May 29, 2009

'कतै नजाने बाटो--' को मेरो यात्रा


Image Source:Blue Mountain

म जीवनको बारेमा ब्याख्यान दिनसक्ने दार्शनिक होईन, रहस्यको अनुभूति भएको कुनै साधक त झन हुँदै होईन। ध्यान र साधनाको मेरो यात्रा सतहमै छ र पहिलो पत्रलाई पनि उप्काउन सकेको छैन मैले। तर जीबनको बारेमा, यो के होला र यसपछि के होला जस्ता भावनाहरु मनमा बेला-बखत तैरिरहन्छन्। यो जीवन भौतिक पदार्थहरुको आकस्मिक संयोगमात्रै हो भन्ने कुरामा मलाई बिल्कुलै विश्वाश छैन। भौतिकता भन्दा पर कुनै रहस्यमय उर्जा छ जसले हामीमा जीवन भरेको छ। त्यसैले यो जीवनपछि म यत्तिकै माटोमा बिलाउँछु होला भन्ने मलाई लाग्दैन। यो जीवनपछिको स्थिति मेरो कल्पनाभन्दा बाहिरको कुरा होला, र स्वयं यहि जीवनपनि मेरो पूर्ण वशमा नहोला, तर मेरो मूल अस्तित्व आजपनि र भोलिपनि निर्विवाद छ।

जीवन र जगतको को बारेमा सोचिरहँदा धेरैजसो ममा डरमिश्रित रोमांचकता भरिन थाल्छ। यो भावनालाई सहन नसकेर म थोरै अगाडि नपुग्दै फर्किदिन्छु। बाल्यकालको एउटा प्रसंग याद आऊँछ। घरमा सरल हिन्दी अनुवाद सहितको 'गीता' थियो। "यो किताब नपढ्नु, पढ्यो भने बहुलाईन्छ" भनिएको थियो मलाई धेरै पटक। बाल्यकालमा पढेपनि के नै बुझिन्थ्यो होला र?! मार्ग-निर्देशनविनाको यात्रा रोक्ने एउटा उपाय थियो होला यो। पछि पढियो, बहुलाईएन, सतहमात्रै पढेर होला। विश्वविद्यालय जीवनमा ताओमार्गका प्रवर्तक चिनियाँ रहस्यदर्शीहरु 'लाओ त्च' र 'च्वाङ त्च' का कृतिहरुको सरल अंग्रेजी अनुवाद पढ्न पुगियो, काकतालीवश। अन्तर्निहित आध्यात्मिकता बुझ्न नसकेपनि पढ्दा रमाईलो लागेको थियो। तैपनि बहुलाईएन, फेरि पनि सतहमै अल्मलिएर होला। त्यसपछि वर्षौंसम्म ओशोवाणी पढ्दा/सुन्दा, बीच-बीचमा जे. कृष्णमूर्ति र यू. जी. कृष्णमूर्तिका सन्देशहरु पढ्दा पनि बहुलाईएन। जीवन-यात्राको अर्को आयाम भेट्न गहिरिनु, अझै गहिरिनु र एकपटक 'बहुलाउनु' अनिवार्य छ शायद, तर त्यो पागलपनतिर हाम्फाल्ने आँट अझै बटुल्न सकेको छैन मैले।

जीवनको बारेमा सोच्दा मेरो मनमा बढी आउने एउटा चित्र सूनसान जूनेली रातमा सानो झोला बोकेर एक्लै हिँडिरहेको एउटा मानव-आकृति हो। मेरो दिमागमा थुप्रिएर रहेका, विगत केहि वर्षयता पढेका आध्यात्मिक प्रसंगहरुले जन्माएको हुनसक्छ यो बिम्बलाई, मेरो वास्तविक अनुभूति नभएर अनुभूतिको भ्रममात्रै हुनसक्छ किनकि सबै सद्गगुरुहरुले जीवनलाई एउटा यात्राकै रुपमा ब्याख्या गरेका छन्। तर धेरै आध्यात्मिक कथाहरु पढेर बनेको चित्रनै भएपनि ठिक छ, गहिराईको संगीत मेरो मनमा नबजेपनि सतहमा धमिलै भएपनि सही, चित्र त बनेको छ।

कहिलेकाहीँ यो यात्रा, यो जीवन-यात्रा अर्को कुनै यात्राको तयारी जस्तो लाग्छ मलाई। एकचोटि यो भावना अलि बढीनै गहिरियो म मा। पुस महिनाको एउटा जूनेली रातमा भोलिपल्टको यात्राको लागि झोला कस्दै थिएँ। आवास-क्षेत्र सूनसान थियो, म एक्लै थिएँ। असैह्य हुँदै गहिरिँदै गएको यो भावनाबाट मुक्ति पाउन एक टुक्रा लेख्नै प-यो मैले।

"?"
जुनेली साँझ-
म यात्राको तयारीमा छु
लाग्छ म सधैंभरि यात्राको तयारीमा छु
भगवान्!
जीवन के हो?
यात्रा वा यात्राको तयारी?


