July 08, 2009

कथाजस्तै सत्यकथा

यो मेरो मौलिक रचना हैन, समयको रचना हो। यो कथा मैले लेखेको हैन, देखेको हो। यो कथा मैले रोजेको हैन, भोगेको हो। यो मैले लेख्न चाहेको कथा पनि हैन, बाध्य भएर लेखिएको कथा हो।

एउटा ज्यामी (रामकिस्ने वा रामकिशन वा रामप्यारी वा रामदुलारी कुनै एक नाम दिनुस्।) कामबाट छुटेर घर फर्किरहेछ। ऊ लखतरान छ दिनभरिको कामपछि। अक्सर ऊ एक्लै हुन्छ घर फर्किँदा। एउटा घना जंगलको बाटो हुँदै फर्किनुपर्छ उसले। उसै त जंगल, झन अचेल हिंस्रक जन्तुहरु थपिएका छन् रे! त्यसैले ऊ सधैं सकेसम्म उज्यालैमा त्यो जंगल काटिसक्छ, जसरी भएपनि।

तर आज कामबाट निस्कन साह्रै ढिला भएछ। ऊ डराई-डराई हिँडिरहेछ, सासै रोकेर हिडिरहेछ। कतैबाट बाघ-भालु निक्लेला र झम्टेला भन्ने डरले ऊ त्यसै पनि अधमरो भईसकेको छ।

एक छिनमा उसको डर साकार उभिन्छ अचानक उसको अघिल्तिर! संसार हल्लाउने गर्जन सुन्छ ऊ र देख्छ दुईटा बल्डेंग्रा आँखाहरु उसलाई ताकिरहेछन्! विशाल बाघ उसको बाटो छेकेर उभिएको छ।

अब रामकिस्नेले के नै गर्नसक्छ र अरु? ऊ आफैंलाई बिर्सेर कुद्न थाल्छ। ऊ यसरी कुद्छ कि (अचम्म छ, आपत परेपछि मान्छेमा कस्तो शक्ति आउँदो रहेछ!) गर्जिँदै दौडिरहेको बाघले पनि उस्लाई भेट्न सक्दैन।

यसरी घना जंगलमा बाघसंग छलिन वेपर्वाह दौडिदा-दौडिदै अचानक स्वर्ग भेट्छ उस्ले। जंगलको बीचमा एउटा सानो झुप्रो रहेछ! कतै केहि नसोची ऊ सोझै झुप्रोभित्र पस्छ र ढोका लगाउँछ। बाहिर पिँढीमा आएर बाघ घुरेको सुन्छ रामकिस्नेले, तर आफू बाँचेकोमा ढुक्क भइसकेको छ ऊ अब!

यस्तै झुप्रोमा जन्मेर, झुप्रोमा हुर्केर, झुप्रैमा बूढो हुन आँटेको रामकिस्ने यो झुप्रोसंगपनि परिचितनै छ भने हुन्छ। मेरो मतलब झुप्रोमा कहाँ के छ भनेर उ अँध्यारैमा पनि ठम्याउन सक्छ। ढोकाको एकापट्टि छामछुम पारेपछि उसले खोपा भेट्छ। टुकी छ त्यहाँ। आफूसंग बाँकी रहेको एक काँटी सलाई कोरेर ऊ टुकी बाल्छ र पुनर्जन्मको खुशीमा लामो सास लिन भनेर टाउको उठाउँछ।

तर पख्नुस्! खुशी नहुनुस्! रामकिस्नेले लामो सुस्केरा हाल्न पाउँदैन। टुकीको उज्यालोमा ऊ देख्छ, उसको अगाडि एउटा गोमन फुलेर बसिरहेको छ, आक्रमणको पूरा तयारीमा!

बाघबाट जोगिएको रामकिस्ने साँपको गुँडमा पुगेको छ!

मैले भनिरहनु पर्छ र रामकिस्ने भनेको नेपाली जनता हो भनेर?!

तर यो कथा किन दोहोरिईरहेछ हरेक पुस्ता-दरपुस्तामा?

किन हाम्रो रात सकिएर दिन आउँदैन? किन हाम्रो रात अनन्त छ ?

Image Source, Click Here


(जुन ५, २००७ मा साझामा राखिएको टाँसो, केहि परिमार्जन सहित)

22 comments:

उमेश गजुरेल said...

हामी नेपाली केा बानी सारै खराब छ, जे पर्ला देखा जाएगा भन्दै जे पायेा त्यही गर्छ, सायद यसैकेा परीमाण हेा,

D DUS JI said...

एउटै कुरा मा लीडे ढीपी केा कारण सबैले हेप्ने माध्यम बन्येा ........................................

बेदनाथ पुलामी ( उमेश ) said...

हो साची एउटा काल बाट फुत्केर अर्को काल को मुखमा पर्याछन नेपाली जनताहरू ! अनि कथा जस्तै रहेको छ यो सत्य कथा -कम छैन |

कृष्णपक्ष उज्यालोको खोजिमा said...

नेपालीको भागमा परेको यो असुरक्षा,
भय र मृत्यु --कस्तो अनिश्चित, कति डरलाग्दो?

अनेकौं रुप रंग र प्रकृतिमा यस्तै त्रासहरू खेपिरहेछन
र मृत्युको मुखमा धकेलिइ रहेछन नेपालीहरू।

उफ यसको अन्त्य कहिले होला ?

wordflows said...

हामी नेपालीहरुलै रातमा रमाउने बानी परीसक्यो।
तर आउदो पुस्ताले चै भोग्नु नपरोस् तेहि हो

Sujan Sharma said...

