January 23, 2009

नेपाली भाषाबारे केहि कुरा


(Image courtesy:Trekking World)

अर्कोचोटि ब्लगमा लेख्छु भनेर पहिल्यै तय गरेका विषयले लेखिने मौका कमै पाऊँछन्। एउटा टाँसोपछिको केहि दिनको अवधिमा केहि न केहि नयाँ घटना घटिरहन्छन् र मन त्यतैतिर मोडिन्छ। कहिलेकाहीँ कुनै विशेष घटना नघटेपनि बीचैमा अरु कुरा लेख्ने धून चल्छ। आज (जनवरी २०) मा लेख्न थालेको यो विषयलाई पनि बीचैबाट अरु कुनैले उछिन्ने हो कि थाहा छैन।

यो टाँसोमा कुरा गर्न लागेको नेपाली भाषाको बारेमा हो। आफ्नो मातृभाषा भएकोले, यसमै तोतेबोली बोल्न, सुस्केरा काढ्न, सपना देख्न र हाँस्न-रुन सिकेकोले मलाई नेपाली भाषाको असाध्यै माया लाग्छ। मलाईमात्रै किन, धेरैलाई आफ्नो मातृभाषा प्यारो लाग्छ। यहाँ 'सबै' नराखेर 'धेरै' राख्नुको कारणचाहिँ हाम्रो समाजमा, देशमा; आफनो मातृभाषालाई माया नगर्ने मान्छेहरुको संख्यापनि बढ्दै जानु हो । दैनिक ब्यबहारमा टाकन-टुकन बोल्दैमा माया गरेको मानिन्न भाषालाई, यसलाई इज्जत दिन पनि जान्नुपर्छ। नेपाली भाषा-साहित्यलाई हेय ठान्ने मान्छेहरुको जमात बढ्दैछ। हाम्रो समाजको तलदेखि माथिसम्म आफनो मातृभाषालाई कस्ता-कस्ता ब्यबहार गर्ने मान्छे छन् भन्ने हामी सबैलाई थाहै छ, त्यसकारण त्यतातिर धेरै नजाऔं। एउटा छुट्टै लेख बनाउनुपर्छ त्यसका लागि। नेपालमै हुर्केका र नेपालमै पढेका फररर-- अंग्रेजी पड्काउन सक्ने धेरै मान्छेहरु एक अनुच्छेद नेपाली लेख्नुप-यो वा दुई मिनेट नेपालीमा मन्तब्य दिनुप-यो भने पसिना छुटाऊँछन्। जापान बस्दा मैले देखेको एउटा राम्रो कुरा के हो भने सानैबाट मान्छेलाई जापानीमा पोख्त बनाईँदो रहेछ। अब जापानीनै भएपछि त्यो कुन ठूलो कुरा भयो र भन्ने कुरा पनि आउन सक्छ तर आफ्नो भाषामा पोख्त हुनु ठूलै कुरा हो। सानै उमेरबाट बच्चाहरुलाई आफ्नो भाषामा धाराप्रवाह बोल्न र लेख्न सिकाईन्छ। हामीकहाँ त्यस्तो खाले शिक्षाको अझै शुरुवात भएको छैन। शिक्षाको पहिलो खुड्किलोको रुपमा सृजनशील रुपमा सोच्न र उत्तिकै सृजनशील रुपमा बोलाई र लेखाईमा त्यसलाई उतार्न सिकाईनुपर्छ। मेरो विचारमा आफ्नो मातृभाषामा दक्ष मान्छेलाई अर्को नयाँ भाषा सिक्न झन् सजिलो हुन्छ।

एकचोटि यस्तै प्रसंगमा 'जापानमा बसेका शिक्षित नेपालीहरुमध्ये, कुनै विदेशीलाई सामान्य नेपाली भाषा सिकाउन सक्षम कति होलान्?' भन्ने कुरा निक्लेको थियो। उत्तर सहज छ, धेरैजसोले सक्दैनन्। यसो भनिरहँदा घमण्ड गन्हाएको लाग्न सक्छ कसैलाई, तर यो मेरो घमण्ड हैन, बिल्कूल यथार्थ कुरा हो। मेरो नेपाली भाषाको ज्ञान पनि एकदम अधूरो छ भन्ने मलाई थाहा छ। हामी नेपाली भाषामा, सामान्य नेपाली सिकाउन सक्नेगरी पनि दिक्षित छैनौं। यति हुँदा-हुँदैपनि आफ्नो भाषाको बारेमा चासो राख्नु कुनै नराम्रो कुरा होईन भन्ने सोचेर यो चर्चा गर्न खोजिएको हो।