यस बारेमा मैले धेरै पहिलाको एउटा अंग्रेजी टाँसो The Moonlit Road मा पनि कुरा गरेको छु।

मेरो ब्लग मेरा सबैथरी यात्राहरुको सहयात्री हो। त्यसैले यात्राको प्रतीक बाटोलाई कुनै हिसाबले म ब्लगमा प्रतिबिम्बित गर्न चाहन्थें। यहि कविता (?)को भावसंग मिल्दोजुल्दो, रहस्यमय देखिने कुनै बाटोलाई ब्लगको हेडरमा राख्ने सूर बन्यो मेरो (त्यतिखेरसम्म यो ब्लग BLOGGING BASANTA मात्रै थियो)। यात्राको कुरा गरेपछि त्यसलाई प्रतिबिम्बित गर्न बाटोभन्दा उत्कृष्ट अरु के हुनसक्छ?

चित्त बुझ्दो 'बाटो' नभेटेपछि यहि टुक्रोलाई नै हेडरमा राख्दिऊँजस्तो लागेको थियो एक पटक। तर यो अलि लामो भयो।

त्यतिखेर मनमा ओशोले सुनाएका केहि जेन कथाहरु/प्रसंगहरु पनि हिँडिरहेका थिए। ती मध्ये दुईटा त मेरो दिमागमा जतिखेर पनि हुन्छन्। एउटा प्रसंगमा, यो यथार्थनै होला, एक जेन गुरु आफ्ना चेलाहरुलाई मार्गदर्शन गर्दै हुन्छन्। अचानक ठूलो भूईँचालो आउँछ र सबै बाहिरतिर भाग्छन्। बाहिर सबै जम्मा भईसक्दा चेलाहरुले गुरुलाई भने देख्दैनन्।
"गुरुदेव, भूईँचालो आयो, हामी सबै भाग्यौं, हजूर किन भाग्नुभएन?" एकछिन पछि भित्र पस्दा गुरुलाई शान्त, आफ्नै आसनमा देखेपछि चेलाहरुले प्रश्न गर्छन्।
"म पनि भागें।" गुरुले जवाफ दिन्छन्।
"--तर हामीले त हजूरलाई बाहिर देखेनौं नि!"
"होईन, हामी भागेको दिशा फरक थियो। तिमीहरु बाहिरतिर भाग्यौ, म भित्रतिर भागें।"
चेलाहरु कुनै गन्तब्यतिर हिँडेका थिए, गुरुले भने अस्तित्वको अनुभूति हुने बाटोको यात्रा समाते।

अर्कोचाहिँ कथानै हो। ओशोले भन्नुभएको छ "कथा हो यो, तर यो कथा मलाई यति सुन्दर लाग्छ कि साँच्चै हो भनेर विश्वाश गर्न मन लाग्छ"। एकजना मानिस कुनै जेन साधकले बनाएको एउटा सुन्दर चित्र हेरिरहेका हुन्छन्। हराभरा सुन्दर पहाडहरु छन् चित्रमा। फेदीमा सानो खोला कल्कलाऊँदै बगिरहेको छ। अलिक माथि एउटा सानो सुन्दर बस्ती छ। बस्तीको बीच-बीचबाट एउटा बाटो गएको छ। बाटो बस्तीलाई पार गरेर एउटा पहाडतिर लागेको छ र चित्रको एक छेऊमा पुगेर टुंगिएको छ।
"यो बाटो यसपछि कहाँ पुग्ला है?" तन्मय भएर चित्र हेरिरहेका महानुभावले सोध्छन्।
"ए---! मलाई पनि थाहा छैन। पख्नुस् है म हेरेर आऊँछु।" भनेर ती जेन साधक त्यो चित्र भित्र पस्छन् र त्यो बाटोमा हिँडेर बिलाऊँछन्। त्यो बाटोसंगै साधक विलीन भए, अस्तित्वसंग एकाकार भए।

