उचित नलागेर फोटो लिनेतिर लागिँन। साँझ भने नजिकै गएर हेर्दा पनि परेवा भागेन।




परेवा र परेवाको गुँडले बाल्यकालको एउटा घटनाको याद गाढा भएर आयो। हाम्रो घरको बाँसको दलिनमा कुमालकोटीले गुँड बनाएको थियो। म त्यतिखेर २ कि ३ मा पढ्थें। एक दिन दिऊँसो मैले कुमालकोटीको गुँड लठ्ठीले घोचेर भत्काईदिएँ। राती धेरै बेरसम्म कुमालकोटी भुन्भुनाएर आफ्नो घर भएको ठाऊँमा रोईरहेको थियो। मलाई साह्रै पछुतो लागेको थियो त्यतिबेलै। तर म कुमालकोटीलाई तुरुन्तै घर बनाएर दिन सक्दिंनथे! कुमालकोटीको कति समयदेखिको श्रम र सपनालाई मैले एक निमेषमा ध्वस्त बनाईदिएको थिएँ। मेरो छुकछुके बाल्यकालमा घटेको त्यो घटनाको लागि म आजसम्म पनि पछुताईरहेछु। तपाईँलाई पत्यार नलाग्न सक्छ तर हरेक दिन एक पटक र कहिलेकाहीँ त धेरै पटक त्यो घटना मेरो मनमा आएकै हुन्छ, मलाई पश्चातापले गलाएकै हुन्छ।

सानो होस् या ठूलो, हरेक जीवको गुँड उसका सपनाहरुले बनेको हुन्छ, उसले तिनै सपनाहरुका भित्तामा अडेस लगाएर, सपनाहरुमाथि सुतेर र सपनाहरुमाथि नाचेर आफूलाई सुरक्षित ठानेको हुन्छ। आफ्नो जीवनलाई भविष्यसम्म तन्काउन र आफ्ना अधूरा सपनाहरु प्रक्षेपण गर्नका लागि नयाँ पुस्ता पनि उसले त्यहि गुँडमा हुर्काऊँछ। त्यस्तो त्यो गुँड भत्कँदा कोहि किन नरोओस्!

हाम्रो मनमा कुमालकोटीको छवि कुनै हानी नगर्ने सुधो जीवको भएर पनि होला, त्यो घटनाले ममा यस्तरी छाप छोडेको। नत्र त जानीजानी घर नजिकका अरिंगाल वा बारुलाका गोलामा आगो लगाऊँदा वा स्प्रे हानेर साङ्गला संहार गर्दा कहिल्यै पछुतो लागेन। जिन्दगीमा जानी-नजानी अरु कति स-साना जीवको पनि गुँड भत्काईन्छ होला।

अब लागौं परेवातिरै। परेवा धेरै दिनसम्म फुललाई ढाकेर बसेको देखिन्थ्यो। हामी परेवाको नजिकै पर्नेगरी चारा छर्दिन्थ्यौं। हामीले छोरीलाई भने देखाएनौं, लठ्ठीले घोचेर परेवालाई सास्ती देली फेरि भनेर। जुलाई ८ सम्म पनि परेवा फुललाई ढाकेर बसिरहेको थियो, त्यसपछि केहि दिन त्यति ध्यान गएन।

जुलाई १४ को साँझ परेवा नभएको मौकामा हेर्दा भने एउटा बच्चा र एउटा फुल देखियो। बच्चा झुसिलो देखिन्थ्यो, एक-दुई दिनको भईसकेको हुनुपर्छ। एउटा मात्रै बच्चा कोरलिएको (?) देख्दा अचम्म लाग्यो। परेवाको जीवन-चक्र/प्रजनन चक्रका बरेमा मसंग खासै ज्ञान छैन। समय निकालेर अलि-अलि यसबारेमा पढ्नुपर्ला जस्तो लागेको थियो, त्यो 'समय' खासै धेरै जुरेन। जति पढियो तिनको आधारमा बुझ्दा, परेवाले सामन्यतया दुईटा फुल पार्ने रहेछ। दुईटा फुलबाट केहि दिनको अन्तरमा चल्ला निक्लने रहेछन् कि कुन्नि, त्यो कुरो भने बुझिएन।