नेपाली भाषाले आधुनिक रुप ग्रहण गरेको धेरै भएको छैन। भानुभक्तभन्दा अलि पहिल्यैबाट गनेर ल्याउने हो भनेपनि लगभग दुई-सवा दुई शताब्दीमात्रै भयो यसमा गम्भिर साहित्य लेखिन थालेको (मेरो बुझाई गलत पनि हुनसक्छ)। सरकारी ब्यबहारको कुरा गर्ने हो भने राणाकालसम्म यसलाई उर्दू, फारसी, हिन्दी आदिको दाँजोमा हीन ठानिन्थ्यो। एउटा भाषाको जीबनमा यो खासै लामो समय होईन, झन राणकालपछिको छ दशक त नगण्यनै हो। तर यहि छोटो अवधिमा पनि नेपाली भाषाले जुन प्रगति गरेको छ, त्यसलाई निश्चयपनि कम आँक्न सकिँदैन। यतिमै सन्तोष मानेर बस्ने अवश्था पनि छैन, यो भाषाले आफूलाई विकास गर्ने ठाऊँ अझै प्रशस्त छ, यसमा अझै प्रशस्त कालजयी कृतिहरु लेखिन बाँकी छन्।

नेपाली भाषाको सुधार, परिमार्जन र मानकीकरणका लागि बेला-बेला कुरा उठीरहन्छन। दश-बाह्र वर्ष पहिला 'नेपाली भाषा सुधार सुझाव कार्यदल' थियो, सिंहदरवारभित्रै अड्डा जमाएर बसेको थियो त्यो। बिभिन्न पत्र-पत्रिकाहरुमार्फत जनताबाट पनि सुझाव मागेको थियो त्यसले। मैले पनि केहि सुझावहरु हुलाकमार्फत पठाएको थिएँ। त्यो कार्यदल कहिलेसम्म रह्यो, त्यसले कस्ता-कस्ता सुझावहरु सरकार वा अन्य सम्बन्धित निकायहरु र ब्यक्तिहरुलाई दियो आदि थाहा छैन मलाई। त्यो कार्यदलले आफ्नो सुझाव सञ्चार-माध्यमहरुबाट पनि सार्वजनिक ग-यो होला, पढ्न पाईएन।

त्यतिखेर आफ्नो सुझाव पठाउनुअघि तयार पारेको खेस्रा भएको कापी कुनै पुरानो झोलाको पिँधमा ओसिएर बसेको छ होला। बुँदाहरु पाँच-सात कति थिए कुन्नि, सारमा भने मानकीकरण (Standardization) मै जोड दिएको थिएँ। नेपाली भाषाको सर्वसम्मत ब्याकरण समेत अझै छैन जस्तो लाग्छ (यी केहि वर्षमा भएका गतिबिधिबाट बेखवर रहेको हुनपनि सक्छु म)। ब्याकरणका पुस्तकपिच्छे फरक-फरक ब्याख्या देखिन्छन्। नेपाली भाषा नेपाल, भारत, भुटान, बर्मा हुँदै अब त विश्वब्यापी भईसकेको छ। पश्चिमी मुलुकहरुमा पनि उल्लेख्य संख्यामा नेपालीहरु पुगिसकेका छन। सबैतिरका नेपालीहरु साहित्यिक रुपमा सकृय पनि छन्। यसैले, भद्रगोलको स्थिति आउनुभन्दा पहिलेनै मानकीकरण र सर्वसम्मत ब्याकरणको आवश्यकता छ, विशेष गरी लेख्य भाषाको लागि।

