April 08, 2009

जीवनको मूल्य बुझ्दैनन् माओवादीहरु!

फोटो साभार: हिमाल खबरपत्रिका

प्रसंग एमाले कार्यकर्ता प्रचण्ड ठैवको हत्याको हो। हत्यासंग जोडिएर आएको एमालेको आन्दोलन वा संसद वहिष्कारको कुरा तिर नजाउँ। तलदेखि माथिसम्मका माओवादीहरुले अचेल दोहो-याउने गरेको एउटा वाक्यतिर लागौं, "एमालेले तीललाई पहाड बनायो!"। उनीहरुको आशय 'जाबो एउटा मान्छे मरेको त हो नि! एमाले यत्तिकैमा किन यस्तरी बहुलाएको होला?!' भन्ने हो।

अब के मान्छे मर्नु/मारिनु सानो कुरा हो? सानो कुरा कदापि होईन, कुनै एक ब्यक्तिको मृत्युले मर्नेको परिवार र सामाजिक संजालमा कति गहिरो पिडा छोड्छ त्यो हामी सबैलाई थाहा छ। तर हत्या-हिंशा-अराजकता सामान्य कुरा हो भन्ने संस्कृतिलाई स्थापित गर्न खोजिँदैछ हाम्रो समाजमा, हामीलाई संवेदनाशून्य यन्त्र-मानवमा रुपान्तरण गर्न खोजिँदैछ।

माओवादीहरुले धेरैपटक यस्तै आशय दोहोराएको देखेको छु मैले। केहि समय पहिला एमालेका अर्का कार्यकर्तालाई निर्मम यातना दिएर एउटा खुट्टा गिँडिदिए आफूलाई 'महान क्रान्तिकारी' र 'जनपक्षीय' भनाउने माओवादीहरुले। जब विरोध भयो यो कुराको, माओवादीहरु 'त्यो मरेकै त छैन नि!' भन्न थाले। एकचोटि पत्रकारहरुले पिटाइ खाए (अचेल धेरै पिटाइ खान्छन् पत्रकारहरुले, विशेष गरी माओवादीका हातबाट), पत्रकारहरुले 'फेरि' सुरक्षा माग गरे, माओवादीहरु, स्वयं प्रचण्ड समेत, 'पिटाइ मात्रै खाएका त हुन् नि, मरेका छैनन्!' भन्न थाले।

कथित जनयुद्ध कालबाटै उनीहरु यस्तै धारणा राख्छन्। जनयुद्धमा, राज्य र माओवादीका तर्फबाट 'थुप्रै निर्दोष पनि मारिए' भन्ने कुरा उठ्दा पहिला त उनीहरु सकेसम्म सबै दोष राज्यको टाउकोमा हाल्न खोज्थे, नसकेपछि, 'क्रान्तिमा दुई-चारजना निर्दोष पनि मर्नु कुनै ठूलो कुरा हैन! गहुँ पिस्दा अलि-अलि घून पनि पिसिइहाल्छ नि!' भन्थे। बीबीसी-नेपाली सेवाले लिएको अन्तर्वातामा माओवादीका नेता-कार्यकर्ताका मुखबाट धेरै चोटि यस्ता कुरा सुनेको थिएँ मैले। के सर्वसाधारण जनता भनेका घून हुन्?

गरीबको दुहाई दिएर र सामन्तवादी अन्यायको विरोधमा जनयुद्ध गरेको भनेपनि जनयुद्धकालको एउटा आम सत्य के हो भने माओवादीद्वारा निचोरिने भनेका धेरैजसो गरीब जनताहरु नै थिए। अलिक हुनेखानेहरु त चन्दा दिएर उम्किन्थे, अझ माओवादीको संरक्षणनै पाऊँथे। ब्यक्तिगत प्रतिशोधका लागि माओवादी आन्दोलनमा लागेकाहरु धेरै थिए, अहिले पनि ब्यक्तिगत रिसइबी साध्न माओवादी वा वाइसीएल बन्ने प्रवृत्ति कायम छ। प्रतिशोधको राजनीति हावी भएपछि अपराधीकरण झाँगिनु कुनै नौलो कुरो भएन।