यस्तै फुलको सुरक्षा गर्न र चल्ला (?)हुर्काउन भाले-पोथी दुबै लाग्छन् रे। त्यसकारण मैले हरेक दिन देख्ने फुल छोपेर बसेको परेवा पोथिमात्रै नभएर भाले वा पोथी कुनै पनि हुन सक्थ्यो। भाले र पोथीको शारीरिक बनौटमा हुने फरक पनि अलि-अलि पढेको हुँ तर त्यतिका भरमा खुट्याउन सकिँन।

जुलाई १९ मा यस्तो भएको छ परेवाको त्यो बच्चा वा चल्ला, जे भनिन्छ। माउको रंगमा ढल्दै आएको देखिन्छ। साँझ-बिहान हामीले हेर्दा माऊ भने देखिएको थिएन।



एउटा फुल भने अझै जस्ताको तस्तै छ। त्यो फुल पूरै विकसित नभएकोले बच्चा ननिक्लिएको होला शायद।

त्यसपछि पनि हरेक दिन बिहान र साँझ घर फर्केपछि परेवाको बच्चा हेर्ने काम नियमितनै रह्यो। हामीले हेर्दा माऊ नदेखिएपनि बिहान सबेरै भने पखेटा फडफडाएको आवाज सुनिन्थ्यो, त्यस्तै रात परेपछि परेवा घुरेको र बच्चो चीं--चीं गरेको सुनिन्थ्यो। त्यसैले रातभरि पक्का पनि माऊ पनि हुन्थ्यो होला। दिऊँसो हामी नहुँदा पनि चारा बोकेर आऊँथ्यो होला।

जुलाई २५को यो फोटोमा त वयस्क परेवाजस्तै देखिएको छ र गुँडभित्रै ठाऊँ सरेर बस्न थालेको देखिन्छ।



जुलाई २९ मा नजिकैको ब्लकमाथि चढेर बसेको छ। साहसिक यात्राको पहिलो प्रयास होला यो उस्को! जुलाई ३१ मा हेर्दा फेरि पहिलेकै ठाऊँमा देखिन्छ। अब त टाउको पनि पूरै कालो भईसकेछ।




यो लेखिरहँदा, एक छिन पहिला एक पटक हेर्न पुगेको थिएँ। माऊ-बच्चा भलाकुसारी गर्दै थिए। मैले झ्याल खोल्दाको आवाजले गर्दा माऊ भुर्र्---- उड्यो। बच्चो अँध्यारो ठाऊँमा थियो, राम्रो फोटो खिच्न सकिएन। रंग-ढंग र बसाई पूरै माऊको जस्तो थियो र तुरुन्तै उड्ला जस्तो लाग्थ्यो।

आजभोलिनै उड्ला शायद। यसरी परेवाको एउटा पुस्ता हुर्काउने काम सफलतापूर्वक सम्पन्न हुनेछ।

परेवाले एकचोटि बनाएको आफ्नो गुँडलाई के गर्छ, मलाई थाहा छैन; तर हाम्रो गुँडको एक छेऊमा खडा यो गुँडको भविष्य भने अब उसको वशमा छैन।

'भत्काईने हुँदा यो घर छोड्न' भनेर हामीलाई धेरै पहिला सूचना आईसकेको छ। यो घर केहि वर्षभित्र भत्काईनेछ भन्ने कुरा हामीलाई यहाँ पस्नुभन्दा पहिल्यै भनिएको थियो। हामीले सोचेका थियौं हामी जापान बसुञ्जेल भने नभत्काईएला। यो स्थितिमा पाउनुपर्ने सुविधा, निश्चित अवधिको पैसा फिर्ता आदिको कुरा भईसकेको छ, त्यता समस्या छैन। तर नयाँ घर-नयाँ गुँड खोज्नु एउटा झञ्झट हो र पोका-पन्तरा सार्नु झन् महाझञ्झट! तर गुँडविना जिन्दगी चल्दैन!

हामी नयाँ गुँडमा जाऊँला, परेवाले नयाँ गुँड बनाऊलान्।

आ-आफ्ना गुँडमा हामी आ-आफ्ना सपनाहरुमा अडेस लगाएर र आ-आफ्ना सपनाहरुसंग नाचेर आ-आफ्ना जिन्दगी बिताऊनेछौं।

कसैले एउटैमा जिन्दगी कटाऊलान्, कसैको जिन्दगी धेरैमा बाँडिएर कट्ला; तर जिन्दगी भनेको गुँड हो, सिर्फ गुँड, टाउको लुकाउने गुँड।

18 comments:

N K M said...