हाम्रो आफ्नै लेखाईभित्रका केहि कुरालाई आधार मानेर हेर्दा पनि के स्पष्ट हुन्छ भने अहिले नेपाली मनपरी लेखिन थालेको छ। ह्रस्व-दीर्घका कुरा धेरै मान्छेलाई थाहा नहुनु सामान्य मानिन थालेको छ। सबैलाई ह्रस्व गर्दिए हुन्छ भन्नेहरु पनि धेरै छन्। गाह्रो लाग्यो भन्दैमा भाषालाई ताछेर दुब्लो बनाउने नियत मात्रै हो यो। बोलीचालीमा उस्तै गरी प्रयोग हुन थाले पनि ह्रस्व-दीर्घले लेख्य भाषाको सौन्दर्य बढाऊँछन् जस्तो लाग्छ मलाई। त्यस्तै गरी 'व' र 'ब', 'श', 'स' र 'ष' आदिमा भेद राखिन छोडेको छ। लेखाईमा त यस्तो भेदको आवश्यक छ नै, बोलाईमा पनि यी ध्वनिहरुको वास्तविक प्रयोग गर्न फेरि सिकाउन थालिनु पर्छ। त्यस्तै, 'ऋ' जस्ता अक्षरहरुको प्रयोग एकदम कम हुन थालेको छ। धेरैले 'रि' वा ' री' प्रयोग गर्छन् 'ऋ' लेखिनुपर्ने ठाऊँमा। छोरीलाई नेपाली सिकाउन सजिलो हुन्छ भनेर घरबाट पठाइदिएको दुईटा बाह्रखरीका पुस्तकमध्ये एउटामा 'ऋ' छँदैछैन।

नेपाली भाषामा संस्कृतबाट आएका शब्दहरु प्रशस्त छन्। तिनको प्रयोगका बारेमा पनि एउटा नियमको आवश्यकता छ। विज्ञान-प्रविधिसंग सम्बन्धित शब्दभण्डारमा भने विदेशी शब्दहरुकै रजाईँ चल्ला अब लामो समय। संस्कृतको सहारामा मौलिक शब्द खोज्न नसकिने होइन, भलै ब्यापक प्रयोग नहोस्। प्रयोग नभएपनि शब्द-भण्डारलाई समृद्ध राखिरहे केहि हानी हुँदैन।

अर्कोतिर ब्यक्तिका (र ठाऊँहरुका) नाम रोमनमा लेख्ने कुरामा पनि त्यत्तिकै भद्रगोल छ। मेरो नाम म 'वसन्त' लेख्छु तर रोमनमा 'Basanta' लेख्छु। बोलाईँदा 'बसन्त' हुने पुगेकाले मलाई 'Basanta' लेख्न सिकाईयो होला। 'सीता', 'गीता' का लागि Seeta, Geeta नलेखेर Sita, Gita लेखिन्छ। बोलीचालीलाई पछ्याएको हिसाबमा सामान्य लाग्न सक्छन् यस्ता कुराहरु, तर भाषाको शुद्धताको चासोभन्दा बाहिरै बसेर हेर्दा पनि यस्ता कुराले अन्यौल जन्माउने दिन आऊँदैछन्।

(प्रसंगवश, यस्ता कुराहरुका बारेमा सल्लाह गर्न भनेर साझा डट कममा एउटा धागो पनि शुरु भएको थियो अलिक पहिला। अहिले त्यति चल्तीमा छैन।)

अब आईपुग्दैछु म यो टाँसो जन्माउने प्रसंगमा। जनवरी २० को 'दैनिकी' को 'तर्क वितर्क' मा एमाले नेता प्रदिप नेपालको एउटा भनाइ (अघिल्लो दिनको 'नयाँ पत्रिका'मा छापिएको लेखको अंश) देखें, घतलाग्दो पनि लाग्यो;

"यो सरकार ढलेर भन्दा रहेरै मुलुकको अस्तित्व खतरामा परेको देख्छु म पशुपतिनाथका पुजारीको सन्दर्भ अध्ययन गर्दा। नेपालीको विरोधलाई वाईसीएल र प्रहरीको मारपिटबाट दबाउने, गरेको निर्णय बदर हुँदैन भन्दै नेपाली सर्वोच्च अदालतको तिरस्कार गर्ने कामरेड प्रचण्ड र महिनामा एक दिन मात्रै नुहाउने उहाँका मन्त्रीको भाषणलाई भारतीय जनता पार्टीको एउटा फोनले पर्लक्कै उल्ट्याइदियो।"

(एमाले नेता प्रदीप नेपाल नयाँ प्रत्रिकामा सोमबार ६ माघको लेखमार्फत् ।)


लेख पूरै पढ्न खोज्दा त्यो दिन किन हो कुन्नि, 'नयाँ पत्रिका' को गृहपृष्ठ खुलेन (भोलिपल्ट पढें)। पत्रिकाको पृष्ठ नखुलेपछि देवनागरीमै लेखेर खोज्दा प्रदिप नेपालको बारेमा गुगलले के देखाऊँदो रहेछ भनेर हेर्ने लहड चल्यो।