२०५५ सालतिरको कुरा हो, कान्तिपुरको पहिलो पृष्ठमा एउटा फोटो छापिएको थियो। त्रिवि किर्तिपुरको अडिटोरियम बाहिर अखिल क्रान्तिकारीका विद्यार्थीहरु कुनै एक ब्यक्तिलाई निर्घात कुटपीट गरिरहेका थिए। अखिल क्रान्तिकारीको कुनै सम्मेलन हुँदै थियो र कसैले त्यो मान्छे जासूस हो भन्ने हल्ला चलाईदिएछ। बस काम पाए माओवादीहरुले!त्यो मान्छे कुटाइको चोटले गर्दा अर्धचेत देखिइसकेको थियो, टाउकोबाट बगेको रगतले गर्दा अनुहार नचिनिने भईसकेको थियो। फोटोमा उक्त ब्यक्ति घोप्टे परेर सुतेको थियो र आफ्नो रगतिच्छे टाउको उठाउने कोशिश गर्दै थियो, माओवादीहरुको समूह उसको टाउकोमा लात्ती प्रहार गर्न खुट्टा उचालिरहेको थियो। त्यो फोटो सम्झिँदा अहिलेपनि आङ्ग सिरिङ्ग हुन्छ मेरो।

माओवादी कार्यकर्ता वा शुभचिन्तकहरुसंग यसबारेमा कुरा गर्दा 'हाम्लाई पनि सेनाले कम यातना दिएको छ र?!' भन्थे। आफूलाई यातना र अन्यायको विरुद्ध क्रान्ति गर्न हिँडेको भन्नेहरुले पनि ठ्याक्कै उही ब्यबहार देखाएपछि कसरी फरक भयो उनीहरु र तत्कालीन शाही सेनामा? यो कुराको जवाफ माओवादीहरुले कहिल्यै दिएनन्, अझै दिएका छैनन्। त्यो ब्यक्ति जासूस नभईकन भिडभाडको रमिता हेर्न पसेको कुनै रामे वा श्यामे हुन सक्दैन भन्ने के ग्यारेण्टी छ? यदि जासूसनै हो भनेपनि आफूलाई 'न्यायपूर्ण समाज निर्माण गर्न क्रान्तिमा होमिएका' भन्ने र भनाउन चाहनेहरुले देखाउने ब्यबहार त्यहि हो?

माओवादीले कथित जनयुद्धकालभरि आफूप्रति थोरैमात्र पनि विमति राख्नेप्रति देखाएको वर्वरताको कुनै सीमा छैन। वर्वरताको कुरा गर्ने हो भने उनीहरु अल-कायदा र इराकमा हाम्रा नेपाली दाजुभाइहरुलाई निर्मम यातना दिएर मार्ने अन्सर-अल-सुन्नाभन्दा केहि कम छैनन्। शिक्षकलाई उसकै विद्यार्थीहरुको अगाडि रूखमा बाँधेर मार्ने, ठूलो ढुंगाले किचेर टाउको छ्याल्लब्याल्ल पारेर मार्ने, मान्छे भित्र हुँदाहुँदै बसमा आगो लगाउने--- के गरेनन् उनीहरुले?!

यी सबैलाई युद्धकालको बाध्यता भनेर आँखा चिम्लिने हो भनेपनि शान्ति-प्रकृयामा पसेपछिका यी दुई-तीन वर्षमा पनि उनीहरुको हिँसाप्रियतामा कत्ति कमी आएको छैन। दोश्रो जनआन्दोलन सकिएको केहि महिनापछि एउटा दलित युवालाई उनीहरुले कुखुरा चोरेको (पछि त्यो पनि असत्य भन्ने प्रमणित भयो) सानो निहुँमा रातभरि कुटेर मारेका थिए। यहि एउटा घटनाले उनीहरुको नियत नसप्रिने देखाईसकेको थियो। लोकतन्त्र पुनर्वहालीपछिका एक वर्षमा उनीहरुले एक दर्जनभन्दा बढी निर्दोष नागरिकको हत्या गरिसकेका थिए। त्यसयताका वीरेन्द्र साह, रामहरि श्रेष्ठ लगायतका यावत हत्याकण्ड/घटनाहरु त यहाँहरुका आँखामा छर्लङ्गै छन्।

कोहि मान्छे किन यति साह्रै हिँसक र हत्याप्रिय हुन्छन्?!