केहि पछि आएर ब्लगलाई आफ्नो कविताभन्दा पनि यिनै कथाहरुसंग मिल्ने भाव दिन मन लाग्यो र सुहाउँदो नाम खोजिरहेको थिएँ (अझै पनि खोजमै छु), जुन ब्याबहारिक र आध्यात्मिक दुबै आयाममा फैलिएको होस्। दिमागमा The Road to Nowhere Goes Everywhere---आयो र तत्कालका लागि यसैलाई प्रयोग गर्ने निर्णय गरें। अलिक लामो लागेपनि मैले चाहेको, मेरो बुझाईको अर्थ धेरै हदसम्म बोकेको छ यसले। यतिका समय संगै बसेपछि अब त यो अत्यन्त स्वाभाविक र आत्मीय बनेको छ। अर्को 'राम्रो' नाम भेटें भनेपनि यसलाई छोडेर त्यता फड्किन सक्छु कि सक्दिन, शंका लाग्न थालेको छ।

यो बाटोले मनमा झन् स्पष्ट आकार ग्रहण गर्दैछ अब। जूनेली रातमा एउटा सानो गोरेटोमा एक्लो मानव आकृति हिँडिरहेको छ। यात्रा अगाडि बढ्दै जाँदा, बिस्तारै-बिस्तारै बाटो र यात्री दुबै फैलिँदै र फिका हुँदै जान्छन्। यो फैलिने र पारदर्शी हुने क्रमको लामो निरन्तरता पछि, धेरै लामो यात्रा पछि, सुदूर क्षितिजमा न बाटो बाँकी देखिन्छ न यात्री। दुबै अस्तित्वमा विलीन हुन्छन् र सर्वब्यापक हुन्छन्।

22 comments:

>Jotare Dhaiba< said...

युवाहरूको बीचमा सातोपुत्लो लिने खालको पाको कुराले खूबै कुतकुत्यायो । मलाई पनि घोचिरहने कुरा हो: यो जन्म, पुन:जन्म, आत्मा, मृत्यु, अस्तित्व । जीवन नै रहस्य भएको छ । साँच्ची यात्रा हो या यात्राको तयारी ? यो बाँच्नु भनेको कतै हामी मरिरहेको अवस्था हो कि, अहिले हाम्रो सोचमा भएको मर्नु चाहिँ वास्तवमा मर्नु हो कि ? केके हो कुराका खुड्किला त !!? ध्यान-साधना र अध्ययनको तह त कता हो कता पिछडिएको छ, भएका कुरामा आँखा पुगे केही चेत खुल्न पाउँथ्यो होला । पक्कै पनि केही शक्ति छ ब्रम्हाण्डमा, जसले सिङ्गो अस्तित्व र जीवन-जगत् खिचेर राखेको छ । बत्ती फू गरेर निभाएपछि त्यहाँको ज्योति कहाँ जान्छ भने जस्तै होला जीवको अस्तित्व । विज्ञान पनि हायलकायल भएको 'आत्मा'को सवालमा प्रस्ट कुरा कतै खुट्याउन नपाउनु अन्तहीन रहस्य भएको छ, तत् सम्बन्धी सामग्री कहीँकतै नभएरै अहिलेसम्म नपाईएको होला ।

पहिलो कथा सारै मार्मिक छ, भित्र भाग्नु निकै साधनाको कुरा हो । हाम्रो चञ्चलताको चकटीमा त्यो भगाइ असम्भव नभए पनि मुश्किल चाहिँ छ ।

ब्लगको नाम यही नै ठीक छ। आफैँले पनि अनुमान ठीकै गर्नुभएको छ, पछि नयाँ नाम पाए पनि साविकको फेर्न सक्दिन होला भनेर । यसमै रत्तिनुभएको छ तपाईँ, हामी पनि ।

धन्यवाद । जागरण-पोष्टका लागि ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...
This post has been removed by the author.
कृष्णपक्ष उज्यालोको खोजिमा said...