हिन्दी नै हिन्दी पो दिन्छ त गुगलले! अलि-अलिमात्रै नेपाली साईट देखिए! एकछिन छक्क परें म, त्यस्तो त नहुनुपर्ने। समाचारमूलक नेपाली साइटहरु पनि अब त धेरैनै भईसके। यस्सो ध्यान दिएर हेरेको, मैले 'प्रदिप' को सट्टा 'प्रदीप' लेखेको रहेछु। 'प्रदिप नेपाल' राखेर हेर्दा सबैजसो नेपाली साईट भएको सूचि हात लाग्यो। यो हाम्रो भाषाको मानकीकरण गर्ने सवालमा ध्यान दिनुपर्ने अर्को कुरा हो। अब भाषालाई मानकीकरण गर्दा यो भाषाको अरु भाषासंगको समानता र गुगलजस्ता सर्च इञ्जिनहरुको बारेमा पनि गम्भिर ध्यान दिनुपर्ने आवश्यकता भईसकेको रहेछ।

नेपाली र हिन्दी दुबै मूल रुपमा संस्कृतबाट विकसित भएकाले यिनमा धेरै समानता छन्, लिपि एउटै छ र धेरै शब्दहरु उहि छन्। अब नेपाली भाषाको मानकीकरण गर्दा नेपालीहरुमाझको प्रयोगलाई मात्रै हेरेर मात्रै नहुने रहेछ, दुई भाषाबीचको मानकीकरण पनि अनिवार्य भईसकेको रहेछ। लेखाईमा सानातिना भिन्नता हुँदा गुगलपूर्वको जमानामा खासै फरक पर्दैनथ्यो होला, तर गुगलको जमानामा भने धेरै फरक पर्दो रहेछ। यो माथिको 'प्रदीप' र 'प्रदिप' को प्रसंगबाट पनि स्पष्ट भयो। दुईटा भाषाका ज्ञान-भण्डारबाट एकापसले लाभ उठाउने हो भने दुबै भाषामा प्रयोग हुने शब्दहरुको लेख्य रुपमा एकरुपता ल्याउनु अत्यन्त जरुरी छ। हिन्दी मात्रै होईन, देवनागरी लिपि प्रयोग हुने र उस्तै शब्दहरु धेरै भएका देशभित्रैका र दक्षिण एशियाका अरु भाषाहरुसंग पनि समन्वयको आवश्यकता छ। संस्कृतबाट आएका शब्दहरु प्रयोग गर्ने सवालमा हिन्दी-भाषीहरु हामीभन्दा धेरै सचेत छन् (माथीकै उदाहरणमा पनि संस्कृतको 'दीप' शब्दमा प्रत्यय थपिएर बनेको हुँदा 'प्रदीप'नै सही हो मेरो विचारमा)। दुबै शब्दलाई एकै तरिकाले लेखियो भने खोज धेरै सजिलो हुन्छ, नत्र धेरै भद्रगोल हुने प्रष्ट छ। मानौं कि 'आयुर्वेद' लाई नेपालमा 'आयुर्बेद' लेखियो र त्यसबारेका धेरै जानकारी/साहित्यलाई ईण्टरनेटमा राखियो, हिन्दीमा 'आयुर्वेद' नै प्रयोगमा आयो र उनीहरुले पनि यससम्बन्धी धेरै जानकारी ईण्टरनेटमा राखे। अब गुगलमा खोज्दा के भनेर खोज्ने? कम्तिमा पनि खोज्ने समय दोब्बर हुन जान्छ, अरु झमेलाहरु पनि थपिने त छँदैछ। (यो लेख्दा-लेख्दै भर्खरै हेरें मैले, समस्या शुरु भईसकेको रहेछ। 'आयुर्वेद' खोज्यो भने हिन्दी साईटहरु बढी देखिन्छ, 'आयुर्बेद' खोज्यो भने नेपाली साईटहरु बढी देखिन्छ। यदाकदा 'आयुर्बेद' लेखिएका हिन्दी साईटहरु पनि नदेखिने हैनन्, तर ती अत्यन्त कम छन्। गलत लेखाई हाम्रो हो, उनीहरुको होइन।)