वाह !! एकदमै सटीक कथा ।मन पर्यो।।

Eternal said...

A wonderful satire...
"Aage kuwa piche khahi" malai yo yaad aayo.. You have wonderfully created Ramkishne as the beau of us...the nepali people...

हावा The Wind said...

सर्पलाई दुध ख्वाएर राखेपछी तेस्तै हुन्छ नि ब्रो तेसैले त जंगल को सर्प जङल मै रहोस् भनेको नि

सिकारु said...

वाह| बडो मौलिकता अनि यथार्त बोकेको कथामा कोरिएको सत्यकथा । तर ढिलो गर्ने र गल्ति गरेपछि पछुताउने त हाम्रो बानि नै हो नी ..

प्रबिण थापा said...

wonderful realistic story of our present society

Prajwol said...

कथा सार्है रमाइलो लागि रहेको थियो, पढ्न सार्है रोमान्चक पनि । यसको अन्त कसरी होला भनेर पढुन्जेल सयौं ideas हरु पनि आए मेरो दिमागमा । तर अफसोच, कथा को अन्त खासै सार परेन । शायद सधैं झिनो आशा र त्यसपछि को निराशा देख्नु पर्ने नेपाली हभगति झैं भयो यसको अन्त मेरो लागि । मैले पढुन्जेल यसको अन्त कुनै दन्त कथा सरि होला भनेर आस गारेको थिए :(

दीपक जडित said...

हो आज दुख लाग्दो केहि छ भने त्यै घरभित्र फणा फुलाएर बसेको गोबन नै छ जस्ले पटक पटक डसेर पटक पटक मारीरहेको छ हामीलाई ।

DEEPENDRA said...

Frustrating yet so true! A good write here. I too was expecting a better ending of the story as desired by Prajwol ji but...anyway, lets not forget that there is a sun-shine after every dark night.

pralad said...

katha chai dami 6 hai bro

Jotare Dhaiba said...

कटु सत्य !
यस्तोलाई मैले कथा होइन, व्यथा भन्ने गरेको छु ।
अब त रक्षाकवच मिल्यो भन्यो खराब हालत उस्तै भइरहन्छ । सुरक्षाको घेरा मानेको घेरा पनि हाम्रो अपेक्षाविपरीत मुख बाएर बसेको हुन्छ । नेपालीको शिरमा यस्तै दुर्भाग्य शोभा बनेर बसेको छ, र पनि अझै आशा त छ नै- पक्कै एक दिन जीवन जीवन जस्तै हुनेछ ।

badri said...

बसन्तजी सत्य कथा यकदमै राम्रो छ

Kishor said...

तितो सत्य..!
तावा बाट उम्केको माछो भुन्ग्रोमा भने जस्तै... जो आए पनि सिकार चाहि जनता नै हुन्छऩ... !!

दिनेश राज said...

हाम्रो जीवनकथा । नियति । प्रस्तुति सरल छ ,तपाईंका शब्दहरु मा यो शक्ति छ कि मेरो कथा पढाइ को गति पनि त्यहि अनुसार बढे, घटेझैं लाग्यो । त्यो पात्र दौडिदा मेरो गति पनि दौडिएको थियो । अनि अन्तमा म पनि त्यो पात्र झैं ट्वाल्ल परें , परिराछु ।

Basanta said...

प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद!

मैले कथामै पनि लेखिसकेको छु, यो कथा पूर्ण रुपमा मेरो मौलिक रचना होईन। धेरै लामो समयदेखि चल्दै आएका "आगे कुवा, पिछे खाई" वा "तावाबाट उम्केको माछो भुङ्ग्रोमा" जस्ता लोक-आहानहरुलाई अलि फरक र समसामयिक रुप दिएको मात्रै हुँ। विगत केहि दशक मात्रै होईन, केहि सय वर्षदेखिनै हाम्रो नियति यस्तै हुँदै आईरहेको छ। यसले मलाई एकदमै घोचिरहन्छ्। मनमा हरदम प्रश्न उठ्छ, हामी नेपाली किन हरदम यसरी एउटा धोकाबाट अर्को धोकामा पुग्न बाध्य छौं? यहि छटपटीलाई ब्यक्त गरेको हुँ यो कथाबाट।

कथालाई सकारात्मक मोडमा लगेर नटुंग्याउनुको कारण मूलत दुईटा छन्। पहिलो र प्रमुख, नेपाल र नेपालीको जीवनमा चाँडै उज्यालो आउने दिनको संकेत अझै देखेको छैन मैले (मेरो यो दृष्टि गलत भएको प्रमाणित होस्, मेरो यहि प्रार्थना छ।), त्यसैले कथामा पनि बढी आशावादी हुन मन लागेन। दोश्रो कारण चाहिँ, लेखकीय 'बेइमानी' भनेपनि हुन्छ यसलाई, सनसनीखेज-रोमाञ्चक क्षणमा पु-याएर पाठकलाई छोडिदिने र बाँकी उसैलाई कल्पना गर्न दिने। मतलब सजिलो कुरा लेखिदिने र गाह्रो कामको जिम्मा पाठकलाईनै दिने:)

Anonymous said...

.

Anonymous said...

bashanta jii katha ta yethatha parakha nai lagyo tara antye chahi nun napugeko jastoo lagyo

Basanta said...

धन्यबाद Anonymousज्यू!
नेपाल र नेपालीका जीवनमा अझै उज्यालोको संकेत नदेखिएकोले त्यसरी टुंग्याएको हुँ। तपाईँको प्रतिकृयाका लागि आभारी छु, आगामी लेखनमा ध्यानमा राख्नेछु।

Post a Comment

Related Posts with Thumbnails