दर्शन र साहित्य दुवैलाई मिठो स्पर्श गर्ने यो लेखोट पढ़ी सके पछि ममा पनि यौटा दर्शनको उदय भयो - यात्रा कहिलेकाही आफैमा मनोरम गंतव्य रहेछ, सबै यात्राको निश्चित टुंगो हुनै पर्ने अनिवार्याताको भ्रम यसबेला चकनाचूर भएको छ।
कुनै कुनै कतै नजाने बाटो र यात्रा, यात्रीको सुन्दर कल्पना र अनुभूतिले अर्थपूर्ण हुदोरहेछ। जुन यात्राका प्रत्यक पाइलाहरुमा लक्ष्यप्राप्तिकै जस्तो उत्कर्ष महशुश हुदै जादो रहेछ - कुनै थकान बिना । यो यात्राको रेखा अनंत कोरिदै जाओस दूर-दूर सम्म !

खुल्लामन्च said...

दाजु, हरेक हप्ता नयाँ नयाँ बिषय बस्तु । कहिले साहित्य त कहिले दर्शन । मन खुबै फुरुङ्ग हुन्छ - तपाईंका लेख र टासोहरु पढ्दा । दर्शन कुनै मानबले नै परीमार्जित गरेको जीवन भोगाइको एउटा पाटो रहेछ । जसरी ओशोका बिचारहरु लोकप्रिय छन, त्यसरी नै धर्म र बुझाईमा बैङ्लोरका साइबाबा पनि लोकप्रिय हुँदै गएका पढ्नमा आउछन । उनिलाई भेटेर आएकाहरु भन्छन, साइबाबा आँफैमा बैज्ञानीक हुन । बिज्ञानलाई छाडेर पूर्व भारतीय राष्ट्रपती अब्दुल कलाम राजनीतिमा लागे जसरि नै धर्ममा लागेका साइबाबा, खप्तड स्वामी, बिबेकानन्दहरुले पनि ओशो जसै जिबनका नविनतम सिद्धान्त र बुझाईका कोशेलीहरु दिलाएका छन । यहाँ भन्नुपर्छ, ओशो र साइ बाबालाई पागल भन्नेहरु के साच्चै 'गीता पढे बहुलाइन्छ' भन्नेहरु नै होइनन र ? एउटा सिर्जित गीत सुन्न नमिथो लागे पनि गायकले कम से कम लगानी त गरेको छ नि आफ्नी गायकी को ! के त्यो साचो होइन र ?

र अन्तमा, लाग्छ, अनवरत रुपमा बगेको गण्डकी जसरी तपाईंको यात्रा कहिले जिबन भएको छ त कहिले साथ । कहिले नाशो त कहिले तिरस्कार । तपाईंलाइ सधैं शुभकामना दाजु ।

दीपक जडित said...

कुनै पनि परिभाषाले प्रष्ट्याउन नसक्ने जीवनको सर्वमान्य परिभाषा हुन सक्ला भन्ने नै लाग्दैन मलाई त । बरु यो त तारादेवीले गाए झैं जस्तो भोग्यो त्यस्तै हुन्छ क्यार ।

मैले पनि पहिले एकपल्ट निक्कै रन्थनिएर 'जीवन ?' भनेर जे पयो त्यही लेखेको थिएँ - कतै कुनामा होला त्यो तपाईंको यो टाँसो पढेर याद आयो "मैले आजसम्म आयूलाई पो जीवन भनेर ठानेको रहेछु" भनेर लेखेको थिएँ । त्यो लेख्दा धत् म बहुलाउँन लागेँ कि क्या हो भन्ने पनि लागेको थियो ।


करुणेशका धूनहरु यु ट्युबमा खोजी खोजी , सिडी किनेरै पनि सुन्ने गर्थेँ । तपाईंले पनि मनपराउनु हुँदो रहेछ खुशी लाग्यो यहाँ सुन्न पाएर ।

दूर्जेय चेतना said...

शुरुमा तपाईंको ब्लगको नाम पढ्दा मलाई लामो अनी कस्तो कस्तो लागेको थियो तर बिस्तारै बानी पर्‍यो। अझ तपाईंको यो बिचार पछी चाँही, त्यो सार्थक भए जस्तो लाग्यो। अब चाँही तपाईंले यसलाई तपाईंले परिबर्तन नगर्नु होला। साह्रै राम्रो प्रसँगका साथ जिबनको सरलतालाई स्विकार गर्न सिकाउनु भयो। धन्य तपाईंको लेख र तपाईंको बिचार अनी तपाईंको सोचको गहिरोपन । तपाईंलाई मुरी मुरी धन्यबाद।

dineshraj gyawali said...