ईण्टरनेटमा हाम्रो उपस्थिति बढ्दै जाँदा भाषिक शुद्धतामा झन ध्यान दिनुपर्ने आवश्यकता छ। यसैले फेरि एकचोटि आधारभूत संस्कृतको उपस्थितिलाई विद्यालयमा अझ दह्रिलो बनाउनु नितान्त जरुरी छ। ब्यक्तिगत रुपमा मलाई कुनै दिन फेरि संस्कृतको अध्ययन शुरु गर्ने मन छ, त्यस्तो गम्भिर अध्ययन गर्ने समय नमिल्ला अब तर आफ्नो नेपाली भाषामा अलिकति निखार ल्याउनका लागि अलिअलि भएपनि नपढी भएको छैन। कक्षा ६ र ७ मा जाँच भ्याउने उद्देश्यलेमात्रै संस्कृत पढियो, त्यसपछि संस्कृतसंगको सम्बन्ध टुटेको छ।

अर्कोतिर सञ्चारकर्मी र पत्रकारहरुलाई त नेपाली संगसंगै संस्कृतमा पनि एउटा निश्चित तह पार गरेकै हुनुपर्ने गराउनु अति अनिवार्य छ।

'संस्कृति र संस्कृत' विरोधी 'भिल्ल'हरुको राज चलेको बेलामा यस्ता कुरामा राज्य आफैं पनि तत्कालै तात्ला भनेर सोच्नु बेकार छ। जे सकिन्छ, नेपाली भाषालाई माया गर्ने हामी सबैले आ-आफ्नै ठाऊँबाट गरौं।

23 comments:

अच्युत said...

घत लाग्दो लेख लाग्यो, वसन्त जी ।

अच्युत सापकोटा

Dilip Acharya said...

आफ्नो नेपाली कमजोर भए पनि म पनि नेपाली भाषालाई माया गर्नेमा पर्छु । यो टाँसो साँच्चै प्रशंसायोग्य छ र नेपाली भाषाको कुरा गर्दा परिमार्जन र मानकीकरण अत्यावश्यक भैसकेको जस्तो लाग्छ मलाई पनि ।

यसबारेमा १-२ कुरा म पनि राखौं है:

पहिलो कुरा त हाम्रो भाषाप्रति देशका नीति निर्माताहरु एकदमै उदाशिन छन, तर सबै दोष उनिहरुलाई मात्रै दिनु भने गलत हुने छ। आफ्ना छोराछोरीहरुले फरर्रर अंग्रेजी बोलेर नेपाली बोल्न नजानेमा गर्व गर्ने जमात हामिकहाँ ठुलै छ ।

अर्को कुरा हामिहरुमा गजबको आलस्य छाएको छ र हामीहरुलाई “Krishna”, लाई ‘कृष्ण’ भन्न यत्ती अल्छी लाग्छ कि हामी त्यसलाई सजिलो बनाएर “कृष्न” भन्छौं । ‘रामायण’, ‘प्रदक्षीणा’ जस्ता शब्द उच्चारण गर्दा त हामीलाई दाँतनै दुख्छ ।

शिक्षामा अंग्रेजीको अन्धाधुन्द अनुकरण र नेपाली भाषालाई खाली ‘पास’ हुन नभै नहुने मजबुरीको रुपमा लिने चलन शिक्षा प्रणाली र बिद्यार्थी दुबैको गलत सोचको उपज हो ।

गुगल र याहु जस्ता “सर्च ईन्जीन’ ले नेपाली भाषा चिनेकोमा खुशी लागेको छ, तर तपाईले भन्नु भएजस्तै म आफैं धेरै चोटी कुनै शब्द खोज्दा रनभुल्ल परेको छु ।

मेरो बिचारमा कमसेकम पनि राष्ट्रियस्तरका पत्र-पत्रिकाबाट यो परिमार्जन र मानकीकरणको एकात्मकताको शुरुवात हुनु पर्छ । अहिले त यौटै शब्दलाई फरक फरक पत्रीकामा फरक फरक तरीकाले लेखीन्छन जस्ले सहि र गलतको चुनावमा झनै जटिलता थपेको छ ।

केहि बर्ष अगाडीसम्म पत्रीका पिच्छे फरक फरक “फन्ट” प्रयोग हुने हुनाले ईन्टरनेटमा जुन असुबिधा हुन्थ्यो नेपाली युनिकोडको विस्तारले सो भने अहिले कम भएको छ, यस्तै गरी लेखाईमा पनि एकरुपता र समानता ल्याउनै पर्छ ।

साथै नया जन्मेका वा बनेका शब्दहरुलाई सिधै आयात गर्नु भन्दा त्यसलाई नेपालीकरण पनि गर्दै जानु पर्छ । चीनमा समाजको विकाससंगै जन्मने वा विदेशी भषाबाट प्रवेश गर्ने नयाँ शब्दलाई चिनियाँकरण गर्ने छुट्टै निकाय छ, त्यस्तै निकाय हामिकहा पनि बन्नु पर्छ ।

दीपक जडित said...