भगवान बुद्धसंग सम्बन्धित एउटा प्रसंग छ। एक दिन कुनै भयंकर हत्यारासंग भगवानको जम्काभेट भयो। ऊ आफुलाई अत्यन्त बहादुर सम्झिन्थ्यो। आफुले गरेका सम्पूर्ण हत्या-हिंसामाथि गर्व गर्दै उसले भगवान बुद्धलाई पनि मार्छु भन्यो। भगवानले शान्त भएर 'मलाई मार्न त मार, तर त्यसभन्दा पहिला मैले भनेको एउटा सानो काम गर' भन्नुभयो। हत्याराले यो शर्त स्विकार ग-यो।

"उ त्यो रुखको एउटा पात चुँडेर मलाई देऊ।" भगवानले भन्नुभयो। हत्याराले तुरुन्तै दियो।
"ल अब यो पातलाई फेरि रुखमा जस्ताको तस्तै गरेर जोड।" भगवानले पात उसैलाई फिर्ता दिँदै भन्नुभयो।
"यो कसरी हुन्छ? चुँडिईसकेको पात फेरि कसरी रुखमा जोड्न सकिन्छ? कस्तो बहुलाहा कुरा गर्छस् तँ?!" हत्यारा रिसाएर करायो।
"ठिक भन्यौ तिमीले" भगवानले भन्नुभयो, "यो पात चुँड्न एकदम सजिलो छ तर फेरि जोड्न असम्भव छ। मान्छेको जीवन पनि त्यस्तै हो, चुँड्न अति सजिलो छ तर जोगाउन साह्रै गाह्रो छ। त्यसकारण, हत्या गर्नेहरु बहादुर होइनन्, ती त अत्यन्त कातर हुन्। बहादुर र साहसी त ती हुन् जो अरुको जीवनको रक्षा गर्छन्।"
महिमामण्डित भगवानका मुखबाट निस्केका यी वचनले हत्यारालाई जीवनको महत्ताको बोध भयो। ऊ बदलियो र हत्याहिंसाको मार्ग छोडेर भगवानको संघमा सामेल भयो।

भगवान बुद्धको यो शाश्वत वचन माओवादीलाई बुझाइदिने कसले?

के उनीहरुमा बोधिकथाको त्यो हत्यारो जत्तिपनि संवेदना बाँकी छैन?


Image Source: TIME SPECIFIC


14 comments:

सिकारु said...

बसन्त जी लेख चित्त बुझ्दो छ । बुद्धको सन्देशले परिवर्तन् भएको त्यो मुर्ख जस्तै यिनिहरुलाइ पनि परिवर्तन् अपरिहार्य छ । यो आफैमा सोचनिय कुरा हो तर बुझेर पनि किन ब्यवहारमा ल्याउन नसकेका हुन कुन्नि?

bikash said...

bujun pani kasari aama ko dudh chodna payeko chaina banduk samauna ko hatar thiyo tyo samaye ma hoina ra basanta sir

archana said...

i like buddha's story. yep life is precious.

Prabesh Poudel "उजेली" said...

माओवादीलाई यो बुझाउन बेकार छ । किनभने निदाएकालाई उठाउन सकिन्छ तर निदाएजस्तो गर्नेलाई जति नै बल गरेपनि उठाउन सकिँदैन । चार कक्षाको नेपाली पुस्तकको यो बुद्धको कथाको ब्याख्या शायद पढेका माओवादीले परिक्षामा राम्ररी नै गरेका होलान् र यति सरल भाषा शायद बुझ्छन् पनि । यिनीहरूको दोचारे बानी थाहा भइसकेको छ । बाहिर एउटा कुरा अनि भित्रचाहिँ जसरी भएपनि आफ्नो हतियारको दम्भ बाँकि राख्‍ने !!!!