बसन्त जी , सार्है राम्रो लाग्यो जीवन र जगतको बारेमा कहिल्यै त्यसरि गहिरिएर सोचेको छैन । तर कहिलेकाहि त्यस्ता सोचाई आउदा पनि सकेसम्म भाग्ने प्रयास गरियो । शायद अध्ययन ,चिन्तनको कमिले होला ।त्यो सोचको गहिराईमा डुब्नु त्यति सरल छैन र डुबेर पनि केहि तथ्य भेट्न नसकिने संभवना पनि त्यतिकै रहन सक्छ ।हामिले पढेर बहुलाईन्छ भनेको कारण हामि त्यो सोचको सार भेट्न सक्दैनौं भन्ने पो हो कि ? तपाईका अरु लेख जस्तै यो पनि साह्रै उत्कृष्ट लाग्यो ।

Anonymous said...

Hey, Very nice to meet you.

Visit my site, you'll like it (You can discover new music there)!

Would be an honor for me if you were the first visitor from yourgreat country there.

http://www.concourseurovision.webs.com

Greetings from Germany

wordflows said...

मलाइ तपाईको लेखहरु भिन्नै लाग्छ।

Dilip Acharya said...

भन्नछ नी, ज्ञान प्राप्त गर्नु वा अस्तित्वसंग साक्षात्कार हुनु आफ्नै ठाउँमा छ, तर त्यो प्राप्तीको मार्गको पनि छुट्टै महत्ता हुन्छन ।

प्राय: उर्दू र हिन्दीको शायरीमा कहिल्यै पूर्णीमाको चन्द्रमाको बयान आउँदैन, सधैं "चौधवीका चाँद" भनिन्छ । किनकि चतुर्दशी सम्म चन्द्रमाको आकार बढने क्रममा रहन्छ र त्यसमा "अझै केहि बढन बाँकि" भएको र केहि प्राप्तीको सम्भावना रहन्छ --मतलब, यात्रा अझ जारी रहने र पूर्णता मिल्ने आयाम बाँकि नै छ ।

पूर्णिमा पछि चन्द्रमाको घटने क्रम शुरु हुने भएकोले पूर्णीमाको चन्द्र कविहरुलाई फिक्का लाग्छ । किनकि त्यसमा अब कुनै बिस्तार, कुनै फैलाव वा उर्ध्वगमनको बाटो नै बन्द हुन्छ ।

त्यसैले म पनि भन्छु तपाइको यो कहि नजाने बाटो लाई मार्ग नै राख्‍नुहोस ।

कुनै ठाउँमा पगेपछि यात्रा रोकीन्छ । निरन्तर यात्रा जारी रहोस र हामीहरु पनि सधैं यसरी नै सहयात्री भएर अगाडि बढ्दै जाने मौका पाईरहुँ । म त यहि शुभकामना दिन्छु तपाईको ब्लग सधैं चतुर्दशीको चन्द्रमा जस्तै रहोस जहाँ सधैं फैलाव, बिस्तार र व्यापकता को मार्ग प्रशस्त रहोस ।

कतै नजाने बाटो साँच्चै सबैतिर जान्छ ! शुभयात्रा !!!

N K M said...

aaha! bahut aananda aayo yo lekh padhera...

I share similar views on the blog. Does that mean that we are unfocussed in the blog?
No!
We love diversity, it is reflection of state of the moment. It can go everywhere!

Neeti Aryal Khanal said...

I could really relate with this post. It is remarkable. People like us who are spiritual but yet are engaged in worldly activities always have this urge to go in pursuit. But we can't dare. That is how I see your lines that is speaking about 'bahulaune' or being mad. Indeed the whole meaning of madness is a social construction. We are always taught to conform to social norms and values and accepted ways of behavior that anyone who does not is labelled 'pagal'. I read Lao once, it was so completely different than the traditonal spiritual discourses. I haven't read different version but I found Witter Bynner's Translation most profound
http://www.amazon.com/Way-Life-According-Laotzu/dp/0399512985

Keep blogging your spiritual ideas. It helps us to remain objective and realize that there is something more than material aspects of life

badri said...

बसन्तजी, सार्है राम्रो लाग्यो यो लेख ।

Sujit Mainali said...

Very good writing.

www.psycophilo.blogspot.com
and www.hotanalysis.blogspot.com

Prabesh Poudel said...