वसन्तजीले उठाउनुभएका यावत कुराहरु सोचनिय छन । शुद्धताको मामलामा चैं मेरो पनि भद्रगोल नै छ । अलि सुध्रिने प्रयास गर्नैपर्ने हो ।

सिकारु said...

हो.. बसन्त जी पहिले त हामि आफै पनि गलत छौ जस्तो लाग्छ । जे पायो त्यहि नै लेख्न पछि पर्दैनौ ।
वास्तपमा अरु कुरालाई छोडेर मातृभाषालाई त सरकारले परिमार्जन र मानकीकरणको एकात्मकताको शुरुवात गर्नैपर्छ जस्तो लाग्दछ।
बसन्तजी यो अहिलेको अपरिहार्य कुराको प्रस्तुति झल्काउनु भएकोमा खुसि लाग्यो
फेरि त्यसैमा दिलिप दाइले सुनमा सुगन्ध थप्ने काम गर्नुभएकोमा धन्यबाद दिलिप दाई..

आकार said...

कुराहरु एकदमै सही उठाउनु भएको छ, वसन्त जी !
अब वसन्त लाई Basant नै लेखिने चलन छ अनि सीता र गीता को सम्बन्धमा पनि त्यस्तै नै हो । अनि श,ष,स हरुलाई पनि एउटैले विस्थापित गरेको छ ।

अनि साँच्चै भन्दा, यसकुरामा देशका निति निर्मातालाई दोष दिनु पर्ने कुनै कारण छैन । यो त हामी आफैँ जागरुक हुनु पर्ने हो । तर हामीलाई हाम्रै चाँहि मन पर्दैन । त्यसैले होला, उहिले नै महाकवि लक्ष्मी प्रसाद देवकोटा ले दनक दिएका थिए, "हाई हाई अंग्रेजी" मार्फत ।

भाषिक शुद्धता हुनु पनि जरुरी छ, अनि इन्टरनेट को जगतमा ब्लगरहरुले भाषिक शुद्धतामा ख्याल नदिने कुरा पनि याद गरेको छु, अनि कहिँ कहीँ आफैँबाट पनि नियम मिचिएको छ, यो कुरा चाँहि म पनि स्विकार गर्छु । हिजोआज, नेपाली मा लेख्ने होड बढ्दै गएको छ, अनि रोमन युनिकोड सबैभन्दा उपयुक्त माध्यम भएको छ । तर रोमन ले यस्तै कन्भर्ट गरिदिएछ भनेर, कपि पेष्ट गर्नाले हाम्रो भाषिक शुद्धता हराउँदै गएको छ ।

मलाई लाग्छ, हामीले ह्रस्व,दीर्घमा मात्रै पनि ध्यान दियौँ भने, ब्लगरहरुको लागि ठूलो उपलब्धि हुनेछ । म सकेसम्म ह्रस्व दीर्घ नियम पालना गर्न खोज्छु तर पनि कता कता चिप्लीहाल्दोरहेछु । जस्तो धेरै ब्लगरहरु ले गल्ती गर्छन्, आफ्नै बारेमा लेख्दा । जस्तो कि, प्राय: ब्लगरहरु "हामि नेपालि" लेख्छन् जुन व्याकरण को हिसाब ले गलत छ । मलाई यो पढ्दा साह्रै कष्ट भएको आभाष हुन्छ । हुन त मैले कसैलाई, चोट पुर्‍याउने पक्ष मा छैनौँ । मात्र आफ्नो अनुभव बाँड्दैछु । "हामि नेपालि" लाई लेख्नुपर्ने हो यसरी "हामी नेपाली" । मेरो आग्रह सकेसम्म र थाहा भएसम्म शुद्ध लेख्न अल्छि नगरौँ, शुद्ध बोल्न अल्छि नगरौँ ।

आकार said...

*Basanta

बेदनाथ पुलामी ( उमेश ) said...