रमा said...

बसन्तदाइ, तितो तर सत्य कुरो लेख्नु भयो निकै मार्मिक।
बुद्दको कथा निकै राम्रो लाग्यो।

himalibabu said...

basant ji,
nice article with a great example of lord buddha.. so much impressed...pls keep it up and iam regular visitor of your blog...

Maoist will be keep killing public, if anybody against of them and do not support ... it is very sad how long they kill people.. seems like security of public is completely lost in NEPAL...

himali babu

Dilip Acharya said...

भयकंर भयंकर गल्तीलाई गरेर एकदमै हल्का तबरले लिने त माओबादीका पुरानै बानि हुन । सत्तामा पुगेपछि आफै सुधार हुन्छन कि भन्ने हाम्रो अन्तिम आश पनि टुट्यो र पुरानो नेपाली उखान प्रमाणित र चरितार्थ भयो "कुकुरको पुच्छर बाह्र बर्ष ढुंङग्रोमा राखे पनि टेडो को टेडै" ।

माथीको अंगुलीमालको कथा पढे भने सायद तिनले सोच्दा होलान 'यो अंगुलीमाल हाम्रो कार्यकर्ता भएको भए आन्तरीक कारबाही र ब्रेन वास गरेर फेरी जस्ताको त्यस्तै बनाउँथ्यौं'। संबेदना नभएपछि सुधार सम्भब नै छैन ।

जोतारे धाइबा said...

तीव्र घात दिने लेख पढ्न पाइयो । जुन माओवादीका साथीहरूले पढ्न पुग्नुभयो भने या त 'जनताको विरुद्धमा गम्भीर षड्यन्त्र हुन गइराख्या छ, माओवादीको प्राप्‍त जनादेशलाई निमोठ्न सामन्तवादीको घेराबन्दी सबै कित्तामा सुरु भएर लेख्य रूपमा पनि उत्रिएको देखिराख्या छौँ तर हामी छाड्नेवाला छैनौँ' भन्ने कोटिको गर्जन सुनिएला या त 'यो कुराले हाम्लाई बडो भावुक बनायो, मर्नेहरू महान् हुन्' (अझ अरू कतिलाई पनि महान् बनाउँदा हुन् !) भनेर गोहीको नरमपन्थी बाटो अपनाउलान् । साँच्चै प्रस्टै छ नौटङ्की ‌= माओवादी ।
भूमिगत जीवनबाट खुला राजनीतिमा 'छलाङ' मार्न आइपुगेका माओवादीलाई पहिले त हामी सबैले जस्तै भूलचुलका पनि हिंसा र बर्बरतामा अभ्यस्त रहिआएका कारण सामान्य सामाजिक अभ्यासमा रत्तिन गाह्रो भइरहेको होला भन्ने सोच राखी छुट दिएकै हो । तर तिनले हाम्रो मौन सहनलाई कमजोरी ठाने कि आफ्नो कुकर्मको अनुमोदन; अपराधीकरण, ओठे रवाफ र जालझेलको शृङ्खलाले झन् उग्र रूप लियो । कति नमुना मुलुक छ हाम्रो ! अपराधीकरणलाई खुलमखुला प्रश्रय दिँदै क्रान्ति बन्दुककै बलमा जितिन्छ भन्ने तुफानी मानसिकता पालेको दलको हातमा शान्तिदूत बुद्धको जन्मभूमि रहेको राज्यव्यवस्थाको लगाम पुगेको छ ।

यिनलाई तह लगाउने उपाय त केही नै देखिएन । सिबाय अब आम रूपमा माओवादी बहिष्कार नीति, यिनलाई चेतबाबा काशी पार्न गाह्रै छ । बहिष्कार गर्दा पनि कति जनसाधारणले यिनको 'न्यायदातातुल्य बाहु'बाट थलै पर्नेगरी मर्मत खेप्नुपर्ने होला, त्यो भने भगवान भरोसा !