म अलि ढिलो आइपुगेछु । मेरा सबैकुरा माथिनै समेटिइसकेछन् । तपाईँको ब्लग एउटा रोल मोडल नै भएको छ ब्लगिङ क्षेत्रमा । तपाईँका परिपक्व गफ र गहन विचारले गरेर कुनै पनि टाँसो छुटाउनै मन लाग्दैन ।

ब्लगको नाम जे राख्‍नुभएपनि ब्लगका सामाग्रीले त्यसलाई फिक्का हुन दिँदैनन् । शायद यो नाम पनि लामो र भद्दा हुन सक्थ्यो यदि लेखनमा यति गहनता आउँदैन थियो भने । त्यहि भएर नामले खासै अर्थ राख्‍दैन कि ? जस्तो लाग्यो मलाई ।

Prajwol said...

बसन्त जि,

ढिलै भए पनि यहाँको ब्लगको 2nd anniversary का लागि धेरै बधाई छ, र भविश्यका लागि धेरै धेरै शुभकामना । जागिर र पारिवारिक जिम्म्बेबारी बाट समय झिकेर यती लेख्नु सर्है सहारनीय कुरा हो, त्यसैले कम समय दिंए ब्लगलाई भनेर कृपया दु:ख नमान्नु होला :)

बिशेष कारणबस (अरु के नै हुन्थ्यो, अल्छि गरेर :D ) पुराना पोस्टमा लेख्न मन लागेको कुरा पनि केही लेखेको थिइन, आज एउटा combo कमेन्ट लेख्दै छु, कृपया mind नगरिदिनु होला :)

यहाँले भने जस्तै ब्लग लेख्दा अरु सहयात्रि ब्लगर संगको interaction मलाई सार्है सुखद लाग्छ । शायद मेरो आफ्नो पर्सनल ब्ल्गको केही सिमित पाठकहरु पनि अत्याधिक मात्रामा अरु ब्लगर नै हुन । नेपाली पाठकहरुमा ब्लग भनेको के हो भनेर बुझ्ने ले आफ्नै ब्लग खोलछन (अधिकांसले), त्यसैले अरुको ब्लग पस्ने पनि ब्लगरनै भएका होलन :) मेरो अर्को पाठक block चांही फोन गरेर "त्यो के लेखेको यार" भन्ने छन, कमेन्ट बक्स भएता पनि फोनमा कमेन्ट गर्न रुचाउने । अर्को पाठक block चांही "धेरै भयो यसले फोन-सोन नगरेको, कता गएछ, एक चोटि त्यसको ब्लग चहार्नु पर्‍यो" भन्नेहरु छन । जुन रुपमा भए पनि ब्लगमा interaction भए सार्है रमाइलो हुन्छ । पावरफुल सर्च इन्जिनको जमनामा सबै ब्लगरले केही नै केही योगदान गरेकै हुन्छन, त्यसैले मेरो ब्लगमा थोरै मान्छे आए भनेर कसैले निरास हुनु पर्ने पनि देख्दिन । उदाहरणका लागि: नेपालमा रहेको कुनै बिकट र pristine ठाउँको बारेमा कसैले लेख्छ अनी पछि कसैले तेही ठाउंको बारेमा सर्च गर्छ भने, Washington Post को ब्लग नदेखाएर गुगलले तेही थोरै मान्छे पस्ने ब्लग नै देखाउन्छ । त्यसैले मलाई लेखमा बिविधता र uniqueness दुबै हुनु पर्छ जस्तो लाग्छ । यो मेरो पर्सनल धारणा हो, आफ्नो ब्ल्गको objectives अनुसार अरुको फरक फरक बिचार हुन्छन ।

म पनि ब्लगको टाइटलमा (Header) खुब ध्यान दिन्छु, मेरो विचारमा टाइटल पढे पछी यो ब्लग बाट के आश गर्न सकिन्छ भनेर सन्देस जानु पर्छ । तपाईं को पहिलो टाइटल (blogging Basanta)ले मलाई एउटा नितान्त पर्सानल ब्लगको सन्देस दिएको थियो, आहिले नयाँ टाइटलले बिविधताको सन्देस दिएको छ ।

कमेन्ट अलि लामो हुन थाल्यो जस्तो लाग्यो, फेरी कहिले लेख्दै नलेख्ने लेखे पछी कथा लेखे झैं गरी लेख्ने भनेर हकार्नु होला :D

Basanta said...