आफ्नो भाषा प्रति मोह राखेर तपाई ले यतिको - झक्झकाइदिनु भएकोमा म आदर भाब ब्यक्त गर्दछु तपाईको भाषा प्रेममा । तपाईलाई थाहै होला -हिजो देशको क्रान्तिकालमा आफुलाई एक मात्र राष्ट्र भक्त र मुक्तिको सम्बाहक ठान्नेहरुले - 'संस्कृति र संस्कृत' को धोजा च्यातेकै हो - पाठ्यक्रम बाट । मैले पनी त ८ कक्षा को एक्जाम २ पलट दिनु परेको थियो , पहिलो प्रत्र त्यही राष्टबादी ले -जलाइदिएकाले (०५५ मा) । के गर्ने हाम्रा प्रगतिशील र देश प्रेमिहरुको नियति नै काइदाको छ । अनि अरुको त कुरै छाडौ । मलाई अहिले यो संस्कृति को कुरामा के डर लागेको छ भने -"अहिले सचा राष्ट भक्त छोराहरुको हातमा मुलुक को कार्यभार छ नि त!" SSSSSS????
म पनी दो-याउछु नि त तपाइकै भाषामा -" जे सकिन्छ, नेपाली भाषालाई माया गर्ने हामी सबैले आ-आफ्नै ठाऊँबाट गरौं।" (ती अहिलेका देश हाक्ने राष्ट भक्त बाट आश नगरौ )

उजेली said...

धेरै राम्रो कुरा । मलाई पनि मनमा धेरै खड्किने कुरा हो यो । नेपालीमा लेख्दा शुद्ध अशुद्धको ख्याल गर्ने मान्छे एकदमै मनपर्छ मलाई । हुन त आफू पनि शुद्ध लेख्न त खोज्छु तर खोज्दैमा भई पनि हाल्दैन नि ॥ जति जान्दछु त्यतिलाई चैँ अल्छी नगरि मिलाउने बानी छ मेरो चैँ । अक्षरहरू नै फोहोरी लाग्छन् मलाई त ह्रस्व दीर्ध नमिलेको देख्दा । एकदमै राम्रो कुरा उठाउनुभयो बसन्त दाइ ॥

Sumiran said...

बसन्तजी एकदमै सान्दर्भिक कुरा उठाउनु भएको छ। खुशी लाग्यो, कुनैपनी देशको बिकास भाषाको बिकास बिना असंभव नै भन्दा हुन्छ।

परिवर्तन said...

नेपाली भाषा र व्याकरणका सँबन्धमा तपाँइले उठाउनु भएको कुरा जायज हो। ह्वश्व र दीर्घका सँबन्धमा अधिकाँश ठाँऊमा ह्वश्व प्रयोग हुने कारणले दुविधा ल्याएको हो्। नेपाली भाषाको उत्थानको कुराकानीमा मतका लागी जे पनि बोल्न सक्ने र गर्न सक्नेहरुका नाम अगाडी नसारे बेस हुन्थ्योकी?

परिवर्तन

Gaalab said...

मनको कुरा लेखिदिनु भयो। यही बिचारको लेख लेखुँला भन्ने सोचाइ मेरो पहिलोदेखिकै हो। तर आफ्नो अल्छिपनाले गर्दा मलाई उछिदिनुभयो।
आफूले पनि सानोसानो रचनाहरु प्रकाशन गर्ने प्ल्याटफर्म राखेकोले अनुभव गर्या छु, राम्रै लेख्ने भनी कहलिनेहरुले पनि 'अन्डा'मा पिरती देख्छन् फूलमा हैन; अँध्यारोलाई रातो देख्छन् ('राति' र 'राती'को फरक बुझ्दैनन्) आदि इत्यादि। यो 'लोकतन्त्र'को युगमा प्रतिकृया दिइहाल्न पनि डर! क्यार्नी!

sangamkirati said...

No,coment लेख्नु पर्ने कुराहरु बशन्त जी,ले लेखिसक्नु भयो।अनि भन्नु पर्ने कुराहरु सबै मित्रहरुले भनि सक्नु भयो।जे होस यो टासोको कुरा उठाउनु भएकोमा धेरै-धेरै धन्यबाद गौतम जि लाई!!

kamaladi said...

Very relevant post, but I am afraid I am also one of the culprit. Nepali, for majority of us, was always the one low scoring subject in SLC, and that's it. While English was "the global language, the door to better future". My parent's changed my school when I was in Grade 3 because my cousin in different schools were speaking better English. But this is just one component of the problem.