मिलन said...

ईनिहरूको अचाक्ली चरित्र त दाइले भने झै पहिले देखि नै छर्लंग भा'कै हो ... तर यस्तालाई पनि तह लाउने केही न केही उपाय त पक्का होला...

sangamkirati said...

अति राम्रो लेख लेख्नु भयो बसन्त जि,यस्मा म पनि प्रबेश जि भनाई प्रति सहमति छु।।।।

Sujan Sharma said...

साह्रै राम्रो प्रस्तुती,अतिनै मन पर्‍यो।

Amol said...

सुरुमा त, त्यो बुद्धसँग भेट भएको हत्यार अँगुलिमाल होला भन्न चाहन्छु। अब बाँकी रह्यो बुद्ध र माओवादीका कुरा, खै के पो तुलना गर्नु र दुई भिन्न-भिन्नै धुर्बलाई । बुद्ध- एउटा येस्तो धुर्ब(तारा) जसले संसारलाई माया र अनुकम्पाले मात्र जित्न सकिन्छ भन्यो। जीवन भनेको सिलमा चल्नु पर्छ भन्यो। शान्तीको बाटो लामो छ तर जित सुनिस्चित छ भन्यो। दुई जान बिचको असहमतीमा कहिलै पनि एक जानको मात्र गल्ती हुँदैन भन्ने कुरा सिकाये।
अर्को धुर्ब माओवादी- एउटा येस्तो धुर्ब जसले सहमती, सहकार्यको बाटोमा यमबुश थापेर हतियारबाट मात्र बिकास र शान्ति सम्भव छ भन्यो। आफु बहेक सबै गलत हुन र आफ्नो बाटो मात्र सही हो भन्ने माओवादी अहिले आफुले नै भात्काएको सम्रचना जोढ्न प्रयास गर्दै छ। तर तिनिहरुलाई थाहा छैन होल रुखबाट झरेको पात नजोढिये झैँ घ्रिढा र यम्बुशको प्रहारबाट भात्किएका ति ड्यामा, खप्पर(मनिस),रोड पनि जोढिन सक्दैन्न।
भारतलाई बिस्तारबादी र अमेरिकालाई साम्रज्यबादी भन्दै लडाइबाट संसार जित्छौ अनी नेपाललाई राता-रात स्वित्जरल्यान्ड बनाउछौ भनी युद्धमा होमिएर हजारौको ज्यान लिएका माओवादी र संसारमा धेरै दुखी मानिसहरु छन र तिनीहरुलाई मैले सकेको र जानेको ज्ञान बाढीँ दु:खको भवसागरबाट मुक्त गराउँछु भन्ने बुद्धबीच के तुलना गर्नु कोई।
जानकारीका लागि: बुद्धले ३५ बर्षको उमेरमा बोधी प्राप्त गरी ८० बर्षको उमेर सम्मा, लगातार ४५ बर्ष सम्मा सिल, समाधी र प्रज्ञाको ज्ञान बाढदै हिंडे।

Shekhar said...

कहाँ “त्यसको बाउको विर्ता हो” भन्ने प्रचण्ड, कहाँ शिल, सदाचारको पालना गर्ने सिद्धार्थ गौतम । मैले तुलना गर्ने कुनै ठाँउ भेट्दिन यार । आगो र पानी पनि कहि संग संगै बस्छन् र ?

Basanta Gautam said...

विचारपूर्ण प्रतिकृयाको लागि सबैलाई हार्दिक धन्यबाद! जे-जे र जस्ता नाराले छोपेपनि हिंसा आखिर हिंसा हो र त्यो गलत हो। माओवादीहरु अहिले बन्दूकको बलमा मात्तिएका छन्। त्यो मातको मूल्य कुनै दिन निश्चित रुपमा चुकाउनुपर्नेछ उनीहरुले।

Post a Comment

Related Posts with Thumbnails