विचारपूर्ण प्रतिकृयाहरुका लागि सबैलाई हार्दिक धन्यबाद! यो ब्लगको नामको आशयको बारेमा धेरै पटक सोधिएपछि, ‘कुनै दिन ब्लगमै लेखौंला’ भनेको थिएँ। त्यहि वाचा पूरा गरेको मात्रै हुँ।

धाइबाजी, त्यस्तो सातोपुत्लो लिने त केहि लेखेको छैन:) आध्यात्मिक जागरण राम्रो कुरा हो, युवाअवश्थामै त्यो जागरणको जन्म हुनु झन् राम्रो कुरा हो। अध्यात्मको नाममा पलायनको बाटो हिँड्नेहरु धेरै छन् हाम्रो समाजमा तर सांसरिक कर्म संगसंगै अध्यात्म पनि जानसक्छ भन्ने बोध जागिसकेको छ अब, धन्यबाद ओशोलाई।
जीवनको अस्तित्वलाई प्रष्ट्याउन बत्तीको ज्योतिको साह्रै राम्रो प्रसंग ल्याउनुभयो।

कृष्णजी, वास्तवमा यात्रानै सौन्दर्य हो। गन्तब्य भ्रम मात्रै हो। गन्तब्यमा पुगेको भानले जीवनलाई मृत र जड बनाऊँछ।

गोकुल भाइ, मलाई साइबाबाको बारेमा खासै थाहा छैन किनकि अहिलेसम्म साइबाबाप्रति ममा आकर्षण पैदा भएको छैन। समय मिल्दा अवश्य पनि पढ्नेछु, बुझ्नेछु साइबाबाको बारेमा। ओशोतिर आकर्षित हुनुको प्रमुख कारण भने ओशोले दिने जीवन-दर्शन हो। ओशोबाट अध्यात्मको नाममा कुनै बूटी वा बिगुत होईन ध्यानको महत्ताबोध पाईन्छ र समस्याको समाधानको रुपमा कुनै बनिबनाऊ उत्तर होईन आफैं उत्तर खोज्ने प्रेरणा र मार्गदर्शन पाईन्छ।
साइबाबाको बारेमा थाहा भएन तर अब्दुल कलाम आजादले विज्ञान छोडेर राजनीतिमा लागेका हुन् भन्न चाहिँ अलि नमिल्ला। आफ्नो कार्यकालभरिनै उनले भारतको राष्ट्रिय हितको लागि विज्ञानको सक्दो उपयोग गर्नुपर्ने कुरामा जोड दिईरहे। कुनै वैज्ञानिकले विज्ञानलाई यसैपनि कहिल्यै त्याग्न सक्दैन।

जडितजी, हो, जीवनलाई कुनै पनि परिभाषाले ठ्याक्कै प्रष्ट्याउन सक्दैन, यो नै यसको सौन्दर्य र रहस्य हो। जीवनको बारेमा घोत्लेर तपाईँले लेख्नुभएको त्यो रचना हामीले पनि पढ्न पाउने आशा छ।
विगत केहि वर्ष यता म करुनेश, प्रेम जोशुआ र अहिंसा (समूह) जस्ता संगितकारहरुको फ्युजन संगीत अलि बढीनै सुनिरहेको छु। अत्यन्त सकारात्मक उर्जाले भरिएको लाग्छ मलाई उनीहरुको संगीत।

दूर्जेयजी, नाम शायद अब परीवर्तन नहोला। यसको सारसंग सक्दो तादात्म्य राखेर अगाडि बढ्न सकियोस् भन्ने कामना छ। मेरो चिन्तन र लेखाईलाई गहिरो भनिदिनुभयो, खुशी लाग्यो तर म आफूलाई अत्यन्त छिपछिपे ठान्छु। मेरा ‘गफ’ मा कतै गहिराई देखिएपनि भने ती अन्तबाट ‘साभार’ गरिएका स्मृति वा मेरा कल्पना मात्रै हुन्।
दिनेशजी, जीवन र जगतको सोचाईलाई दैनिक जीवनमा कसरी घोल्ने र दुबैलाई साथसाथै लाने भन्ने नै मेरो पनि समस्या हो। ‘पढेर बहुलाईन्छ’ भन्ने कुराचाहिँ लोकको अनुभव हो। आध्यात्मिक यात्राको एउटा निश्चित चरणमा राम्रो मार्गदर्शन नहुँदा ब्यक्ति भौंतारिने र ‘पागल’ बन्ने सम्भावना धेरै हुन्छ। समाजले त्यस्तै ब्यक्तिहरुलाई देखेर यो भनाई बनाएको हो।

Basanta said...