Try teaching foreigner how to speak and write in Nepali, and then they will immediately make us realize that not only we are poor in writing but also ignore the basic rules of pronunciation. They follow the rules you've taught, but we just ignore it as we take it for granted.

Honestly I'm not the best person to deal with this problem; but I am definitely trying, at least speaking wise.
Finally, even my name is spelled Prajwol instead of Prajjwol :)

Basanta Gautam said...

आफ्ना अनुभव र धारणाहरुसहित प्रतिकृया दिनुभएकोमा सबैलाई हार्दिक धन्यबाद! आशा छ यो र यस्तै छलफल हामीबीच चलिरहनेछ। नेपाली भाषासम्बन्धी प्रश्नहरु/अष्पष्टताहरु भए हाम्रा ब्लगहरुका माध्यमबाट पनि एकअर्कासंग विचार-विमर्श गरौं।

परीवर्तनजी, यो लेखमा राजनीतिक दल वा ब्यक्तिविशेषको नाम जोड्ने मेरो आशय होइन। यो लेखको वैचारिक जन्म एकजना नेताको भनाई पढ्ने प्रसंगमा भएकोले त्यसको चर्चाविनाभने यो अधूरोनै हुनेथियो।

badri said...

बसन्त जी एक्दमै सान्दर्भिक लेख लेख्नु भएको छ , हामीले नेपाली भाषा शुद्ध रुपमा लेखेर नेपाली भाषा को सरक्षण गर्नु पर्छ

CARBON CHEMISTRY said...

'जापानमा बसेका शिक्षित नेपालीहरुमध्ये, कुनै विदेशीलाई सामान्य नेपाली भाषा सिकाउन सक्षम कति होलान्?' भन्ने कुरा निक्लेको थियो। उत्तर सहज छ, धेरैजसोले सक्दैनन्। यसो भनिरहँदा घमण्ड गन्हाएको लाग्न सक्छ कसैलाई, तर यो मेरो घमण्ड हैन, बिल्कूल यथार्थ कुरा हो। मेरो नेपाली भाषाको ज्ञान पनि एकदम अधूरो छ भन्ने मलाई थाहा छ। हामी नेपाली भाषामा, सामान्य नेपाली सिकाउन सक्नेगरी पनि दिक्षित छैनौं। यति हुँदा-हुँदैपनि आफ्नो भाषाको बारेमा चासो राख्नु कुनै नराम्रो कुरा होईन भन्ने सोचेर यो चर्चा गर्न खोजिएको हो।

कुरा मलाई पनि राम्रो लाग्यो है।

कृष्ण said...

बसन्त जी तपाँइ यो लेखले मलाइ निकैनै चोट पु–यायो किन भन्नुहोला भने मेरो नेपाली लेखन धेरै नै नराम्रो छ साथै मैले कहिल्यै पनि यो प्रयास गरिन कि मेरो नेपाली लेखन राम्रो होस । यदि हामि हरेक नेपालीले अाफ्नो लेख्ने र बोल्ने कुरामा शुद्धता सक्यौ भने नेपाली भाषा आँफै शुद्ध हुँदै जने कुरमा बिमती पक्कै न होला । हुनत नेपाली भाषाको शुद्धताको लागि भने र एउटा धागोको शुरूवात भएको रहेता पनि जानकारीको कमिले पढ्न पाएको रहेन छु जे हो तपाइको यो टाँसोले मलाइ चै केहि न केहि उपलब्धि अवश्य भएको छ ।
– धन्यबाद बसन्त जी

Basanta Gautam said...

धन्यबाद बद्रीजी, CARBON CHEMISTRYजी र कृष्णजी!

Milan said...

बसन्त जी को कुरामा म पनि एकदम सहमत छू |

Basanta Gautam said...

धन्यबाद मिलनजी!

N K M said...

... the language in which you dream...
I agree with all of your points!

The case of language is not easy anyway because it has to do with sentiments.

I have posted few thoughts here...
http://ajabgajab.blogspot.com/2009/10/on-time-evolution-of-nepali-language.html
I think comments on Facebook are also equally compelling.

Basanta said...

धन्यबाद नविनजि!
तपाईँको लेख पनि पढें, तपाईँको ब्लगमा। तपाईँका विचारहरुसंग सहमति जनाउन चाहन्छु।

N K M said...

Thank You Basanta jee.
This is a great discussion. Thank You for bringing it up.

Post a Comment

Related Posts with Thumbnails