Nice!

We also have some parewa family in our house. It reminds me those events...

Once they can fly, they will not return to it.
:(

दीपक जडित said...

अहो ! कति स्याहारले परेवाको पारिवारिक चर्या सचित्र उल्लेख गर्नुभएको ! अब त्यो बचेरा उडेपछि तिनिहरुलाई त्यो गुँडको अर्थ , महत्व रहँदैन तर त्यो घर त्यो बचेरा उडेर गुँड छोड्नु अघि नै भत्काईने टुँगो लागीसकेको हो र ? त्यसो हो भने चैं त्यो बचेराको विचल्ली हुने भो ।

अनि जीन्दगी भनेको गुँड हो भन्नेकुरामा चैं म ठ्याक्क उल्टो छु क्या र !

B.J. Dummali said...

बसन्त जी म त तपाईंको मेहनत देखी अवाक भएँ, अण्डा देखी शुरु गरेर उड्न लाग्दा सम्मको प्रस्तुती अनि तपाईंको लेखहरु साह्रै गजबको छन। म सधै तपाईको ब्लगमा छिर्दा नयाँ नयाँ प्रस्तुती पाउँछु खुशी लग्छ।

wordflows said...

परेवा सङ्ग त मेरो पनि बल्यकाल बितेको छ। परेवामा लक्का चै मलै खुबै मन पर्छ। परेवा सङ जोदेर लेख्नुभयेको टासो मलाइ निकै राम्रो लाग्यो।

Jotare Dhaiba said...

कति सामान्य कुरा, तर कति गहन दर्शन लुकेको ।
म त हेर्‍याहेर्‍यै भएँ । तस्बिरले पनि करप्प समात्यो, मेरो आफ्नै बाल्यकाल पनि यही झुसिलो रौँ सँगै उम्रिएर आयो ।

खासमा गुँड र गुँडकै खोजीमा हाम्रो जीवन जीवनहीन भएर लरबराइरहन्छ । गुँडको यात्रा, तर गुँडहीन ।

दूर्जेय चेतना said...

तपाईको यो लेखले मेरो मन छोयो। कथा परेवाको होला, कथा परेवाको जीबनचक्रहोला तर त्यसको गहन दर्शनले मेरो मन पग्लियो। पक्कै पनि हाम्रो आ-आफ्नो गुडँ संग आ-आफ्नो सपना जोडिएको हुन्छ। वाह।।।।

Sujan Sharma said...

यति सुन्दर टाँसो को लागी धन्यबाद!!

प्रबिण थापा said...

साच्चै हेर्दा सामान्य र सधैं देखिरहेको बिषय बस्तु जस्तो लागे पनि कति सरल र मन छुने तरिकाले प्रस्तुत गर्नु भएको छ । वाह! बशन्त जि को मिहेनतलाइ चाहि मान्नु पर्छ, सुन्दर प्रस्तुती।

Shiva Prakash said...

साच्चै भन्ने हो भने वसन्तजी
शब्दहरु सबल छन् तर तस्वीरहरु शब्दभन्दा नि सजीव लागे ।

Dilip Acharya said...

यो पढ्दै गर्दा मेरो मनमा पनि धेरै कुराहरु आए । केही वाल्यकालका स्मृति, केही आफैले २-४ पटक गुँड सर्दाको झझल्को र केही भनै भविश्‍यमा सार्नु पर्ने बासको कल्पना ।

अक्षरहरुले नखोलेका धेरै कुराहरु तस्विरले बोलेको छ भने कति शब्दहरुले मानसपटलमा गहिरो चित्र कोर्ने सामर्थ्य पनि राखेका छन !

कमेण्ट लेख्‍नैको लागि लेखेको हैन, मलाई भने यो पोष्टले भित्रै सम्म छोयो !

Khet Raj Mainali said...

साह्रै मन छुने रहेछ ।

हावा De Wind said...

हामी त केटाकेटी मा परेवा को बच्चा पोलेर खान्थ्यौ...सरी है बसन्त ब्रो चित्त दुखाएकोमा.. हेहेहे

badri said...

very intresting

DEEPENDRA said...

Really nice and refreshing post Basant ji! I found my own life mirrored in most of the events written in the write-up. Your observational story has indeed touched my heart. This post reminds me these lines: "The Cloud Moves On and So Does Life".