Dear Anonymous, thank you for visiting this blog! Your site is very beautiful.

wordflowsज्यू, हौसलाको लागि आभारी छु।
दिलिप दाई, "चौधवीका चाँद" को प्रतीक साह्रै सुन्दर लाग्यो। गीत-गजलमा धेरै सुनेपनि यो ढंगले अहिलेसम्म हरेकै रहेनछु मैले।
मलाई पनि गन्तब्य भन्दा यात्रा र प्राप्तिभन्दा प्रतीक्षा महत्वपूर्ण र सुन्दर लाग्छ। यहि मेसोमा, प्रसिद्ध शायर खुमार बाराबांकवीको एउटा सुन्दर शेर याद आयो;

मेरे राहवर मुझको गुमराह कर दो
सुना है कि मञ्जिल करीब आ गया है

पूरै गजल खुमार साहब आफैंले पाठ गरेको भिडियो यहाँ छ; http://www.youtube.com/watch?v=Qgt-mh1ho_U&feature=related

नविनजी, विविधता हुँदैमा एकाग्रता (focus) नहुने हुँदैन भन्ने तपाईँको कुरामा पूर्ण सहमति जनाउन चाहन्छु।

नीतिजी, तपाईँको अनुभूतिसंग पनि मिल्न पुगेकोमा खुशी लाग्यो। चाहना बढ्दै गयो भने एक दिन बहुलाउनुको कुनै विकल्प छैन।
लाओ-त्चको मैले पढेको संस्करण याद भएन अहिले। ताओमार्गका कुरा वास्तवमै अरुभन्दा धेरै फरक र अनौठा लाग्छन्।

बद्रीजी, हौसलाका लागि आभारी छु।
सुजितजी, हौसलाका लागि आभारी छु। तपाईँका ब्लगहरु साह्रै राम्रा लागे।

प्रवेश भाइ, निश्चयपनि सामाग्री महत्वपूर्ण हो नामभन्दा। तर नामको पनि आफ्नै स्थान नहुने होईन। ब्लगरले आफनो मान्यतालाई झल्काउने र पाठकले पहिलो परिचय पाउने माध्यम भनेको नामनै हो।
(अनि यो रोल मोडेल-खोल मोडेलको कुरा गरेर मलाई लाजमर्दो बनाउने होईन है! म आफूलाई एकदम छिपछिपे ठान्छु र सबैको साथमा सिकिरहेको छु।)

प्रज्वलजी, बधाई र शुभकामनाका लागि धेरै-धेरै धन्यबाद!
ब्लगका लागि ‘चोर’ बनेको छु अचेल, काम र परिवार दुबैतिरबाट समय चोरेर:)
तपाईँले लेखेको पढेपछि लाग्यो हामी सबैका पाठकहरु उस्तै-उस्तै छन्। थोरै पाठकहरु आए भनेर चिन्ता गरेको होईन मैले पनि, खाली टेलिफोन वा भेटमा मात्रै प्रतिकृया दिनेहरुले ब्लगमै दिए अलि राम्रो हुन्थ्यो भन्ने सोचाई मात्रै हो।
विविधता भनेर सबै क्षेत्रका कुरा लेख्नुपर्छ भन्ने पनि छैन। कुनै एउटै क्षेत्रभित्रै पनि सयथरी फरक कुरा भेटिन्छन् लेख्नका लागि। फेरि तपाईँले भनेजस्तै धेरै कुरा ब्लगरको उद्देश्यमा पनि भर पर्छन्।
तपाईँको combo कमेण्ट साह्रै चित्त बुझ्दो लाग्यो। यसमा म रिसाउनुपर्ने त देख्दै-देख्दिन। यस्तो कुरामा पनि रिसाएँ भने मैले ब्लग नगरेकै वेश:)

Prajwol said...

Basanta ji,

"थोरै पाठक" को कुरो मैले भरखर ब्लगिङ सुरु गरेका वा म जस्ता irregular blogger लाई भनेको, प्रेरणाका लागि :) तपाईंको त छोटो समयमा नै आफ्नै पहिचान बनि सकेको छ नि :)

You have already surpassed that category :)

Basanta said...

प्रज्वलजी, हा हा हा! यो category को कुरो कहाँबाट आयो फेरि:)

बेदनाथ पुलामी ( उमेश ) said...

कति जाती तरिकाले मन को कुरा खोल्नु हुन्छ है ! म त झण्डै छूटेको - यो रहस्य को अनुभूति लिन (पढेरै भए पनी ) |

Basanta said...

धन्यबाद बेदनाथजी!

Post a Comment

Related Posts with Thumbnails