Arati Lohorung said...

कुमल कोटिको कथा साह्रै मार्मिक लाग्यो । राम्रो कथाको लागि धन्यवाद ।

Basanta said...

प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद!
परेवाको यो परिवारले मेरो मनमा एउटा गाढा छाप छोडेको छ। एउटा आध्यात्मिक अनुभूति भएको छ मेरा लागि यो, आफ्नै छोरी जन्मिदाको जस्तै।
यो निबन्ध लेखेपछिका घटनाहरुको बारेमा पनि कुनै दिन सानो टाँसो लेख्ने मन छ।

Chaitanya said...

एकदिन क्यास्टल वरपर घुम्दै थिएँ | बचेरालाई पनि यता उता उड्न, होश गर्न सिकाउंदै थिएँ | यो ठाउँमा हाम्रा सजातीयहरु प्रशस्त हुने भएकोले र चाक्लो भएकोले पनि निकै रमाइलो हुने गर्छ | उसै त हामी सबैलाई पुरानो काठको गन्ध खूब मनपर्छ | एउटा चलाख प्राणी मेचमा बसेर केहि पातलो सेतो पात जस्तै बस्तु हेरिरहेको थियो | केहि खाँदै पनि थियो | मलाई चाराको तल्तली भयो | त्यो प्राणीले त्यो बस्तु त्यहीं छोडेर उठेर गयो | भुलेको होला कि?
म पनि दलानबाट भुर्र उडेर मेचमा गएँ |यता उता हेरें | केहि स-साना दाना पाएँ पनि, उसैले छोडेको होला या अरुले नै | बचेरोलाई पनि बोलाएँ |चारा भेट्ने सुरमा त्यो बस्तुलाइ नंग्राले पन्छाउदै थिएँ, अजीबको कुरा भयो | बचेरोले पनि छक्क परेर हेर्यो | किर्मिर धर्का र सेतो फुल | झिंझा सिन्का र गुंड | दुरुस्तै, मेरो जस्तै | एकछिन तर्सें | बचेरा अघिल्तिरै छ | चिरबिर गरें | फेरि हेरें | किर्मिर किर्मिर र बचेरो | आबुई ! बचेरोलाई फेरि हेरें | चिरबिर गर्यो उसले पनि |मलाई चाराको तल्तली हरायो | डर लगेर आयो | फेरि हेरें | अझै छ | किर्मिर किर्मिर अनि मेरो हुर्केको बचेराजस्तै....| अरु सजातीहरुतिर हेरें | सबै ठीकै छन् | केहि खतरा छैन | चुच्चोले फुलमा ठुँगेर हेरें | फरक छ | त्यसरी नै सबै कुरामा ठुंगे | उही त होइन ! हेर्दा उस्तै छ | तैपनि अनौठो लाग्यो |
मैले गुंड बनाएदेखिको सबै कुरा सम्झें | भित्रतिर बस्ने तीन प्राणीहरुलाई पनि सम्झें | एउटा उफ्रंदै चल्ने सानो प्राणी र दुइटा लचक लचक गर्दै चल्ने ठूला प्राणीहरु | बहुतै सुधा जीव ! तिनले हाम्रो कहिल्यै कुनै बिगार गरेनन् |हाम्रो दिनचर्यामा कुनै हस्तक्षेप गरेनन् | देख्न त देखे होलान नै, तर देखे झैं मतलब गरेनन् | घाम पानी हाबा हुरी कुनै चिन्ता नभै आनन्दले हुर्काईयो यो बचेरालाई !
म कल्पनामा डुबेछु | बचेरोले चाराको रहर गर्दै चिर्र गर्यो | फेरि एकपल्ट त्यो बस्तुमा हेरें | अकस्मात एउटा विचार आयो | यता उता हेरें | कोही खतरा प्राणी देखिन र चुच्चोले त्यो बस्तु टिपेर भुर्र उडें | दलानको कापमा घुसारें र बचेरासंगै चाराको खोजीमा घुमें |
-परेवा

Basanta said...

धन्यबाद चैतन्यजी! क्या गज्जबसंग परेवाको मनमै पसे जस्तो गरेर लेखिदिनुभयो गाँठे! आशा गर्छु परेवाको मनमा हाम्रो छवि तपाईँले देखाएजस्तै बनेको होस्।

Post a Comment

Related Posts with Thumbnails